सुन किन्नेले दुई दिनमै गुमाए तोलामा ३४ हजार, आजको मूल्य २ लाख ८६ हजार ६००, चाँदीमा पनि पहिरो

बिजमाण्डू
२०८२ माघ १९ गते १०:५१ | Feb 2, 2026
सुन किन्नेले दुई दिनमै गुमाए तोलामा ३४ हजार, आजको मूल्य २ लाख ८६ हजार ६००, चाँदीमा पनि पहिरो


काठमाडौं। लगातार उच्च बनेको सुनचाँदीको बजार मूल्यमा घट्ने क्रम पनि लगातार छ। अघिल्लो दिनका तुलनामा सोमबार सुन तोलामा १३ हजार ४ सय रुपैयाँ घटेर कारोबार मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ भएको छ।

GBIME
Tata

सुनको कारोबार मूल्य दुई दिनमै ३३ हजार ९ सय रुपैयाँ घटेको छ। कारोबार मूल्य उच्च देखेर लगानीमा आकर्षित भएकाहरुलाई भूकम्प गए बराबर भएको छ।

चाँदी पनि ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ तोला भएको छ। आइतबार सुन तोलाको ३ लाख र चाँदी ५ हजार ५ सय रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सुनचाँदीको भाउमा भारी गिरावट आएको हो। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा १८ हजार ८ सय रुपैयाँ र चाँदी १५ सय ६५ रुपैयाँले घटेको थियो।

यसअघि गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा २० हजार ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्दा सुनको भाउ हालसम्मकै उच्च प्रति तोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

चाँदी सोमबार कारोबार मूल्य प्रति तोला ५ हजार २ सय रुपैयाँ भएको छ। आइतबार ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। गत शुक्रबार प्रति तोला ७ हजार ६५ रुपैयाँ रहेकोमा आइतबार घटेर ५ हजार ५ सयमा आइपुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा लगानीकर्तालाई नाफा बुक गर्न गाह्रो परेको छ।

आइतबार प्रति औंस ४८९३.२ डलरमा आइपुगेको सुन सोमबार ४६७९.२५ डलरमा झरेको छ। चाँदी पनि प्रति औंस ८५.३४ डलरबाट ७९.०६ डलरमा आइपुगेको छ। गत शुक्रबार सुन प्रति औंस ५२०० र चाँदी प्रति औंस १११ डलरमा कारोबार भएको थियो।