विराटनगर। प्लाइउड व्यवसायीहरुले नेपाल-भारतबीचको व्यापारमै असर पर्ने गरी बदमासी गरेका छन्। नेपाली उद्योगीले आफ्नो उत्पादन भारतमा बिकाउन मेड इन इण्डिया लेखेर पठाएको भेटिएको छ। उद्योगीबाट भएको यो बदमासीले नेपाल-भारतबीच निकासी हुने अरु वस्तुमा समेत गम्भीर असर पर्नेछ।
साउन दोस्रो हप्तादेखि काँकभिट्टापारिको पानीटंकी भन्सारमा रोकेर राखेका नेपाली व्यवसायीका प्लाइउडका ८ वटा ट्रक भारतको वाणिज्य विभागले जफत गरेको छ।
विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)को मद्दतमा प्लाइउडका ९ वटा ट्रक रोकेकामा ८ वटा ट्रक जफत गरेको हो।
विभागले केही समस्या नदेखिएको भन्दै एउटा ट्रक भने निर्यातका लागि छोडिदिएको छ।
विभागले नेपालका उद्योगले पठाएका ८ वटा ट्रकका प्लाइउडमा मेड इन इन्डिया लेखिएको र बीआइएस पाएका उद्योगले नपाएका उद्योगको उत्पादन पठाएको भन्दै ८ वटा ट्रकसहित सामान पनि जफत गरेको हो।
काँकडभिट्टास्थित मेची भन्सारका प्रमुख हरिहर पौडेलले विभागले ट्रकसहित सामान जफत भएको पुष्टि गरे।
‘आजै मध्याह्न हामीलाई यो समाचार प्राप्त भएको छ’, प्रमुख पौडेलले भने, ‘क-कसको सामान परेको छ भनेर हामी अध्ययन गर्दैछौं। यसबारेमा हामीले मेची उद्योग वाणिज्य संघलाई पनि खबर गरिसकेका छौं। उहाँहरूलाई छलफलका लागि बोलाएका थियौं। तर कोही पनि आउनु भएन।’
भारतीय बजारमा नेपाली प्लाइउडको गुणस्तरलाई लिएर प्रश्न उठेपछि केही उद्योगीहरुले मेड इन इण्डिया लेखेर पठाउन खोज्दा दुई देशको व्यापारमै समस्या निम्तिने अवस्था बनेको हो।

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले निर्यातका लागि पठाइएको ट्रकमा मेड इन इन्डिया लेखिएको फोटो आफूले पनि पाएको बताए।
उनले गलत तरिकाले व्यवसाय गर्ने व्यवसायी कारबाहीको भागीदार हुनुपर्ने भन्दै सही ढंगले आयात निर्यात गर्ने व्यवसायीलाई यसकोे घानमा पार्न नहुने बताए।
‘यो उहाँहरूको व्यक्तिगत कुरा हो। उहाँहरूको गल्ती हुनसक्छ। यही कारण अरू व्यवसायीलाई पीडित बनाइनु हुँदैन,’ घिमिरेले भने।
मेची भन्सार कार्यालयका अनुसार जफत भएका ८ ट्रकमध्ये ३ वटा झापाको सावरिया प्लाइ, २ वटा दाङको गणपति प्लाइ, २ वटा झापास्थित अम्बे भवानी प्लाइका हुन। झापा प्लाइको पनि १ ट्रक जफतमा परेको छ।
झापा प्लाइका सञ्चालक आनन्द खड्काले आफूले पठाएको प्लाइउडमा मेड इन इन्डिया लेखिएको स्वीकार गरे।
‘निर्यात भएर जाने सामानमा जे छाप लगाए पनि के भयो र?,’ उनले भने, ‘पहिलेदेखि नै चलिआएकै हुँदा मैले प्लाइउडमा मेड इन इन्डिया लेखेको छाप लगाएको हुँ।’
एक उद्योगीका अनुसार महेश चित्लाङ्गियाको अम्बे भवानीले पठाएका २ ट्रक प्लाइमध्ये एक ट्रक विष्णु माधवगाडियाको भगवती लेमिनेट्सको हो। अम्बे भवानीले बीआईएस पाएको छ भने भगवतीले छैन।
भारतका उद्योगी र सञ्चारमाध्यमले नेपालबाट बीआईएस पाएका उद्योगले नपाएका उद्योगको उत्पादन पठाएको भन्दै विरोध गर्दै आएका छन्।
यही विरोधलाई साम्य पार्न र त्यहाँका उद्योगीलाई फकाउन चित्लांगिया र माधवगाडियाले गत असारमा हरियाणा राज्य पुगेर त्यहाँका उद्योगीसँग लन्च बैठक गरेका थिए।

उनीहरूले भारतीय उद्योगीलाई रिझाउन अबदेखि गल्ती नगर्ने बताए पनि बानी नसुधारेका कारण समग्र आफूहरुमाथि पनि प्रश्न उठ्ने अवस्था बनेको भन्दै अरु प्लाइ उद्योगी असन्तुष्ट बनेका छन् ।
दाङस्थित गणपति प्लाइमा २०८१ चैत ११ गते ठूलो आगलागी भएको थियो। उद्योगका सञ्चालक आगलागीबाट सबै कच्चा पदार्थ र तयारी वस्तु नष्ट भएको भन्दै ३० करोडभन्दा बढी रकमको बीमा दाबी गरेर काठमाडौँमा विभिन्न निकायमा धाइरहेका छन्।
दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीका अनुसार गेहेन्द्र बस्नेतको गणपति प्लाइ उद्योग अझैसम्म सञ्चालन हुन सकेको छैन। सञ्चालनमा आउन अझै केही समय लाग्छ।
बीआईएस पाएको उद्योग भए पनि आगलागीमा सबै तयारी वस्तु नष्ट भएको उद्योगले निर्यात कसरी गर्यो भन्ने प्रश्न उठेको छ। गणपतिले २ वटा ट्रकमा पठाएको प्लाइउड झापाको जय कामाख्या प्लाइको भएको दाबी स्थानीय उद्योगीले गरेका छन्।
त्यसैगरी अशोक रुङ्गटाको सावरिया प्लाइले पठाएका ३ ट्रकमध्ये एउटा मात्र उसको हो । बाँकी २ ट्रकमा रहेका प्लाइउड अरविन्द मित्तलको जगदम्बा प्लाइ उद्योगको हो।
भारतीय वाणिज्य विभागले ४ वटै उद्योगका सञ्चालकलाई बोलाएर सोधपुछ गरेको छ।
भारतले ८ ट्रक प्लाइउड जफत गरेसँगै अब नेपालको बार्गेनिङ क्षमता कमजोर भएको भन्दै अन्य प्लाइ उद्योगी चिन्तित देखिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ अन्तिममा भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा प्लाइ उद्योगको बीआईएस पनि एजेन्डामा छ।
संघका कोशी प्रदेश अध्यक्ष एवम् ओम उडका सञ्चालक सीताराम अग्रवालले कुनै उद्योगले गलत गरेका आधारमा अरू उद्योगलाई अप्ठ्यारोमा पार्न नहुने बताए।
मेची भन्सारका अनुसार घटना भएपछि साउनको मध्यदेखि नै त्यस नाकाबाट प्लाइउडको निर्यात हुन सकेको छैन।










