भारतमा चर्चित टाटाको प्रिमियम इभी ‘ह्यारियर’ कस्तो छ? ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी

बिजमाण्डू
२०८२ असार ५ गते १३:४५ | Jun 19, 2025
भारतमा चर्चित टाटाको प्रिमियम इभी ‘ह्यारियर’ कस्तो छ? ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी

काठमाडौं। विद्युतीय सवारीको बजारमा नयाँ नयाँ मोडल ल्याउने होडसँगै टाटाले ल्याएको ‘ह्यारियर’ यतिबेला चर्चामा छ। भारतीय बजारमा चर्चामा रहेको ‘मेड इन इन्डिया’ ह्यारियर इभी प्रिमियम र धेरै प्रकारका फिचरयुक्त गाडी मानिएको छ।

Tata
GBIME

ह्यारियर इभीले बजारमा महिन्द्रा बीई०५ जस्ता प्रतिस्पर्धीलाई कडा चुनौती दिने देखिएको छ। टाटाको यो नयाँ गाडीमा बेस्ट रेन्ज, हाइ पर्फर्मेन्स र अत्याधुनिक प्रविधिहरुको संयोजन छ।

ह्यारियर इभीको डिजाइन आइसी इन्जिन ह्यारियर जस्तै बोल्ड र आकर्षक छ। तर, यसमा इभीसँग सम्बन्धित डिजाइनहरु छन्। जस्तै एलइडी लाइट बार, क्लोज्ड ग्रील र मोडर्न लाइनिङ प्याटर्न यसमा पछ्याइएको छ। २० इन्चको री-डिजाइन एलोय ह्वीलले यसको लुक्सलाई अझ प्रिमियम बनाएको छ।

भित्रपट्टि १४.५ इन्चको सामसुङ नियो क्युएलइडी इन्फोटेन्मेन्ट स्क्रिन छ, जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ। १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पनि यसमा छ। साथै ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा जसमा ‘ट्रान्सपरेन्ट मोड’ अर्थात गाडी मुनिको भाग हेर्न सकिने क्यामेरा दिइएको छ। डिजिटल रियर-भ्यू मिररले पछाडिको क्लियर भिजन प्रदान गर्छ र ड्यासक्यामको रुपमा पनि काम गर्छ।

ई-भ्यालेट र सुम्मोन मोड जस्ता हाइटेक्नोलोजी भएको फिचरहरुले गाडीलाई रिमोटबाट पार्क गर्न वा आफ्नो नजिक बोलाउन मद्दत गर्छ।

प्यानोरामिक सनरुफ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, मेमोरी फङ्सनसहितको पावर-एडजस्टेबल ड्राइभर सिट र अगाडिको यात्रु सिटमा बोस मोड जस्ता सुविधाहरु छन्।

डल्बी एटमससहितको जेबीएलको साउन्ड सिस्टम भएको १० वटा स्पिकर यसमा छन्। वायरलेस फोन चार्जर र ६५ वाट क्षमताको युएसबी टाइप सी चार्जिङ पोर्टहरु यसमा उपलब्ध छन्।

यसमा ७ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ३६०-डिग्री क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) लगायतका सुरक्षा फिचरहरु पनि छन्।

यसमा लेभल-२ एडास अर्थात एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम पनि यसमा छ। यसभित्र लेन किपिङ असिस्ट, क्रूज कन्ट्रोल र फरवर्ड कोलिजन सिस्टम लगायतका सुविधाहरु छन्। साथै अटो पार्क असिस्ट पनि यसमा छ।

पावरट्रेन र ड्राइभिङ मोडहरु

इभीको बजार परीक्षण गर्दै प्रयोगकर्ताले रुचाउने डिजाइन ल्याउन अनुसन्धान गरिरहेको टाटाले ल्याएको ह्यारियर इभी प्रिमियम एसयुभी हो। यसमा दुई वटा ६५ र ७५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। टाटा मोटर्सले ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी दिने घोषणा गरेको छ, जसले ग्राहकहरुलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ।

७५ किलोवाट आवर क्षमताको ब्याट्री भएको अल ह्वील ड्राइभ संस्करणको एआरएआई एजेन्सीले प्रमाणित गरेको रेन्ज ६२२ किलोमिटर र रियल टाइम रेन्ज ४८०-५०५ किलोमिटरसम्मको दाबी गरिएको छ।

१५ मिनेटको फास्ट चार्जिङमा २५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ। जसलाई १२० किलोवाट क्षमताको चार्जर प्रयोग गर्दा २०-८० प्रतिशत चार्ज गर्न २५ मिनेटको समय लाग्छ।

यो गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.३ सेकेन्डमा प्राप्त गर्न सक्छ।

यसमा विभिन्न ड्राइभ मोडह बुस्ट, स्पोर्ट्स, सिटी, इको र ६ वटा अन्य टेरेन मोडहरु नर्मल, स्नो/ग्रास, मड-रट्स, स्यान्ड र रक क्रावल छन्, जसले विभिन्न भू-भागमा चलाउन सजिलो बनाउँछ। साथै ड्रिफ्ट मोड पनि उपलब्ध छ।