काठमाडौं। संसद्मा ऊर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्नुपर्ने माग उठेको छ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले लोडसेडिङ हुन्छ भनेर जनतालाई आतंकित पार्ने तथा दलाल र बिचौलियालाई पोसेर नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षडयन्त्रमा लागेको भन्दै मन्त्री खड्कालाई तत्काल बर्खास्त गर्न माग गरेकी हुन्।
‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले लोडसेडिङ हुँदैन भनिरहेको अवस्थामा ऊर्जामन्त्रीले पुन: लोडसेडिङ हुन्छ भनेर जनतालाई आतंकित पार्ने, दलाल र बिचौलियालाई पोस्ने र विस्तारै नाफामा गएको नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षडयन्त्रमा लागेकाले उहाँलाई तत्काल बर्खास्त गरियोस्,’ उनले भनिन्।
ऊर्जामन्त्री खड्काले बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा साँझको समयमा घरघरमा लोडसेडिङ हुने बताएका थिए।











