काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको संचालक समितिबाट थप ४ जनाले राजीनामा दिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएपछि पब्लिक कम्पनीको पैसा दुरुपयोग गरेर दीपक भट्टका नाममा सेयर किनबेच गराउन सहयोग गर्ने सबै बाहिरिएका हुन।
हिमालयन रिको संचालकबाट अमित मोर, राजीव मोर, सुभेच्छा खरेल र सुभास कुमार झुनझुनवालाले राजीनामा दिएका छन्। गत शुक्रबार नै चारै जना संचालकको राजीनामा स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।
उनीहरुको ठाउँमा वार्षिक साधारण सभासम्मका लागि दीपक कुमार मिश्र र आशिष चन्द्र न्यौपानेलाई संचालक समितिमा नियुक्त गरिएको छ। हिमालयन रिले यो दोस्रो पटक संचालक समिति पुर्नगठन गरेको हो।
यसअघि गत चैत २५ गते उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई संचालकमा नियुक्त गरिएको थियो। कम्पनीमा अहिले उदय कुमार निरौलालाई अध्यक्षको जिम्मेवारी दिइएको छ।
कम्पनीमा यसअघि संचालक रहेका साहील अग्रवाल प्रहरीको फरार सूचीमा छन्। हिमालयन रिका आधारभूत सेयरधनी भट्ट अनुसन्धानको क्रममा प्रहरीको हिरासतमा छन्।
हिमालयन रिको व्यवस्थापन पनि अनुसन्धानको राडारमा छन्। नेपाल बीमा प्राधिकरणले कम्पनीका व्यवस्थापकलाई स्पष्टीकरण सोधिसकेको छ।










