सेयर र घरजग्गामा जोखिम देखेपछि चाँदीमा लगानी, पसलदेखि कम्पनीसम्म किन्नेको भीड



बिजमाण्डू
२०८२ माघ १६ गते १४:११ | Jan 30, 2026
सेयर र घरजग्गामा जोखिम देखेपछि चाँदीमा लगानी, पसलदेखि कम्पनीसम्म किन्नेको भीड

काठमाडौं। कमलपोखरीस्थित हिमालयन बुलियन कम्पनी परिसरमा बिहीबार लामो लाइन लाग्यो। यसरी ग्राहक लाइनमा बस्नुको कारण हो- चाँदी किन्ने पालो पर्खिनु। चाँदी किन्नका लागि पछिल्ला केही दिनयता कम्पनी परिसरमा ग्राहकको भिड ह्वात्तै बढेको हो।

Tata
GBIME
Nepal Life

चाँदी आयात गर्दै आएको यो कम्पनीले हाल माग बढेपछि रिटेल कारोबार समेत गर्न थालेको छ। चाँदीको भाउ र माग बढ्दा अहिले कम्पनीका कर्मचारीलाई भ्याइनभ्याइ छ।

‘पछिल्ला केही दिनयता चाँदी किन्न आउनेहरुको भीडले हामीलाई भ्याइनभ्याइको स्थिति छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने अनुमानसँगै लगानीका रुपमा चाँदी किनेर राख्न थालेको देखिन्छ,’ कम्पनीका एक संचालकले बिजमाण्डूसँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा पनि अहिले चाँदी खोसाखोस भइरहेको छ। हामीलाई पनि ल्याउन मुस्किल परिरहेको छ।’

कम्पनीका ती संचालकका अनुसार अन्तर्राष्ट्रिय बजारमा चीनले प्रिमियम (बढी) मूल्य तिरेर चाँदी उठाइरहेको छ जसका कारण अरु देशका क्रेताले समेत चाँदी पाउन मुस्किल परिरहेको छ।

‘हाम्रो मुलुकको बजार नै सानो छ। त्यही भएकाले हामीले खोज्दा पनि पाउन मुस्किल हुन्छ। यही बेलामा यहाँ लगानी गर्ने समूह बढिरहेकाले चाँदी खोसाखोस भइरहेको छ,’ उनले भने, ‘अहिले अरु क्षेत्रमा लगानी संकुचित छ। सेयर बजार भोलाटायल छ। सुन धेरै महँगो भएपछि चाँदीको डिमाण्ड बढी छ।’

अहिले साना ठूला व्यवसायी मात्र होइन, सर्वसाधारणले समेत बजारमा महँगो मूल्य तिरेर चाँदी किनिरहेका छन्। ग्राहकको भीडका कारण कतिपय कम्पनीले तोलाकै ३०० रुपैयाँ बढी मूल्य लिइरहेको पाइएको छ।

व्यापारीका अनुसार ग्राहकको ओइरोका कारण मुलुकभित्र आयात भएको चाँदी केही समयमै बिक्री भइसक्छ। ‘पहिला चाँदी स्टक बस्ने गर्थ्यो। तर अहिले आउन पाएको छैन बिक्री भइहाल्छ,’ हिमालयन बुलियनका एक कर्मचारीले भने।

हिमालयन बुलियन मात्र होइन, देशभरकै सुनचाँदी पसलमा चाँदी किन्नेको भीड छ।

पसलमा चाँदीको बार बेच्नका लागि राखिएको सामाजिक संजालमा पनि देखिन्छ।

केही वर्षअघिसम्म चाँदी दसैंतिहारको समयमा बढी किन्ने गरिन्थ्यो। अझ धनतेरशका दिनमा चाँदी किन्न तँछाडमछाड चल्थ्यो।

तर, अहिले ग्राहकले चाँदी किन्नका लागि धनतेरश कुरिरहेका छैनन्। अहिले दिनदिनै धनतेरसमा भन्दा धेरै चाँदी बिक्री भइरहेको छ। व्यवसायीदेखि सर्वसाधारणले लगानीकै रुपमा चाँदी किनेर राख्ने प्रवृत्ति देखिएको छ।

तिहारका बेला प्रति तोला ३ हजार रुपैयाँ हाराहारी रहेको चाँदीको भाउ अहिले ७ हजार रुपैयाँभन्दा माथि छ। बिहीबार तोलाको भाउ ७ हजार ५०५ रुपैयाँ रहेकामा शुक्रबार चाँदीमा ४४० रुपैयाँ घटेको छ।

न्यूरोडका एक सुनचाँदी व्यवसायीका अनुसार सुनको भाउ अचाक्ली महँगो भएको र सेयर बजारमा जोखिम देखिएकाले लगानीकर्ताले सुरक्षित लगानीका रुपमा चाँदी किन्न थालेका हुन्।

‘सानादेखि ठूला लगानीकर्ताका लागि आकर्षक क्षेत्र छैन। केही वर्षअघिसम्म जग्गा थियो। त्यो पनि जोखिममा छ,’ उनले भने, ‘सबै जनाको आँखा अहिले चाँदीमै परेको छ।’

बार बनाएर बेच्दै, मेल्टिङ युनिट राख्दै

अन्तर्राष्ट्रिय बजारबाट आयात हुने चाँदी दानादाना हुने गर्छ। आयात अनुमति पाएका कम्पनी र बैंकहरुले दाना चाँदी नै ल्याउने हो। यहाँ केही कम्पनीले त्यही दानालाई पगालेर बार बनाएर बेच्ने गरेका छन्।

एक व्यवसायीका अनुसार मेल्टिङ युनिटका लागि पचास लाख रुपैयाँ लाग्छ। त्यो मेल्टिङ युनिटमा पगालेर बार बनाइन्छ। ती व्यवसायीका अनुसार मेल्टिङ गरेर बनाइएको चाँदीको बार अरुभन्दा केही महँगो पर्छ।

‘अहिले बजार भाउभन्दा तोलाको ३०० रुपैयाँ बढीमा बिक्री भइरहेको छ। मेल्टिङको लागत जोडेर बिक्री गरेको हुनसक्छ,’ उनले भने।

ती व्यवसायीका अनुसार चाँदीको कारोबार गर्ने केही ठूला कम्पनीले मेल्टिङ युनिट राखेका छन्। चाँदी आयात गर्ने कम्पनीले कमाई र भविष्य देखेर मेल्टिङ युनिट लगाएका हुन्।

‘अहिले जुन कम्पनीले चाँदी आयात गरिरहेका छन्, उनीहरुले मालामाल कमाइरहेका छन्,’ अर्का व्यवसायीले भने, ‘बैंक तथा वित्तीय संस्थाले समेत लगानीको क्षेत्र नभएका बेलामा यसलाई राम्रैसँग फेसिलिटेट गरेका छन्।’

उनका अनुसार केही वर्षअघि पनि चाँदी आयात गर्ने कम्पनीले कमाएका थिए। भारतमा भन्दा भन्सार सस्तो हुँदा यताबाट आयात भएको चाँदी भारतसम्म जाने गरेको थियो।

२०७६ सालदेखि केही वर्ष नेपालमा आयात भएको चाँदी भारतमा तस्करी भएर जाने गरेको थियो। त्यो बेलामा एकपटकमा ३५ हजार डलरको मात्रै चाँदी आयात गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

आयातित चाँदी व्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न, हस्तकलालगायतका सामान बनाइ बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिने व्यवस्था थियो।