कोशीमा कांग्रेसका मुख्यमन्त्री थापा पदमुक्त, ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

बिजमाण्डू
२०८० साउन ११ गते १५:३० | Jul 27, 2023
कोशीमा कांग्रेसका मुख्यमन्त्री थापा पदमुक्त, ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश


काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले थापाको नियुक्तिलाई बदर गरिदिएको छ।

Tata
GBIME

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो।

‘उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८० / ३ / २१ मा गरिएको नियुक्ति र तत्-सम्बन्धमा भए गरिएका काम कारवाही नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।

एमालेका मुख्यमन्त्री हिक्मत कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका थापा गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए। त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको थियो।

सर्वोच्चले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न पनि आदेश दिएको छ। त्यसका लागि एक साताको समय दिइएको छ। सर्वोच्चले साउन १७ सम्म नयाँ सरकार गठन गर्न भनेको हो।

‘आजका मितिले सात दिनभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।