भारत र पाकिस्तान भिडेको हेर्न ‘क्रेजी’ बन्दै क्रिकेट फ्यान, अस्पतालमा पनि बेड बुकिङ!

बिजमाण्डू
२०८० साउन ११ गते १३:५७ | Jul 27, 2023
भारत र पाकिस्तान भिडेको हेर्न ‘क्रेजी’ बन्दै क्रिकेट फ्यान, अस्पतालमा पनि बेड बुकिङ!


अक्टोबरमा भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ। क्रिकेट विश्वकपमा सबैभन्दा चासोका साथ हेरिने भिडन्त हो : भारत विरद्ध पाकिस्तान। यसपटकको विश्वकप त्यसै पनि भारतमा हुँदा यी दुई टोलीको खेल हेर्न चाहने समर्थकको संख्या पनि ठूलो छ।

Tata
GBIME

अक्टोबर १५ मा यी दुई टोली अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भिड्दैछन्। यो खेलको मिति वरपर अहमदाबादका होटलमा बुकिङ एकातर्फ बढेको छ भने अर्कातर्फ होटलको ‘रेट’ पनि आकासिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहमदाबादका होटलमा कोठाको मूल्य कम्तीमा २० गुणाले बढेको छ। आईटीसीको वेल्कम होटलले खेलको दिनलाई ७२ हजार भारतीय रुपैयाँ रेट तोकेको छ। अहमदाबादका टीसी नर्वदा, मेरियटका ठूला होटलमा कोठा बाँकी नभएको बताइएको छ।

अहमदाबादका चिकित्सक पारस शाह अस्पतालमा फुलबडी चेकअप र ओभरनाइट स्टेको आग्रह सहति मानिसहरु आइरहेको बताउँछन्। होटलमा कोठा नपाउँदा र महंगो हुँदा मानिसहरु स्वास्थ परीक्षणको नाममा अस्पतालको बेड बुक गर्नतर्फ लागेका छन्।

शाहका अनुसार समर्थकहरु डिलक्सदेखि कुनै पनि वेड लिन तयार छन्। अस्पतालमा सीमित बेडहरुमात्र भएकाले एड्भान्स बुकिङ लिनुअघि ध्यान पुर्‍याउनुपर्ने अवस्था भएको उनले बताएका छन्। तर, क्रिकेट फ्यानहरुको यो हकर्तले स्वास्थ्य सेवा प्रभावित हुन नहुने उनी बताउँछन्।

‘हाम्रो प्राथमिकता ‘हेल्थ केयर’ हो। आवश्यकता परेका विरामीले स्वास्थ्य सेवाबाट वञ्चित गर्ने अवस्था सिर्जना गर्न हुन्न,’ उनले भने।

अहमदाबादका अन्य अस्पतालको अवस्था पनि फरक छैन। स्ट्रलिङ हस्पिटलका ग्रुप मेडिकल निर्देशक डा. निखिल लला आफ्नो अस्पतालमा पनि यस्ता ‘अफर’ आइरहेको बताउँछन्।

खेलको प्रतिक्षामा फ्यानहरु लाग्दा भारतको पाकिस्तानको खेल मिति सर्ने चर्चा पनि छ। तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा पर्छ। सो दिन नवरात्रीको पहिलो दिन भएकाले खेल ‘रिसेड्युल’ हुन सक्ने चर्चा पनि छ।