बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु नभएपछि बालुवाटार पुगे गोरखा र धादिङका सांसद

बिजमाण्डू
२०८१ असार ४ गते १६:४८ | Jun 18, 2024
बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु नभएपछि बालुवाटार पुगे गोरखा र धादिङका सांसद


काठमाडौं। १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम सुरु नगरेकामा असन्तुष्टि जनाउँदै धादिङ र गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

GBIME
Tata

नेपाली कांग्रेसका गोरखा-२ बाट निर्वाचित राजेन्द्र बजगाई, धादिङ-२ बाट निर्वाचित रामनाथ अधिकारी, राष्ट्रियसभा सदस्य कमला पन्त र किरणबाबु श्रेष्ठ तथा राप्रपाका सांसद बुद्धिमान तामाङ र बिना लामाले प्रधानमन्त्रीलाई भेटेर असन्तुष्टि पोखेका हुन्।

उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम तत्काल सुरु गर्न र आयोजनाबाट विस्थापितहरुको पुर्नवासको क्षेत्र तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री दाहालले चाँडै नै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको कांग्रेस सांसद बजगाईले जानकारी दिए।

‘हामीले आयोजना निर्माणमा किन ढिलाइ भइरहेको हो? प्रभावित क्षेत्रका नागरिकको पुर्नवासका लागि क्षेत्र किन नतोकेको? आयोजना कुन मोडेलमा बनाउने हो? लगायत जिज्ञासा राख्यौं,’ बजगाईले भने, ‘हाम्रो चासोपछि प्रधानमन्त्रीले फोन गरेर ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग भोली नै बैठक राख्न निर्देशन दिनुभयो।’

आयोजना अगाडि बढाउन भनेर सरकारले कम्पनी खोल्नुका साथै शिलान्यास गरे पनि निर्माणको काममा सिन्को पनि भाँचिएको छैन।