
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणाले जलविद्युत आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयातमा सहजीकरण गर्ने आश्वासन दिएकी छन्।
उनले बिहिबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुलाई जलविद्युत आयोजनामा नभइ नहुने विस्फोटक पदार्थको आयात सहज गर्न आफ्नो तर्फबाट पूरै प्रयास गर्ने आश्वासन दिएकी हुन्। इप्पानका पदाधिकारी राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए।
विस्फोटक पदार्थको आयात असहज हुँदा आयोजनाको लागत बढ्न गएको बताए। उनले विस्फोटक पदार्थको अभावमा आयोजनाको अवधि लम्बिएको र समयमा निर्माण सम्पन्न नहुँदा नेपाल विद्युत प्राधिकरणलाई पेनाल्टी तिर्नुपर्ने अवस्था रहेको बताए।
इप्पानका अनुसार जलविद्युत आयोजनाका लागि अहिले मासिकरुपमा ४०० मेट्रिक टन विस्फोटक पदार्थको आवश्यकता छ। भारतबाट सहजरुपमा विस्फोटक पदार्थ नआउँदा निर्माणाधीन १८३ मध्ये १२० वटा आयोजना प्रभावित छन्। निजी क्षेत्रले अहिले ४ हजार मेगावाट बराबरका आयोजना निर्माण गरिरहेको छ।
भारतले पछिल्लो दुई वर्षदेखि अति कम मात्रामा मात्रै विस्फोटक पदार्थ आयात गर्न दिइरहेको छ।
इप्पानले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्न ठूलो लगानीको खाँचो रहेको भन्दै विदेशी लगानी भित्र्याउनका लागि पहल गर्न पनि मन्त्री राणासँग आग्रह गरेको छ।
मन्त्री राणाले विदेशीहरुले ऊर्जा र पर्यटनमा लगानी गर्न धेरै नै चासो देखाएको भन्दै मन्त्रालयमा अब ‘इकोनोमिक डिप्लोमेसी’ शाखा स्थापना गर्ने बताइन्।