काठमाडौं। सुनचाँदीको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सुनको कारोबार मूल्य सोमबार प्रति तोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
सुन अघिल्लो दिनको भन्दा तोलामा ४ हजार २ सय रुपैयाँ बढेको हो भने चाँदी १ सय ८५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार मूल्य उच्च हुँदा बजार कारोबार मन्द भएको छ।
यसअघि गत शुक्रबारका तुलनामा ६ सय रुपैयाँ बढेर आइतबार प्रति तोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा भएको थियो।
चाँदीको कारोबार मूल्य प्रति तोला ५ हजार ८ सय १० रुपैयाँ पुगेको छ। आइतबार तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रति औंस ४६७१.१३ डलर भएको छ। चाँदी प्रतिऔंस ९३.१९ डलर पुगेको छ। अघिल्लो दिन सुन प्रति औंस ४५९६.३४ डलर र चाँदी प्रति औंस ९०.२३ डलर थियो।
विश्वबजारमा सुनचाँदीको मूल्य नघट्नुमा विभिन्न कारण देखिएका छन्। यसमा भू-राजनीतिक तनाव प्रमुख कारण देखिएको छ। विश्वका विभिन्न देशहरूबीचको युद्ध र तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित भएका छन्। यसले माग बढाउँदा मूल्यमा चाप परेको छ। विभिन्न देशका केन्द्रीय बैंकहरूले आफ्नो ढुकुटीमा सुनको सञ्चिति बढाउनु र अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रा कमजोर हुनुले पनि भाउ घटाउन मद्दत गरेको छैन।
विश्वव्यापी रूपमा बढ्दो मुद्रास्फीति (महँगी) विरुद्ध सुरक्षाको रूपमा सुनलाई लिइन्छ। साथै, अन्तर्राष्ट्रिय बजारमा ब्याजदरमा हुने घटबढले गर्दा लगानीकर्ताहरूले अन्य क्षेत्रभन्दा सुनलाई नै बढी प्राथमिकता दिएका छन्।










