३ करोड लागतमा निर्माणाधीन गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

बिजमाण्डू
२०८० पुष १२ गते ०८:२४ | Dec 28, 2023
३ करोड लागतमा निर्माणाधीन गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
तस्बिर : रासस।

भोजपुर। पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्‍न भएको हो।

Tata
GBIME
NLIC

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको यो आयोजना निर्माणको काम आर्थिक वर्ष २०७७/७८ बाट थालिएको हो। योजना निर्माणको कामलाई यस वर्ष सम्पन्‍न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए।

पर्यटकीय क्षेत्र गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ। यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले कार्यालयले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उनको भनाइ छ।

‘यो योजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाएका छौँ,’ प्रमुख सिंहले भने, ‘पर्यटकीय क्षेत्र रहेकाले यहाँ पानीको अति नै समस्या रहेको छ। विगतमा सोचेअनुसारको प्रगति नदेखिए पनि अब भने योजना अन्तिम चरणमा पुगेको छ। कामलाई यही वर्षमा सम्पन्‍न गराएर स्थानीयलाई पानी वितरण गर्ने लक्ष्य छ। हाल ८० प्रतिशत काम सम्पन्‍न भएको छ।’

आयोजनाको मुहानबाट ७ सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले बताए। तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट १ सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको अध्यक्ष आचार्यको भनाइ छ।

‘गुफा पोखरी पर्यटकीय क्षेत्र हो,’ अध्यक्ष आचार्यले भने, ‘यहाँ सिजनमा हजारौँ पर्यटकको आवागमन हुन्छ। पानीको समस्याको कारण यहाँ बस्ती विस्तार हुन सकेको थिएन। यो आयोजनाले यहाँको पर्यटनको विकासमा समेत टेवा पुग्नेछ। योजनालाई अबको एक महिनाभित्र सञ्‍चालन गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’

धेरै उचाइमा रहेको तथा भौगोलिकरुपमा धेरै कठिनाई रहेको अवस्थामा योजना सञ्‍चालनका लागि कार्यालयले खेलेको भूमिका प्रशंसायोग्य रहेको अध्यक्ष आचार्यको भनाइ छ। विविध कारणले विगतमा निर्माणमा ढिलाइ भइरहेको अवस्थामा यो वर्ष भने कामले धेरै तीव्रता पाएको उनको भनाइ छ।

चैनपुर नगरपालिका-१ मा रहेको यो आयोजनास्थल भौगोलिकरुपमा निकै दुर्गम मानिन्छ। विगतमा ओझेलमा परेको योजनाको कामले नयाँ कार्यालय प्रमुख आएपछि तीव्रता पाएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोष लिम्बूले बताए।

पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको उनको भनाइ छ।

‘यो योजना हाम्रो लागि अति नै महत्वपूर्ण छ,’ उनले भने, ‘तर पनि विगतका वर्षहरु काम भने सोचेअनुसार अघि बढ्न सकेको थिएन। सबै पक्षको सक्रियता बढेसँगै अब भने पानी खाने अवस्था बनेको छ। यो योजनाले प्राथमिकता पाउनु यहाँका जनताको लागि सुखद् पक्ष हो। आयोजना निर्माणपछि घण्टौँ लगाएर डोको तथा ट्र्याक्टरमा पानी बाकेर खानुपर्ने अवस्थाको अन्त्य हुनेछ।’

बस्तीभन्दा तल रहेको भदौरे मूललाई लिफ्ट गरेर करिब ७ सय मिटरमाथि मेन्छ्याम फेदीमा पुर्‍याएर पानी वितरणको तयारी गरिएको हो। गुफा पोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने स्थानीयको भनाइ छ। रासस