काठमाडौं। नेपाल बीमा प्राधिकरणको नीतिगत फेबरपछि इन्स्योरेन्स कम्पनीले सेयर बजारमा लगानी बढाएका छन्।प्राधिकरणले लगानी निर्देशिका संशोधन गरेर सेयर बजारमा लगानीको सीमा बढाएपछि इन्स्योरेन्स कम्पनीले धमाधम लगानी बढाएका हुन्।
जीवन, निर्जीवन र दुई वटा रिइन्स्योरेन्सले गत वर्ष असारसम्म सूचीकृत कम्पनीको सेयरमा ४० अर्ब २२ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन्।
इन्स्योरेन्स कम्पनीले सेयर बजारमा एक वर्षमा ७४.२८ प्रतिशतले लगानी बढाएका हुन्। पोहोर असारसम्म सेयर बजारमा इन्स्योरेन्सको लगानी २३ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो।
जीवन बीमा कम्पनीले मात्रै यसपालि असारसम्म ३० अर्ब ५२ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्। जीवन बीमा कम्पनीले एक वर्षमा ५९.५८ प्रतिशत लगानी बढाएका हुन्। पोहोर असारसम्म जीवन बीमा कम्पनीले सेयर बजारमा १९ अर्ब १२ लाख रुपैयाँ लगानी गरेका थिए।
सेयरमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सले १० अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ। कम्पनीले एक वर्षमा ९१.७१ प्रतिशतले लगानी बढाएको हो। पोहोर असारसम्म हिमालयन लाइफले ५ अर्ब ६६ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो।
हिमालयनले कुल लगानीको १३.७२ प्रतिशत सेयर बजारमा लगानी गरेको हो। असारसम्म कम्पनीको कुल लगानी ७९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। हिमालयन लाइफले सरकारको लगानी रहेको नेपाल रिइन्स्योरेन्सको सेयर लगातार खरिद गरिरहेको छ।
सेयर बजारमा जीवन बीमा कम्पनीको लगानी रु लाखमा
| जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
| हिमालयन | १०८५९७.२१ | ५६६४५.७५ | ९१.७१ |
| नेपाल | ४००१२.२३ | २८०१८.२३ | ४२.८१ |
| सूर्यज्योति | २९२५६.४५ | १२७७१.५२ | १२९.०८ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | २३४२३.७३ | १८२११.३६ | २८.६२ |
| सन नेपाल | १५११४.४१ | ५८६६.१० | १५७.६६ |
| रिलायबल नेपाल | १४७१६.३६ | १०५०६.५२ | ४०.०७ |
| नेसनल | १३३८९.४७ | ५२९९.२८ | १५२.६७ |
| सिटिजन | १२९४३.०९ | २९४५.५३ | ३३९.४१ |
| आइएमई | १२२३७.०३ | ६६४६.१७ | ८४.१२ |
| प्रभु महालक्ष्मी | ११५२९.४१ | ७७०९.५६ | ४९.५५ |
| सानिमा रिलायन्स | ९९०२.३३ | ६७५९.९९ | ४६.४८ |
| एसियन | ८६४३.६७ | ८२८९.५१ | ४.२७ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | ५४६२.६५ | २१५९४.८४ | -७४.७ |
| जम्मा | ३०५२२८.०४ | १९१२६४.३६ | ५९.५८ |
२०८० पुससम्म बीमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेकामा प्राधिकरणले आफ्नो स्वीकृतिमा जति पनि लगानी गर्न पाउने गरी निर्देशिका संशोधन गरिदिएपछि बीमा कम्पनीलाई दोस्रो बजारमा आक्रामकरुपमा सेयर किन्ने बाटो खुला भएको हो।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवालले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी निर्देशिका संशोधन गर्दै इन्स्योरेन्सले स्वीकृति लिएर तोकिएको सीमाभन्दा बढी रकम बजारमा लगानी गर्न पाउने व्यवस्था गरेका थिए।
इन्स्योरेन्सले लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने व्यवस्थालाई समेत संशोधन गरेर १५ प्रतिशत पुर्याइएको थियो। जसका कारण रणनीतिकरुपमा नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गरिरहेको हिमालयन लाइफलाई फेबर भएको प्राधिकरणकै अधिकारीहरु बताउँछन्।
‘हिमालयन लाइफ र अरु केही कम्पनीको लगानीको पोर्टफोलियो बढ्दै गएपछि निर्देशन संशोधन गरिएको हो। अध्यक्षकै चाहना अनुसार लगानीको सीमा बढाएर प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको थियो,’ एक अधिकृतले भने, ‘हिमालयन लाइफले अहिले आक्रामकरुपमा लगानी बढाउनुले स्वार्थ अनुसार नै निर्देशिका हेरफेर गरेको पुष्टि भएको छ।’
हिमालयन लाइफमा लगानी रहेको समूहको हिमालयन रिइन्स्योरेन्समा लगानी छ। हिमालयन रिइन्स्योरेन्सले समेत सेयर बजारमा आक्रामकरुपमा लगानी गरिरहेको छ।
सेयर बजारमा निर्जीवन बीमा कम्पनीको लगानी रु लाखमा
| निर्जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
| राष्ट्रिय | ७९४१.८८ | ७९४१.८८ | ० |
| सगरमाथा लुम्बिनी | ७१०९.६६ | ५,०२८.३९ | ४१.३९ |
| नेको | ५४१७.९४ | ५५०६.०७ | -१.६ |
| सिद्धार्थ प्रिमियर | ५०७६.१२ | ४५३१.४१ | १२.०२ |
| आइजीआई प्रुडेन्सियल | ४७७६.८४ | ४३२५.२३ | १०.४४ |
| सानिमा जीआईसी | ३४४४.११ | ८८३.५९ | २८९.७९ |
| हिमालयन एभरेष्ट | २८१२.८७ | २९३१.९३ | -४.०६ |
| नेपाल | २१८८.४७ | ७३२.१२ | १९८.९२ |
| शिखर | २१४०.४८ | १,३९२.९० | ५३.६७ |
| युनाइटेड अजोड | २०३०.६४ | १६३५.५१ | २४.१६ |
| प्रभु | १२७९.६८ | ३२८६.३६ | -६१.०६ |
| एनएलजी | – | ४०९.९१ | -१०० |
| जम्मा | ४४२१८.६९ | ३८६०५.३ | १४.५४ |
हिमालयन रिइन्स्योरेन्सले एक वर्षमा सेयर बजारमा लगानी पाँच गुणा अर्थात ५ अर्ब १८ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ। पोहोर असारसम्म कम्पनीले सेयर बजारमा १ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो।
हिमालयन रिइन्स्योरेन्सले कुल लगानीको २५.५६ प्रतिशत सेयर बजारमा लगानी गरेको हो। कम्पनीको कूल लगानी २० अर्ब ३० करोड रुपैयाँ छ।
निर्जीवन बीमा कम्पनीले सेयर बजारमा ४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन्। उनीहरुले एक वर्षमा १४.५४ प्रतिशतले बढाएका हुन्। निर्जीवन बीमा कम्पनीले पोहोर असारसम्म सेयर बजारमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका थिए।
बैंकहरुको ब्याजदर निरन्तर ओरालो लागेका कारण मुद्दती निक्षेपको पैसा सेयर बजारमा लगानी गरिरहेको बिमकहरु बताउँछन्। ‘बैंकको ब्याजदर घटेका कारण बजारमा लगानी बढाएका हौं। लगानी गर्न त्यसबाहेक अरु ठाउँ छैन। रेट घट्दा यसपटक ब्यालेन्स सिटमा समेत असर देखिएको छ,’ एक जीवन बीमा कम्पनीका सीइओले भने।










