बीमा कम्पनी खर्च घटाउने रणनीतिमा, आक्रामकरुपमा खोलेका शाखा धमाधम बन्द गर्दै



बिजमाण्डू
२०८२ मंसिर १९ गते १५:५५ | Dec 5, 2025
बीमा कम्पनी खर्च घटाउने रणनीतिमा, आक्रामकरुपमा खोलेका शाखा धमाधम बन्द गर्दै


काठमाडौं। आक्रामक रुपमा शाखा विस्तार गरेका बीमा कम्पनी अपेक्षितरुपमा व्यवसाय विस्तार गर्न नसकेपछि धमाधम बन्द गर्नतिर लागेका छन्।

Vigo
GBIME
Tata

लागत घटाउनका लागि शाखा बन्द तथा मर्जर गर्न कम्पनीहरुले एकपछि अर्को गरी नियामक नेपाल बीमा प्राधिकरणसँग स्वीकृति माग्न थालेका हुन्।

बीमा कम्पनीले शाखा बन्द तथा मर्जका लागि स्वीकृति माग्ने क्रम बढेको प्राधिकरणका कर्मचारीहरु बताउँछन्।

‘सुरुवाती चरणमा व्यवसाय बढाउन आक्रामक शाखा खोलेका इन्स्योरेन्स कम्पनीले अहिले धमाधम बन्द गरिरहेका छन्। स्वीकृतिका लागि उनीहरु निरन्तरजसो आइरहेका छन,’ प्राधिकरणका एक अधिकृतले भने, ‘कम्पनीहरु अब लागत घटाउने रणनीतिमा लागेको देखिन्छ।’

शाखा विस्तार गरे अनुसार व्यवसाय बढाउन नसकेपछि बीमा कम्पनीहरु खर्च कटौतीका लागि मर्जर तथा शाखा बन्द गर्नतिर लागेका हुन्।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष असोजसम्म जीवन, निर्जीवन, पुर्नबीमा र माइक्रो इन्स्योरेन्सका २ हजार ९९७ शाखा छन्।

गत वर्ष असोजसम्मको तुलनामा यो संख्या ०.०३ प्रतिशत कम हो। बीमा प्राधिकरणले २०७८ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ गुणा वृद्धि गरेपछि डेढ दर्जन कम्पनी मर्जरमा गएका थिए।

अहिले १४ वटा जीवन, १४ निर्जीवन, २ वटा रिइन्स्योरेन्स र ७ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।