जेनजी आन्दोलनमा सम्पत्तिमा भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीले खोजे पुनर्बीमकको साथ



बिजमाण्डू
२०८२ भदौ २९ गते १८:२४ | Sep 14, 2025
जेनजी आन्दोलनमा सम्पत्तिमा भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीले खोजे पुनर्बीमकको साथ


काठमाडौं। बीमा कम्पनीहरुले जेनजीको आन्दोलनका क्रममा भएको सम्पत्तिको क्षतिमा बीमा दाबी रकम भुक्तानीका लागि पुनर्बीमा कम्पनीको साथ खोजेका छन्।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भौतिक सम्पत्तिमा भएको क्षतिबारे आइतबार राखेको छलफलमा निर्जीवन प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुले आफूहरुले तत्काल सानो रकम मात्र दिन सक्ने र ठूलो दाबी भुक्तानीका लागि पुनर्बीमकले पेश्की दिनुपर्ने बताएका छन्।

‘आन्दोलनका क्रममा भएको सम्पत्तिको क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम मात्रै तत्कालै भुक्तानी गर्न सकिन्छ। ठूलो दाबी रकम भुक्तानीका लागि पुनर्बीमकले पेश्कीस्वरूप रकम दिनुपर्छ। साथै तरलता व्यवस्थापनमा सहजीकरण आवश्यक छ,’ एक कम्पनीका सीइओको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो।

बीमा कम्पनीका सीइओहरुले आन्दोलनका क्रममा पूर्ण क्षति भएका सम्पत्तिको दाबी भुक्तानीका लागि विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन तत्काल प्राप्त गर्न नसकिने बताए। उनीहरुले वडा र प्रहरी कार्यालय क्षतिग्रस्त भएका कारण सिफारिस समेत प्राप्त गर्न कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने बताएका छन्।

छलफलमा पुनर्बीमा कम्पनीका सीइओ पनि सहभागी थिए। उनीहरुले दाबी भुक्तानीका लागि निर्जवन बीमकलाई सहयोग गर्न तयार रहेको बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबी भुक्तानीलाई सरल बनाउने विषयमा सीइओहरुसँग राय मागेका छन्। यसका लागि तीन दिनको समय दिइएको छ।

सुवेदीले बीमा दाबी सम्बन्धी तथ्यांक संकलन तथा भुक्तानीमा सहजीकरणका लागि फोकल पर्सन तोकेर सार्वजनिकरूपमा जानकारी दिन बीमकहरूलाई निर्देशन दिए।

प्राधिकरणले दाबी भुक्तानीलाई छिटो बनाउन आइतबार नै बीमा सर्भेयरहरुसँग पनि छलफल गरेको छ।