
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनमा लगानी भित्र्याउन अध्यादेशबाट भएपनि १२ वटा कानुन संशोधन गरिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
यस्तै, लगानीको वातावरण सुधार गर्नका लागि वैशाखमा लगानी सम्मेलन आयोजना गर्न लागिएको उनले बताए। सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संशोधन गर्न लागेको उनको भनाइ छ।
सम्भव भएसम्म संसद्बाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाइ छ। यसो हुँदा उद्योगी व्यवसायीको मनोबल थप बढ्ने र विदेशी लगानीकर्ता समेत आकर्षित हुने उनको तर्क छ।
यसैगरी, सन २०३० सम्म दिगो विकासको लक्ष भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने उनले बताए। यस्तै, सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
‘यसबाहेक, पुँजीगत खर्छ बढाउँदै निजी क्षेत्रको मनोबल बढाउनमा सरकार सम्पूर्ण ध्यान केन्द्रित गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रसँग समन्वय गरेर लगानी विस्तार गर्न सरकार तयार छ।’
यस्तै, महासंघले सरकारसमक्ष राखेको अपेक्षा पूरा गर्नतर्फ लाग्ने दाहालको भनाइ छ।