
काठमाडौं। नेपालले भारतमा निर्यात गर्ने बिजुलीको परिमाण बढाउँदै लगेको छ। ६९० मेगावाट बिजुली निर्यातका लागि भारतबाट अनुमति पाएको नेपाल विद्युत प्राधिकरणले वर्षायाम लागेपछि उत्पादन बढेर भारतमा पठाउने परिमाण बढाउँदै लगेको हो।
प्राधिकरणले अहिले दैनिक ५०० मेगावाट बिजुली भारतलाई बेच्दै आएको छ।
भारतीय बजारमा प्राधिकरणले दैनिक अधिकतम् ६०० मेगावाटसम्म बिजुली बेच्दै आएको छ। न्यूनतम् ३०० मेगावाट पनि निर्यात हुनु गरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
प्राधिकरणले एक दिन पहिले नै ‘विड’ मा राखेर निर्यात गर्ने बिजुलीको मूल्य निर्धारण गर्छ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड–एनभीभीएनलाई प्राधिकरणले बिक्री गर्दै आइरहेको छ। प्राधिकरणले भारतको प्रतिस्पर्धी बजारमा बिजुली निर्यात गर्न थालेको ३ वर्ष भएको छ।
वर्षायाममा निर्यात गर्ने गरेको प्राधिकरणले हिउँदको माग धान्न भने भारतबाटै ल्याउनुपर्ने बाध्यता छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको बिजुली आयात गरेकामा भारतलाई १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको बिजुली बेचेको छ। आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ बढीको निर्यात गरी प्राधिकरण खुद निर्यातकर्ता बनेको छ।
बिजुली आयात/निर्यातको अवस्था
आर्थिक वर्ष | आयात | निर्यात |
२०७८/२०७९ | १५ अर्ब ४३ करोड | ३ अर्ब ९४ करोड |
२०७९/२०८० | १९ अर्ब ४४ करोड ४० लाख | १० अर्ब ४५ करोड ५० लाख |
२०८०/२०८१ | १६ अर्ब ८१ करोड ३ लाख | १६ अर्ब ९३ करोड २६ लाख |
कुन आयोजनाको कति मेगावाट निर्यात?
प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट ६२० र महेन्द्रनगर टनकपुर प्रसारण लाइनबाट ७० मेगावाट निर्यात गर्ने अनुमति पाएको छ। प्राधिकरणसँग भारतले अहिले १६ वटा जलविद्युत आयोजनाको बिजुली किन्ने गरेको छ। ती आयोजना भारतले आफैंले छनोट गरेको हो।
भारतले बिजुली लाने गरेका आयोजना कुन कुन हुन् त?
प्राधिकरणका अनुसार भारतले बिजुली लाने सबैभन्दा ठूलो आयोजना कालीगण्डकी ए हो। यो आयोजनाबाट उत्पादित १४० बिजुली प्राधिकरणले अहिले भारत पठाउने गरेको छ। सोलु खोला (दुधकोशी) अर्को ठूलो जलविद्युत आयोजना हो। ८३.४२ मेगावाट क्षमताको आयोजनाको बिजुली पनि भारतले किनिरहेको छ।
प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत त्रिशुली, देवीघाट, मर्स्याङ्दी, कालिगण्डकी ए, मध्य मर्स्याङदी , चिलिमे, लिखु ४, सोलु खोला (दुधकोशी), काबेली बी १, तल्लो मोदी, अप्पर दोर्दी ए, अप्पर बलेफी ए, दोर्दी खोला र सोलु खोला जलविद्युत आयोजनाको बिजुली भारतलाई बेचिरहेको छ।
प्राधिकरणले भारतमा विद्युत निर्यात गरिरहेका आयोजना र तिनको क्षमता
आयोजनाको नाम | निर्यात विद्युत (मेगावाटमा) |
त्रिशुली | २३.२८ |
देवीघाट | १४.५५ |
चिलिमे | २१.४४ |
सोलु खोला | २२.८० |
मर्स्याङ्दी | ६७ |
कालीगण्डकी ए | १४० |
मध्य मर्स्याङ्दी | ६८ |
लिखु–४ | ५१ |
माथिल्लो दोर्दी ए | २४.२५ |
काबेली बी १ | २४.२५ |
तल्लो मोदी | १९.४० |
माथिल्लो बलेफी ए | ३४.९२ |
माथिल्लो कालङ्गाढ | ३२.७० |
माथिल्लो चमेलिया | ३७.३० |
दोर्दी खोेला | २६.१९ |
सोलु खोला (दुधकोशी) | ८३.४२ |
महेन्द्रनगर–टनकपुर प्रसारण लाइनबाट माथिल्लो कालङ्गाड र माथिल्लो चमेलियाको बिजुली निर्यात गरिंदै आएको छ।
थप ४०० निर्यात गरिंदै
प्राधिकरणका अनुसार २ महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा २५५ मेगावाट बिजुली थपिंदै छ। प्राधिकरणले निर्माण गरिरहेको सान्जेन जलविद्युत आयोजनाबाट ४२.५, मध्य–भोटेकोशी जलविद्युत आयोजनाबाट १०२ र रसुवागढी जलविद्युत आयोजनाबाट १११ मेगावाट बिजुली थपिन लागेको हो। थपिएको बिजुली सकेसम्म आन्तरिक बजारमा खपत गराउने र बचेको भारतलाई बच्ने प्राधिकरणको योजना छ।
प्राधिकरणले थप ५०० मेगावाट विद्युत निर्यातका लागि भारतसँग अनुमति मागेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ४०० मेगावाट निर्यातका लागि स्वीकृतिको चरणमा रहेको जानकारी दिए। ‘वर्षा लागेपछि उत्पादन बढेको छ। नयाँ आयोजनाको बिजुली पनि थपिंदैछ। त्यही कारण हामीले थप बिजुली निर्यातका लागि भारतसँग अनुमति मागेकामा ४०० मेगावाट स्वीकृतिको चरणमा छ,’ उनले भने।