काठमाडौं। नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउन एपीआई इन्टिग्रेसन सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी र बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरेका छन्।
सुवेदीले सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्णरूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले बीमकहरूका लगानी सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहित बनाई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप पारदर्शी बनाउन यसबाट सहयोग पुग्ने बताए।
एपीआई इन्टिग्रेसन अन्तर्गत बीमकले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउँछन्।
यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ। त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ।
यस इन्टिग्रेसनका लागि नबिल बैंकका तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ। जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्छ।










