
ऊर्जामन्त्री खड्कासँग इप्पानले राख्यो ८ बुँदे मागः मन्त्रीले भने, ‘छिटो छरितो र गुणस्तरीय काम गर्नुस्’
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासमक्ष ८ बुँदे माग राखेको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकास क्रममा निजी क्षेत्रको साथ र सहयोग रहेको बताउँदै सरकारबाट न्यूनतम माग सम्बोधन हुनुपर्ने बताए।
बाढी प्रभावित आयोजनाले एक वर्षसम्म पनि सहुलियत नपाएको स्मरण गराउँदै अध्यक्ष कार्कीले काबुबाहिरको परिस्थितिमा आयोजनाको व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने म्याद र उत्पादन अनुमति पत्रको अवधि पनि थप गरिदिन आग्रह गरे। अनुमति पत्रको अवधि पाँच वर्ष पुर्याउन उनले आग्रह गरे।
इप्पानका महासचिव बलराम खतिवडाले टेक अर पे सिद्धान्तमा पीपीए गरिए पनि प्राधिकरणले प्रसारण लाइनको कारण देखाउँदै कन्टिन्जेन्सी पीपीएमा हस्ताक्षर गर्न लगाएर वर्षौँसम्म विद्युत् खरिद नगरेकामा मन्त्री खड्काको ध्यानाकर्षण गराए। यस्तो व्यवस्था नै खारेज गर्न उनले आग्रह गरे।
मन्त्री दीपक खड्काले निजी क्षेत्रका मागबारे मन्त्रालयमा छलफल गर्ने बताए। निजी क्षेत्रले छिटो छरितो र गुणस्तरीय काम गर्दै आयोजनाको विकास गर्नुपर्नेमा उनले जोड दिए।