काठमाडौं। सुनचाँदीको भाउमा उतारचढाव आउँदा यसले कारोबारलाई प्रभावित पारेको छ। गत महिना सुनको भाउ बढेर प्रति तोला ३ लाख ३९ हजारभन्दा माथि पुग्दा बजारमा खरिद बिक्री बढेको थियो।
भाउ महँगो भएपछि धेरै ग्राहकले सुन बिक्री गर्न थालेका थिए। तर, सुनको भाउ लगातार घट्दै तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा आइपुग्दा कारोबार नै कम भएको व्यवसायीले बताएका छन्।
गत माघमा बिहेको लगन ढिला सुरु भएकाले बजारमा केही सुधार देखिएको थियो। तर, फागुन सुरु भएपछि सुनचाँदीको कारोबार न्यून भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सिजनको समयमा बजारमा दैनिक २० केजीभन्दा बढी सुनको खपत हुने गरेको थियो। अहिले भने सुनको माग दैनिक १० केजीभन्दा बढी नहुने व्यवसायी बताउँछन्।
बानेश्वरस्थित काठमाडौं अर्नामेन्टका संचालक धर्मसुन्दर बज्रचार्यले केही दिनयता कारोबार कम भइरहेको बताए।
‘बजारमा सुनचाँदीको अभाव छैन। यतिबेला खरिद गर्ने ग्राहक छैनन्। सुनचाँदीको अर्डर र कारोबार गत वर्षको भन्दा धेरै कम भएको छ। हाल अति आवश्यक पर्नेले मात्र सुन बनाउन आउने गरेका छन्,’ उनले भने।
न्युरोडस्थित जे जे ज्वेलर्सका संचालक पवन सोमानियाले पनि सुनको कारोबार घट्दै गएको बताए। भाउ घट्ने बढ्ने भएपछि खरिद र बिक्री दुवै कम भएको उनले बताए।
‘माघ र फागुनमा बिहेको लगन कम छ। यतिबेला भाउ महँगो हुँदा ग्राहकबाट कम अर्डर आइरहेको छ। गत महिना सुनको भाउ तोलाको ३ लाख ३९ हजार पुग्दा बेच्ने ग्राहक बढी थिए। अहिले बेच्ने ग्राहक पनि थोरै छन्,’ उनले भने।

उनले चुनावको माहोल सुरु भएकोले त्यसको असर पनि बजारमा परेको बताए। राजनीतिक गतिविधि बढ्दा उपभोक्ता खर्चमा सतर्क देखिएको व्यवसायीहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरण भाइ बज्राचार्यले फागुन लागेपछि कारोबार ‘डाउन’ भएको बताए।
‘अहिले भाउ घट्ने देखिएको छ। चिनियाँ नयाँ वर्षको कारण चीनले सुन खरिद गरेको छैन। यसले गर्दा भाउ ओरालो लागेको छ। बजारमा खरिद गर्ने ग्राहक पनि छैनन्,’ उनले भने।
उनका अनुसार अहिले बजारमा सुनचाँदीको अभाव छैन। हाल दुईवटा बैंकले ल्याएको सुन व्यवसायीहरूले खरिद गरिरहेका छन्।
‘बजारमा माग भएर व्यवसायीले खरिद गरेको होइन। फागुनमा बिहेको लगन भएकोले माग हुन सक्छ भनेर स्टक राख्नका लागि खरिद गरेको हो,’ बज्रचार्यले भने।
यस्तै, हाल चाँदीको कारोबार पनि कमजोर देखिएको छ। हिमालयन बुलियन कम्पनीका एक कर्मचारीका अनुसार चाँदी खरिद गर्ने ग्राहकको ‘फ्लो’ पनि कम भएको छ।
‘अहिले चाँदीको अभाव छैन। माग कम भएकोले व्यवसायीसँग भएको चाँदी सहज रुपमा पाइन्छ,’ उनले भने, ‘गत महिना भाउ धेरै हुँदा लाइन लागेर चाँदी किन्न आएका थिए।’
भाउ घट्न थालेपछि ग्राहकले चाँदी बिक्री गर्दा बजारमा अभाव कम हुँदै गएको उनको भनाइ छ। यतिबेला चाँदी किन्न आउने ग्राहक फाट्टफुट्ट मात्रै छन्।











