बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन जारी, प्राधिकरणको अनुमति अनिवार्य



बिजमाण्डू
२०८२ भदौ १८ गते १९:४० | Sep 3, 2025
बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन जारी, प्राधिकरणको अनुमति अनिवार्य


काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमकले पुनर्बीमा, रेट्रोसेसन र विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्न ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ।

Tata
GBIME

बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपाल रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता र परामर्श सेवा लिएबापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने व्यवस्थासहितको निर्देशन जारी गरिएको हो।

पुनर्बीमा शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटी पुनर्बीमा वा रेट्रोसेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बीमा वा ऐच्छिक (फ्याकल्टेटिभ) रेट्रोसेसन पुनर्बीमाका लागि तोकिए बमोजिमका कागजात प्राधिकरणमा पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

विदेशी बीमक वा विदेशी ब्रोकरलाई बीमा दाबीबापतको भुक्तानी गर्दा ट्रिटी वा (फ्याकल्टेटिभ) हिसाव–किताब मिलान गरी तोकिए बमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेस गर्नुपर्नेछ।

बीमकले बीमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर सम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि निर्देशनमा तोकिएका कागजात संलग्न गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

पुनर्बीमा वा रेट्रोसेसनबापत विदेशी मुद्रा सटही सिरफारिस गर्दा प्राधिकरणले जारी गरेको ‘बीमकको पुनर्बीमा निर्देशिका’ बमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिका बमोजिम रेटिङ प्राप्त पुनर्बीमकका लागि मात्र सिफारिस गरिनेछ।

बीमकले विदेशी मुद्रा सटही सिफारिस लिन पेस गरेका कागजात तथा स्वीकृतिपत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।

बीमकले भुक्तानी गरेको विदेशी मुद्राको विवरण प्रत्येक चौमास समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्नेछ।