नगर प्रमुख थापाको ५ वर्षमा सवा ५ करोड अवैध कमाइ, अख्तियारले दायर गर्‍यो मुद्दा

बिजमाण्डू
२०८० चैत्र २८ गते १३:५२ | Apr 10, 2024
नगर प्रमुख थापाको ५ वर्षमा सवा ५ करोड अवैध कमाइ, अख्तियारले दायर गर्‍यो मुद्दा
भरत कुमार थापा

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

अख्तियारले नगर प्रमुख थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उनले नगर प्रमुखका रुपमा काम थालेको मिति २०७४ असोज ७ देखि २०७९ माघ २९ गतेसम्मको सम्पत्तिको अनुसन्धान गरेको थियो।

थापा माओवादी केन्द्रका हुन्। उनी २०७९ वैशाखमा भएको निर्वाचनमा दोस्रोपटक नगर प्रमुख निर्वाचित भएका थिए।

उनको १३ करोड २० लाख ३ हजार रुपैयाँको सम्पत्तिमध्ये ७ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत खुलेकाले स्रोत नखुलेको बाँकी सम्पत्तिलाई गैरकानुनी आर्जन मानी अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले बिगो बमोजिमको सम्पत्ति जफत र सो बराबर जरिवाना तथा कैद सजाय माग गरेको छ।

नगर प्रमुख थापाले गैरकानुनी आर्जनबाट पत्‍नी रेश्मी कुमारी घिमिरे थापा, भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा घरजग्गा र सेयर खरिदका साथै बैंक खातामा मौज्दात राखेकाले सम्पत्ति जफतको प्रयोजनका लागि उनीहरु ३ जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।