
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको तिक्तताका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी अप्ठेरोमा परेका छन्।
वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, एमालेले विश्वासको मत नदिने अडान लिएपछि सोडारी अप्ठेरोमा परेका हुन्।
मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। सोडारीलाई मुख्यमन्त्री बनाउन पनि एमालेले आनाकानी गरेको थियो। तर, अन्तिममा एमालेले सोडारीलाई समर्थन गरेको थियो।
विश्वासको मतबारे छलफल गर्न सुदूरपश्चिम एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल शनिबार राति ओलीलाई भेटन बालकोट पुगेका थिए। ओलीले तत्काल विश्वासको मत नदिन रावललाई निर्देशन दिएका थिए।
यसअघि विश्वासको मत लिन दुईपटक प्रदेशसभा बैठक आह्वान भएकोमा दुवैपटक एमाले सांसद नआउने भएपछि स्थगित भएको थियो। एमालेको समर्थन बिना सोडारीलाई सत्ता टिकाउन ग्राहो छ।
५२ सदस्यीय प्रदेश सभामा सोडारीलाई विश्वाको मतका लागि २७ जनको मत चाहिन्छ। माओवादी केन्द्रका ११, एमालेका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तका ७ जना सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री बनेका थिए।