बैतडीका १६ हजार परिवारका ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा भए आबद्ध



बिजमाण्डू
२०८२ चैत्र २६ गते ०७:२९ | Apr 9, 2026
बैतडीका १६ हजार परिवारका ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा भए आबद्ध


दशरथचन्द। बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्।

Vigo
GBIME
Tata

स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बीमा कार्यक्रममा आबद्ध भएका बताए।

तीमध्ये जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको उनले जानकारी दिए। यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बीमा गर्दा ‘प्रिमियम’को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए।

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन्। बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बीमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्था हुन्। ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको बीमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए।

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले ५ जनासम्म परिवार भएका सदस्यलाई वार्षिक ३ हजार ५ सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत १ लाख रुपैयाँ बराबरको उपचार निःशुल्क पाइने गरेको छ। ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य ७ सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजार रुपैयाँका दरले उपचार सुविधा पाउने गरेका छन्। रासस