हिमालयन लाइफ इन्स्योरेन्सलाई प्राधिकरणबाट एकपछि अर्को सहजीकरण, आयो अनुकूल निर्देशन



बिजमाण्डू
२०८२ भदौ १९ गते १८:५९ | Sep 4, 2025
हिमालयन लाइफ इन्स्योरेन्सलाई प्राधिकरणबाट एकपछि अर्को सहजीकरण, आयो अनुकूल निर्देशन


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सलाई सरकारी लगानीको नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गर्न सहज हुने गरी नेपाल बीमा प्राधिकरणले लगानी सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।

Tata
GBIME

सूचीकृत कम्पनीको सेयरमा हिमालयन लाइफ इन्स्योरेन्सले अहिले नै तोकिएको सीमाभन्दा धेरै लगानी गरेको पृष्ठभूमिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले अझै लगानी थप्ने वातावरणस्वरुप पुरानो निर्देशन खारेज गरेर नयाँ निर्देशन जारी गरेका हुन्।

बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेकामा पोखरेलले बढाएर १५ प्रतिशत पुर्‍याइ खासगरी हिमालयन लाइफ इन्स्योरेन्सलाई सहज पारिदिएका छन्।

अब सेयरमा १५ प्रतिशतसम्म लगानी गर्नका लागि बीमा कम्पनीहरुले प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन।

सूचीकृत कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हिमालयन लाइफले उल्लंघन गर्दा प्राधिकरणले यसअघि पनि निर्देशन संशोधन गरेर सहज पारिदिएको थियो।

प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवालले हिमालयन लाइफलाई सहज हुने गरी इन्स्योरेन्सले स्वीकृति लिएर तोकिएको सीमाभन्दा बढी रकम सेयरमा लगानी गर्न पाउने गरी २०८० पुसमा लगानी सम्बन्धी निर्देशन संशोधन गरेका थिए।

जीवन बीमा कम्पनीले सेयरमा गरेको कुल लगानीमध्ये हिमालयन लाइफ एक्लैको एकतिहाइ हिस्सा छ।

गत आर्थिक वर्ष असारसम्म १४ वटा जीवन बीमा कम्पनीले सूचीकृत सेयरमा कुल ३० अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन्। त्यसमध्ये १० अर्ब ८५ करोड रुपैयाँ हिमालयन लाइफ एक्लैले लगानी गरेको हो।

हिमालयन लाइफले सेयर खरिदमा प्रयोग गरेको यो रकम उसको कुल लगानीको १३.७२ प्रतिशत हो।

हिमालयन लाइफले सरकारको लगानी रहेको नेपाल रिइन्स्योरेन्सको सेयर खरिदमा धेरै पैसा हालेको विवरणहरुले देखाउँछ। नेपाल रिको थप सेयर खरिद गर्नकै लागि हिमालयन लाइफको लगानी रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकिङले एचएलआई लार्ज क्याप फण्डका नाममा सर्वसाधारणबाट पैसा उठाइसकेको छ।

सेयर बजारमा गत असारसम्म जीवन बीमा कम्पनीको लगानी रु लाखमा

जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
हिमालयन१०८५९७.२१५६६४५.७५९१.७१
नेपाल४००१२.२३२८०१८.२३४२.८१
सूर्यज्योति२९२५६.४५१२७७१.५२१२९.०८
लाइफ इन्स्योरेन्स कर्पोरेसन२३४२३.७३१८२११.३६२८.६२
सन नेपाल१५११४.४१५८६६.१०१५७.६६
रिलायबल नेपाल१४७१६.३६१०५०६.५२४०.०७
नेसनल१३३८९.४७५२९९.२८१५२.६७
सिटिजन१२९४३.०९२९४५.५३३३९.४१
आइएमई१२२३७.०३६६४६.१७८४.१२
प्रभु महालक्ष्मी११५२९.४१७७०९.५६४९.५५
सानिमा रिलायन्स९९०२.३३६७५९.९९४६.४८
एसियन८६४३.६७८२८९.५१४.२७
राष्ट्रिय जीवन बीमा कम्पनी५४६२.६५२१५९४.८४-७४.७
जम्मा३०५२२८.०४१९१२६४.३६५९.५८