काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको दायित्व धान्न नसक्ने भएपछि सरकारले बहिरंग (ओपीडी) सेवा प्रयोगको सीमा लागू गरेको छ।
स्वास्थ्य बीमा बोर्डले फागुन १ गतेदेखि लागू हुने गरि ओपीडी सेवामा पाँच जनाको परिवारलाई २५ हजारको सीमा लागू गर्ने निर्णय गरेको हो। यस अनुसार अब पाँच जनाको परिवारले वार्षिक २५ हजार रुपैयाँको मात्रै ओपीडी सेवा उपयोग गर्न पाउनेछन्।
बोर्डले स्वास्थ्य बीमाको दायित्व घटाउन ओपीडीमा सीमा तोकेको हो।
‘बीमित नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउनुको साथै बोर्डको व्ययभार कम गर्ने उद्देश्यले मिति २०८२/०९/२४ को बोर्ड बैठकको निर्णयानुसार हाल सुविधा थैलीमा रहेको बहिरंग सेवा प्रयोगमा प्रति परिवार (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार बराबरको सुविधा र प्रत्येक थप एक (१) सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको र सो व्यवस्था मिति २०८२/११/०१ गतेबाट लागु गर्ने हुँदा सो निर्णय कार्यान्वयनको लागि अनुरोध छ,’ बोर्डले भनेको छ।
८ प्रकारका कडा तथा दीर्घरोगहरुको उपचारका लागि भने यो सीमा लागू हुनेछैन। अहिले ५ जनाको परिवारले ३ हजार ५०० रुपैयाँ वार्षिक प्रिमियम भुक्तानी गरे १ लाख रुपैयाँसम्मको उपचार गर्न पाउँछन्। तर,सरकारी अस्पतालले बीमा वापतको दाबी नपाएको भन्दै सेवा नै बन्द गरेका छन्।
सरकारले यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरे पनि दायित्व धेरै आउँदा पूरानै रकम पनि भुक्तानी बाँकी छ।










