महाधिवेशन सकिएको दुई दिनमै पोखरेल समूहको भेला, ओलीले पक्षपात गरे प्रतिवाद गर्ने



बिजमाण्डू
२०८२ पुष ५ गते १८:४८ | Dec 20, 2025
महाधिवेशन सकिएको दुई दिनमै पोखरेल समूहको भेला, ओलीले पक्षपात गरे प्रतिवाद गर्ने

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन सकिएको दुई दिन पछि शनिबार अध्यक्ष केपी शर्मा ओली इतर पक्षले भेला गरेको छ। मंसिर २७ गते सुरु भएर पुस ३ गते सम्पन्न महाधिवेशनमा ओलीसँग ईश्वर पोखरेल समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो।

Tata
GBIME
Nepal Life

पदाधिकारीमा याे पक्षबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्र जितेका थिए। महाधिवेशनबारे आफ्नो समूहको समीक्षा गर्न कार्की बांक्वेटमा राखिएको भेलाले ओलीले पक्षपात गरे प्रतिवाद गर्ने निचोड निकालेको छ।

प्रतिनिधि छनोटदेखि महाधिवेशनको बन्द सत्रमा ओलीले गरेका गतिविधिले आफ्नो समूह पराजित हुनु परेको निष्कर्ष पनि पोखरेले समूहले निकालेको छ। प्रतिनिधिहरुलाई ओलीले विभिन्न प्रलोभन देखाएको तथा दबाबमा पारेको पनि इतर पक्षको आरोप छ।

देशव्यापी रुपमै महाधिवेशनबारे समीक्षा गर्ने निर्णय गरेको इतर पक्षले आफ्नो समूहलाई निराश नहुन अपिल गरेको छ।ओलीलाई पार्टीभित्र लोकतान्त्रिक गतिविधि गर्न तथा विधानलाई पालना गर्न दबाब दिने पनि भेलाले निर्णय गरेको हो।

पार्टीको विधान मिच्ने तथा अलोकतन्त्रिक गतिविधि हुनेमा शंका रहेको पनि पोखरेल पक्षले आरोप लगाएको छ। आफूहरुमाथि ओली समूहले पार्टी विभाजनमा लागेको आरोप लगाइरहेको पनि पोखरेल समूहले निष्कर्ष निकालेको हो। उक्त आरोपलाई आफूहरुले खण्डन हुने गरिका गतिविधि मात्रै गर्ने पोखरेलले भेलामा बताएका थिए। तर, ओलीले पक्षपाति तथा परिवर्तन विरोधी एजेण्डा ल्याए त्यसको प्रतिवाद गर्ने योगेश भट्टराईले बताए।

‘अध्यक्षले ल्याउने सकारात्मक प्रस्तावको हामी समर्थन गर्नेछौं। तर पार्टी एकता भंग गर्ने, पक्षपात देखाउने, गुटबन्दी र विभाजन सिर्जना गर्ने वा व्यक्तिहरूलाई आंशिक व्यवहार गर्ने प्रस्ताव आए त्यसको प्रतिरोध गर्नेछौं,’ भट्टाराईले भने।

आफ्नो समूहले उठाएको परिवर्तनको एजेण्डामा आफ्नो समूह प्रतिवद्ध भएको पनि उनको भनाइ छ। पोखरेल समूहले महाधिवेशनमा ओलीले अध्यक्ष छोड्नुपर्नेदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने एजेण्डा अघि सारेको थियो।

ओलीले आफू अध्यक्ष निर्वाचित भए लगतै एमालेमा गुटगत गतिविधि मान्य नहुने बताएका थिए। तर, पोखरेल समूहको भेलाले पार्टीको आन्तरिक लोकतन्त्रका लागि दुई लाइन संघर्ष जरुरी भएको बताएको छ। अब बस्ने केन्द्रीय कमिटीको बैठकमा पोखरेल समूहले आफ्नो समूहको एजेण्डा राख्ने तयारी गरेको छ।

स्थायी कमिटी र पोलिटब्युरो गठनमा पनि आफ्ना समूहका नेतालाई समेट्नुपर्ने माग ओली इतर पक्षको छ। मनोनित केन्द्रीय सदस्यमा ओलीले आफू निकटलाई मात्रै राख्न सक्ने भन्दै पोखरले समूहले त्यसप्रति पनि संशय व्यक्त गरेको हो।