रिइन्स्योरेन्सले भुक्तानी नदिंदा संकटमा बीमा क्षेत्र, २ अर्ब नपाएपछि प्राधिकरण पुगे बिमक



सुनिल कुँवर
२०८२ माघ १२ गते १२:३४ | Jan 26, 2026
रिइन्स्योरेन्सले भुक्तानी नदिंदा संकटमा बीमा क्षेत्र, २ अर्ब नपाएपछि प्राधिकरण पुगे बिमक


काठमाडौं। पुनर्बीमा कम्पनीले बीमा क्षेत्रमा संकट निम्त्याएका छन्। पुनर्बीमा कम्पनीले निर्जीवन बिमकको दायित्व भुक्तानी नगरेर संकट निम्त्याएपछि नियामकलाई गुहार्नुपर्ने अवस्था आएको छ।

Tata
GBIME

निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नपाउँदा बीमितको दाबी भुक्तानीमा समेत असर परेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा गत असोजमा बाढिपहिरोबाट भएको क्षतिको भुक्तानी रिइन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीलाई अहिलेसम्म दिएका छैनन्।

हिमालयन रिइन्स्योरेन्सबाट १ अर्ब १७ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै कारोबार राफसाफका लागि इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणलाई पत्र लेखेका छन्। त्यस्तै नेपाल रिइन्स्योरेन्सबाट ८२ करोड रुपैयाँ भुक्तानी नपाएको पत्र कम्पनीले प्राधिकरणमा बुझाएका छन्।

बिमकहरुका अनुसार रिइन्स्योरेन्सबाट भुक्तानी नपाएका थप कम्पनीको अहिले हिसाब निकाल्ने काम भइरहेको छ। अरु कम्पनीको पनि जोड्दा हिमालयन रिइन्स्योरेन्सले भुक्तानी गर्नुपर्ने रकम नै २ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले हिमालयन रिइन्स्योरेन्सबाट सबैभन्दा धेरै ३१करोड ५४ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ। यस्तै एनएलजी इन्स्योरेन्सले पनि हिमालयन रिइन्स्योरेन्सबाट ३१ करोड रुपैयाँ पाउन सकेको छैन। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्सबाट ४९ करोड २२ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

बिमकको पुनर्बीमा निर्देशिका अनुसार, प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्छ। तर, रिइन्स्योरन्सले समयमै भुक्तानी नगर्दा आफूहरुलाई दाबी भुक्तानीमै समस्या भएको बिमकहरुले बताएका छन्।

‘रिइन्स्योरेन्सबाट पाउनुपर्ने भुक्तानी रकम कम्पनीले पाएका छैनन्। हामीले राफसाफ माग गर्दै नेपाल बीमा प्राधिकरणमा पनि पत्र पठाएका छौं,’ नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीइओ वीरेन्द्र वैदबार क्षत्रीले भने, ‘कम्पनीलाई प्रिमियम समयमै तिर्नुपर्छ। प्राधिकरण आफैंले अग्रिम भुक्तानी गर्न निर्देशन दिएको छ। तर, हामीले भुक्तानी नपाउँदा बीमितलाई समयमै कसरी दाबी भुक्तानी गर्न सक्छौं?’

बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासकै भुक्तानी हिमालयन र नेपालरिबाट नपाएको भन्दै प्राधिकरणलाई माघ पहिलो साता दोस्रो पत्र लेखेका छन्।

रिइन्स्योरेन्सबाट समयमै भुक्तानी पाए कम्पनीलाई सहज हुने र जेनजी आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी समयमै गर्न सकिने बिमकले बताएका छन्।

‘बीमकहरुले पुनर्बीमा कम्पनीलाई तिर्नुपर्ने रकम समय सीमाभित्रै भुक्तानी गर्ने गरेको भए पनि पुनर्बीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएकोले निर्देशिकामा रहेको व्यवस्था बमोजिम भुक्तानी गर्न निर्देशन दिएको खण्डमा बीमकहरुको तरलतामा सुधार आउने र जेनजीसँग सम्बन्धित दाबी भुक्तानीमा थप सहयोग पुगी निर्देशिकामा रहेको व्यवस्था समेत कार्यान्वयन हुने व्यहोरा निवेदन गर्दछौं,’ बिमकहरुले प्राधिकरणलाई भनेका छन्।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिबाट इन्स्योरेन्स कम्पनीमा २३ अर्ब ७६ करोड रुपैयाँको दाबी परेको छ। त्यसमध्ये इन्स्योरेन्स कम्पनीले अहिलेसम्म ५ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेका छन्।

प्राधिकरणले निर्देशिका बनाएरै स्वेदेशी पुनर्बीमा कम्पनीको बिजनेस सुनिश्चित गरेको छ। कम्पनीले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई दिएपछि बाँकी रहेको हिस्साको कम्तिमा ३० प्रतिशत नेपाल र हिमालयन रिइन्स्योरेन्सलाई बराबर वितरण गर्नुपर्ने प्रावधान छ।

निर्जीवन बीमा कम्पनीहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिवुटी बीमा, हुलदंगा तथा आतंकबाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ बीमा बाहेक) स्वदेशी रिइन्स्योरेन्स कम्पनीलाई नै सतप्रतिशत बिजनेस दिनुपर्ने व्यवस्था छ।

प्राधिकरणले कानुन बनाएरै रिइन्स्योरेन्सको बिजनेस सुनिश्चित गरेकामा अहिले दाबी भुक्तानी रोकिएपछि बिमकहरु आक्रोशित बनेका छन्।

‘हामीले सुरुमै रिइन्स्योरेन्सको बिजनेसका लागि प्रिमियम तिर्नुपर्ने तर रिइन्स्योरेन्सले भुक्तानी नदिंदा चाहिं प्राधिकरण मौन बस्ने? हामीले बुझ्नै सकेका छैनौं,’ एक बिमकले भने।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबीमा प्राधिकरणले इन्स्योरेन्सलाई अग्रिम भुक्तानी गर्न निर्देशन दिएको छ। तर, रिइन्स्योरेन्सबाट भुक्तानी नपाउँदा सकस परेको बिमकहरुको भनाइ छ।

नेपाल बीमा प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमक संघबाट भुक्तानीको विषयमा प्राधिकरणमा गुनासो आएकाले छलफल गर्ने तयारी गरिरहेको बताए।

‘रिइन्स्योरेन्सबाट भुक्तानी पाएनौं भन्ने कुरा बिमक संघबाट आएको जानकारी पाएका छौं। डिटेल कुरा मकहाँ आइपुगेको छैन। संघले औपचारिकरुपमा अध्यक्षज्यूलाई भेटेरै डिटेल कुरा भनेपछि छलफल हुन्छ,’ उनले भने।