विद्युत् व्यापारमा अर्को ब्रेकथ्रु : नेपाल र बंगलादेशबीच महसुलमा सहमति, प्रति युनिट कति?

बिजमाण्डू
२०८० फागुन २८ गते १६:१३ | Mar 11, 2024
विद्युत् व्यापारमा अर्को ब्रेकथ्रु : नेपाल र बंगलादेशबीच महसुलमा सहमति, प्रति युनिट कति?

काठमाडौं। नेपाल र बंगलादेशबीच विद्युतको मूल्यमा सहमति भएको छ। नेपालबाट बर्खामा बंगलादेश निर्यात हुने ४० मेगावाट विद्युतको मूल्यमा सहमति भएको हो।

Tata
GBIME
Nepal Life

‘ऊर्जासम्बन्धी विश्व बैंकको कार्यक्रमका लागि हामी सिंगापुर गएका थियौं। त्यहाँ नेपाल र बंगलादेशबीच सचिवस्तरीय छलफल भयो। नेपालले प्रति युनिट ८ रुपैयाँभन्दा माथि पाउने गरी सहमति भएको छ,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो।

स्रोतका अनुसार छिट्टै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर गर्ने तयारी छ। त्यसका लागि बंगलादेशी पक्ष समेत उत्साहित छ।

नेपालले प्रति युनिट ८.९६ रुपैयाँदेखि ९.२८ रुपैयाँसम्म प्रस्ताव गरेको थियो। उक्त प्रस्तावको फाइनल ‘डिल’ गर्न नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको टोली गत फागुन ९ गते ढाका पुगेको थियो। वार्ता सकारात्मक भए पनि मूल्यमा सहमति हुन सकेको थिएन।

त्यसको केही समयपछि सिंगापुरमा भएको कार्यक्रममा ऊर्जा सचिव गोपाल सिग्देल, प्रबन्ध निर्देशक घिसिङसहितको टोली सिंगापुर पुगेको थियो। जहाँ निर्यात गरिने बिजुलीको मूल्यमा सहमति भएको हो।

नेपालले भारतलाई बर्खामा प्रति युनिट औसत ८.७७ रुपैयाँका दरले ५०० मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ। ‘भारतलाई भन्दा कुनै हालतमा कम मूल्यमा दिन नसक्ने हाम्रो अडानमा बंगलादेशका अधिकारीहरु सहमत भएका हुन्,’ छलफलमा सहभागी मन्त्रालयका ती अधिकारीले भने, ‘डलरमा भुक्तानी गर्नुपर्ने सर्त पनि हामीले राखेका छौं।’

बंगलादेशका स्थानीय सञ्चार माध्यमका अनुसार गत साता ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले अर्को महिना नेपालबाट बिजुली लैजाने सम्झौता हुने बताएका छन्। उनले फागुन २२ गते बंगलादेशमा भारतीय प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन्। बंगलादेशले छिमेकी मुलुकबाट ६,००० मेगावाट बिजुली लैजाने घोषणा समेत गरेको छ।

नेपाल यही बर्खाबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने तयारीमा छ। यसअघि बंगलादेशसँग पटक-पटक छलफल भइसकेको छ। भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ।

भारतले समेत ४० मेगावाटका लागि आफ्नो प्रसारण लाइन प्रयोग गर्न अनुमति दिइसकेको छ। यसबापत उसले ह्‍विलिङ चार्ज पाउनेछ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता भने हुन सकेको छैन। ऊर्जा सचिव सिग्देलले बंगलादेशसँग छिट्टै नै विद्युत् व्यापार सम्झौता गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ। नेपालले ५ वर्षको सम्झौता गरेर बंगलादेशलाई बिजुली दिन लागेको हो।

मिलेसम्म नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीको उपस्थितिमा सम्झौता गर्ने तयारी छ। ‘हामी आन्तरिक छलफलमा छौं। तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता गर्ने पाए राम्रो मेसेज जाने थियो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘यो छलफल मात्रै भएको विषय हो।’

ऊर्जा संकट खेपिरहेको बंगलादेशले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गरेर बिजुली लैजान चाहेको छ। ९,०० मेगावाटको अप्पर कर्णालीको ५०० मेगावाट बिजुली लैजान पीपीए गर्ने तयारी गरेको छ। यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएकामा आफू एक्लैले नसक्ने भएपछि उसले सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लाई भित्र्याएको छ।

नेपालले गत पुस १९ गते भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो।