भरतपुरमा कहाँ कहाँ घुम्ने? एपले दिनेछ जानकारी, सुरु भयो भ्रमण वर्षको प्रचारप्रसार

बिजमाण्डू
२०८० साउन १० गते १४:०१ | Jul 26, 2023
भरतपुरमा कहाँ कहाँ घुम्ने? एपले दिनेछ जानकारी, सुरु भयो भ्रमण वर्षको प्रचारप्रसार


काठमाडौं। भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को  प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, संघीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबर्द्धानात्मक कार्यक्रमबारे जानकारी गराइसकेको बताइन्। उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ।

Tata
GBIME

महानगरले भ्रमण वर्ष २०२४ मा दुई लाख विदेशी र सात लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको हो। हाल यहाँ वार्षिकरुपमा औसतमा ३० हजार विदेशी र चार लाख आन्तरिक पर्यटक आउने गरेको महानगरको भनाइ छ। नगर प्रमुख दाहालले नेपाल र विदेशमासमेत भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिइन्।

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्ष २०२४ लाई सफल बनाउन नगर प्रमुख दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति र ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ।

निर्देशन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्यसचिवमा पर्यटन विज्ञ रहेका छन्। साथै नगर उपप्रमुख अधिकारीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। समितिका संयोजकले १५ दिनभित्र कार्ययोजना तयार गरी पेस गरेपछि कार्यक्रमलाई अन्तिम रुप दिइने महानगरको भनाइ छ।

भ्रमण वर्षको तयारीस्वरुप महानगरभित्रका ३३ पर्यटकीय गन्तव्यको जानकारी दिने उद्देश्यले मोबाइल एप पनि तयार गरिएको छ। महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार सातवटा मुख्य पर्यटकीय गन्तव्यसहित ३३ गन्तव्यको जानकारी र तस्वीर एपमा समावेश छन्। यससँगै छोटो भिडियो, वृत्तचित्त तयार गरी एपमा राख्ने काम जारी छ।

उक्त एपमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणीसीबीच मोडल, ज्ञानेश्वर ब्लक र चौकीडाँडासँगै भरतपुरका महत्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी समावेश गरिएको छ। भ्रमण वर्षका अवसरमा भारत र चीनमासमेत आवश्यक प्रचारप्रसार गरी भ्रमणवर्षको प्रबर्द्धन गरिने छ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनलाई लिने गरिन्छ। यहाँको चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि परिचित छ। निकुञ्जको धेरै भाग महानगरसँग जोडिएको छ। महानगरका विभिन्न ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ।

साथै पवित्र तीर्थस्थल देवघाट, सूर्याेदय हेर्न सकिने चौकीडाँडा, सूर्यास्त अवलोकन गर्न सकिने गोलाघाटलगायतका रमणीय पर्यटकीय गन्तव्य पनि यही छन्। नारायणी र राप्ती नदीको काखमा भरतपुर महानगरपालिका पर्दछ। रासस