काठमाडौं। इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनीमा लगानी गर्न पाउने व्यवस्थासहित नेपाल बीमा प्राधिकरणले लगानी निर्देशन जारी गरेको छ।
प्राधिकरणले जीवन, निर्जीवन र रिइन्स्योरेन्सका लागि यसअघिको लगानी सम्बन्धी निर्देशन खारेज गर्दै नयाँ निर्देशन जारी गरेको हो।
बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ अनुसार बीमा कम्पनीहरुले प्राधिकरणको पूर्वस्वीकृति लिएर सूचीकृत पब्लिक कम्पनी, कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डार गृह, उर्जा उत्पादन, प्रसारण र वितरण, लगानी कम्पनी शिक्षा र स्वास्थ्यमा लगानी गर्न सक्नेछन्।
इन्स्योरेन्सहरुले यस प्रकारका सहायक कम्पनीमा कुल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म लगानी गर्न सक्ने निर्देशनमा उल्लेख छ।
बीमकले सहायक कम्पनीमा गरेको लगानी रकमलाई क्षेत्रगत लगानीको सीमा गणना गर्दा समावेश गर्नुपर्ने प्रावधान राखेको छ। प्राधिकरणले इन्स्योरेन्सलाई एक दर्जन लगानीको क्षेत्रगत सीमा तोकेको छ।
इन्स्योरेन्सले सहायक कम्पनीमा लगानी गर्दा सहायक कम्पनीको न्युनतम चुक्ता पुँजी प्राधिकरणले तोके अनुसार हुनुपर्नेछ।
प्राधिकरणले तोकेको न्युनतम जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी मार्जिन (१३० प्रतिशत) कायम गरेको, बीमक पछिल्लो तीन वर्षदेखि नाफामा रहेको तथा लगानी गर्नुपूर्व संचित नोक्सानीमा नरहेको, बीमकको नेटवर्थ धनात्मक रहेको, बीमकको संचालक सामितिका अध्यक्ष वा सदस्य वा निजका एकाघरपरिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको व्यवस्था पालना गर्नुपर्ने प्रावधान राखिएको छ।










