अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलो पटक प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको छ। यससँगै सुनले ऐतिहासिक रेकर्ड बनाएको छ।
सन् २०२५ मा मात्र सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेको छ। अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढेको तनावले बजारमा अनिश्चितता थपेको छ। यसकारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजार चर्किएको छ। उनले चीनसँग व्यापार सम्झौता गरे क्यानडामाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।
अनिश्चितताका बेला सुन र चाँदीलाई सुरक्षित लगानी मानिन्छ। शुक्रबार चाँदीको मूल्य पनि पहिलो पटक प्रति औंस १०० डलर नाघेको छ। चाँदीको मूल्य अघिल्लो वर्ष झन्डै १५० प्रतिशतले बढेको थियो।
उच्च मुद्रास्फीति, कमजोर अमेरिकी डलर र विश्वभरका केन्द्रीय बैंकको खरिदले पनि मूल्य बढाएको हो। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर फेरि घटाउने अपेक्षाले सुनलाई थप बल दिएको छ।
युक्रेन र गाजाका युद्ध तथा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई वासिङ्टनले नियन्त्रणमा लिएको घटनाले पनि सुन महँगिएको छ।
विश्वमा अहिलेसम्म करिब २ लाख १६ हजार टन मात्र सुन उत्खनन भएको छ। धेरैजसो सुन सन् १९५० पछि मात्र निकालिएको हो। अझै करिब ६४ हजार टन सुन जमिनमुनि रहेको अनुमान छ।
केन्द्रीय बैंकहरूले गत वर्ष सयौँ टन सुन भण्डारणमा थपेका छन्। यसले अमेरिकी डलरबाट टाढा जाने संकेत दिएको छ। तर, मूल्य घट्ने जोखिम पनि रहेको चेतावनी दिइएको छ।
लगानी मात्र होइन, सांस्कृतिक कारणले पनि सुनको माग उच्च छ। भारतमा दीपावली र चीनमा नयाँ वर्षजस्ता अवसरमा सुन किन्ने चलन छ। भारतका घरपरिवारसँग करिब ३.८ ट्रिलियन डलर बराबरको सुन रहेको अनुमान छ। चीन पनि विश्वकै ठूलो सुन उपभोक्ता बजार हो।










