साढे ५ खर्बको जलविद्युत आयोजनाको ५१% सेयर बेच्न सूचना, लाइसेन्स किन्न को हुन्छ तयार?

जनक वली
२०८१ मंसिर २३ गते १८:२९ | Dec 8, 2024
साढे ५ खर्बको जलविद्युत आयोजनाको ५१% सेयर बेच्न सूचना, लाइसेन्स किन्न को हुन्छ तयार?

काठमाडौं। ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनीले दुई ठूला जलविद्युत आयोजना मुगु कर्णाली र किमाथांका अरुणको सेयर बेच्न सार्वजनिक सूचना निकालेको छ। कम्पनीको अध्यक्ष ऊर्जा सचिव सुरेश आचार्य हुन्।

Tata
GBIME
NLIC

मन्त्रालय उच्च स्रोतका अनुसार ऊर्जामन्त्री दीपक खड्काको सल्लाहमा आचार्यले सार्वजनिक-निजी साझेदारी(पीपीपी) मोडलमा ५१ प्रतिशत सेयर बेच्न सूचना निकाल्न लगाएका हुन्।

पीपीपी मोडलमा जलविद्युत आयोजनामा लगानी गर्न खोजिएको यो पहिलो पटक हो। यी दुई आयोजना ५ खर्ब ६० अर्ब रुपैयाँ बराबरका हुन्। स्रोतका अनुसार किमाथांका अरुणमा एउटा व्यापारिक घराना लगानी गर्न ईच्छुक छ।

‘मन्त्रीज्यूकै चाहनामा कम्पनीले सेयर बिक्रीका लागि सूचना निकालेको हो। केही व्यापारिक समूहले किमाथांकामा ईच्छा देखाएका कारण यसरी सूचना आएको हो,’ मन्त्रालयका एक कर्मचारीले बिजमाण्डूसँग भने।

उनका अनुसार त्यही भएर कम्पनीले निकालेको सूचनामा ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार संरचना सम्बन्धी आयोजनामा गरिएको स्वपुँजी लगानीको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको हो। ‘विशेष प्रकृतिको व्यवसाय गरिरहेको भनेर सूचना निकाल्नुको पछाडि त्यही समूहलाई दिनका लागि हो,’ ती कर्मचारीले भने,’ यति ठूला परियोजनाका लागि जम्मा १५ दिनको समय दिनुको कारण पनि त्यही हो।’

जनार्दन शर्माको पालामा स्थापना भएको कम्पनीले यी दुई जलविद्युत आयोजनाको लाइसेन्स लिएको करिब ६ वर्ष भएको छ। कम्पनीले दुई आयोजनाको सर्वे सकेर उत्पादन अनुमतिका लागि आवेदन दिएको छ। किमाथांका जलविद्युत आयोजना एमाले नेतृ राधा ज्ञवालीले आफू ऊर्जामन्त्री भएका बेला चिनियाँ कम्पनीलाई दिन खोजेकी थिइन्। चीनसँगको सीमा नजिक नजिक रहेकाले चिनियाँले लिन खोजे पनि सम्भव भएन।

कम्पनीका वरिष्ठ इन्जिनियर नवीन पौडेलले सार्वजनिक-निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढाउन आशयपत्र मागेको बताए।

‘कार्यविधिमा नै निजी क्षेत्रसँगको साझेदारीमा आयोजनामा लगानी जुटाउने उल्लेख छ। त्यही अनुसार हामीले साझेदारी गर्न इच्छुकहरुसँग आशयपत्र मागेका हौं,’ पौडेलले भने, ‘दुवै आयोजनामा स्वदेशी क्षमता अभिवृद्धि र स्थानीय लगानीलाई प्रोत्साहित गर्ने उद्देश्य छ।’

आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम कम्पनीले आशयपत्र मागेको हो।

मुगु कर्णाली १ हजार ९०२ र किमाथांका अरुण ४४५ मेगावाट क्षमताका जलविद्युत आयोजना हुन्। मुगु कर्णाली जलाशययुक्त्त जलविद्युत आयोजना निर्माण गर्न ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यस्तै किमाथांका अरुण अर्धजलाशययुक्त आयोजनाको अनुमानित लागत ९३ अर्ब ८० करोड रुपैयाँ छ।

दुवै आयोजना सार्वजनिक-निजी साझेदारीमा मोडेलमा निर्माण गर्ने योजना रहेको र त्यही अनुसार स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी गर्न इच्छुकसँग आशयपत्र मागेको पौडेलले बताए। दुवै आयोजनामा स्वपुँजी र ऋण लगानीको अनुपात २५:७५ हुनेछ।

जस अनुसार इच्छुक लगानीकर्ताले मुगु कर्णालीमा कम्तिमा ५८ अर्ब ६५ करोड र किमाथांका अरुणमा ११ अर्ब ९५ करोड रुपैयाँ रुपैयाँ स्वपुँजी लगानी गर्नुपर्नेछ।

कम्पनीका अनुसार स्वपुँजीको कम्तिमा ५१ प्रतिशत लगानी गर्न चाहने नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थाले आशयपत्र पेस गर्न सक्नेछन्।

मुगु कर्णाली आयोजना

मुगु कर्णाली जलाशययुक्त्त जलविद्युत आयोजनामा सम्भाव्यता अध्ययन अहिले अन्तिम चरणमा छ। एनइए इन्जिनियरिङ कम्पनीले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ।

बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकार्त्तिक खापर गाउँपालिकाबीच भएर बहने कर्णाली नदीको पानीबाट विद्युत उत्पादन गर्ने योजना छ। बिजुचौर भन्ने २८३ अग्लो पहाडमा मुख्य संरचना रहने गरी आयोजना निर्माण गर्ने भनिएको छ। आयोजनाको जलाशय मुगु र हुम्लाको करिब ४५ किलोमिटर भूभागमा रहने छ।

मुगु कर्णाली जलविद्युत आयोजनाको लेआउट

आयोजनाबाट वार्षिक ६२९१.०८ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। आयोजनाको ग्रस हेड २७६ मिटर र नेट हेड २७१ मिटर हुनेछ। आयोजनाबाट उत्पादन हुने बिजुली करिब ४० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट सब-स्टेसनमा जोडिनेछ। फुकोट सब-स्टेसन निर्माण गर्नै बाँकी छ। यो सब स्टेसन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न प्रस्ताव गरेको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा छ। आयोजना निर्माण गर्न १० वर्ष लाग्ने अनुमान गरिए पनि सम्भाव्यता अध्ययनको काम नसकिएकाले यकिन भइसकेको छैन।

किमाथांका अरुण कस्तो आयोजना ?

अर्धजलाशययुक्त प्रकृतिको यो आयोजना संखुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माण गरिने छ। आयोजनाबाट वार्षिक २५५२.१६ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।

आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम स्वीकृतिको चरणमा छ। आयोजनाका लागि आवश्यक जग्गा अधिग्रणका लागि सूचना निकालिएको छ भने आवास गृह बनाउन ठेक्का लगाइसकेको वरिष्ठ इन्जिनियर पौडेलले जानकारी दिए। उनका अनुसार विद्युत खरिद बिक्री सम्झौता (पीपीए)का लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

आयोजनाबाट वार्षिक पिक इनर्जी ४८५.९३ गिगावाट घण्टा र वार्षिक अफ पिक इनर्जी २७९.२८ गिगावाट आवर उत्पादन हुने अनुमान छ। आयोजनाको ग्रस हेड ३७९.५२ र नेट हेड ३६७.५५ मिटर हुनेछ।

आयोजनाको पावर हाउस भूमिगत हुनेछ। आयोजनाको हेडवर्क्स आरसीसी गरेर बनाइनेछ। नदीको फाउण्डेसनबाट १४० मिटर अग्लो बाँध बाधेर ५.९ किलोमिटर लामो सुरुङमार्ग हुँदै ३६० मिटर उचाईबाट पानी खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजनामा चारवटा टर्बाइन युनिटबाट विद्युत उत्पादन हुनेछ।

आयोजनाको प्रति किलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ। इन्टर्न रेट अफ रिटर्न १३.५८ प्रतिशत छ। रिटर्न अन इक्विटी (आरओइ) १६.८२ प्रतिशत छ। यो आयोजना निर्माण थालेको ५ वर्षमा सक्ने योजना छ।

किमाथांका अरुण आयोजनाको लेआउट

आयोजनाबाट उत्पादन हुने विद्युत १८.५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरेर हैटार सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ। तिङ्ला-सुनकोशी-ढल्केबर ४ सय केभीको प्रसारण लाइन निर्माण हुँदैछ। इनरुवादेखि शितलपाटीसम्म २२० केभीको प्रसारण लाइन निर्माण भइसकेको छ।

यो आयोजनाभन्दा तल नेपाल विद्युत प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण बनाउँदैछ। त्यसभन्दा तल भारतीय कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो बनाइरहेको छ। प्राधिकरणले माथिल्लो अरुण बनाउने भएकाले बाटोका लागि समस्या हुनेछैन।

काठमाडौंदेखि किमाथांका अरुण हेडवर्क्स साइटको दूरी ६६५ किलोमिटर छ। आयोजना क्षेत्र खाँदबारीबाट ७८ किलोमिटर टाढा पर्छ।