आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट’ आयोजना गर्ने, विजेतालाई एक लाख पुरस्कार

बिजमाण्डू
२०८० भदौ २२ गते १७:२६ | Sep 8, 2023
आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट’ आयोजना गर्ने, विजेतालाई एक लाख पुरस्कार


काठमाडौं। स्टार्ट-अप प्रवर्द्धक कम्पनी आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट’ आयोजना गर्ने भएको छ। आफ्नो वार्षिक उत्सवको अवसरमा गर्न लागिएको उक्त कार्यक्रममार्पत उत्कृष्ट २० योजनालाई व्यवसायसम्बन्धी विभिन्‍न तालिम तथा परामर्श प्रदान गरिने र उत्कृष्ट ३ विजेतालाई १ लाख नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्‍नातक, स्‍नातकोत्तर र पीएचडी गर्दै गरेका वा गरिसकेका विद्यार्थीहरुको कुनै पनि आइडिया वा सपना आइडिया हन्ट २०२३ मा पेश गर्न सक्ने बताए।

कलेज आइडिया हन्ट २०२० की आइडिएटर अन्जना मल्लले यो कार्यक्रम आत्मविश्‍वास वृद्धिको स्रोत पनि रहने बताइन्।

कार्यक्रममा त्रिभुवन विश्‍वविद्यालयका व्यवस्थापन संकायका सहायक डीन डा. दिलीप पराजुलीले भने, ‘नेपालका विद्यार्थीहरु अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका छन्। तर नेपालमा धेरै अवसरहरु रहेका छन्।’

प्रतियोगीले आइडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनाका साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्‍जाल, रियालिटी टिभी शो र लगानीको अवसर प्राप्त गर्न सक्ने जनाइएको छ।

यसका लागि कम्पनीले बिहीबार त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकाय र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्‍वविद्यालयको सहकार्यमा आवेदन खुला गरेको हो।

नेपाली समाजको रुपान्तरण र व्यावसायिकताको प्रवर्द्धनमा क्रियाशील कम्पनीले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरेर प्रतियोगिता ल्याएको जनाएको छ।

कार्यक्रममा सहभागी हुनका लागि इच्छुक विद्यार्थीहरुले २०८० असोज १४ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ।