काठमाडौं। स्टार्टअप आइडियालाई व्यवसायसँग जोड्ने काठमाडौं महानगरपालिकाको कार्यक्रमको छनोटमा ५० आइडिया परेका छन्। प्रारम्भिक छनोटमा परेर आइडिया प्रस्तुतिको मौका पाएका १०१ बाट आधा पछिल्लो छनोटमा परेका हुन्।
१०१ आवेदकले ‘काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन (केएमआईआई) २०८०’ को निर्णायक समक्ष प्रस्तुति दिएका थिए।
मेयर बालेन्द्र शाहले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेको आइडिया बैंक कार्यक्रमलाई महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरेका छन्। जसअन्तर्गत सञ्चालित काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन कार्यक्रममा स्टार्टअपका लागि गत जेठ ५ देखि २९ गतेसम्म आवेदन लिइएको थियो।
दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि ल्याइएको यो कार्यक्रमका लागि परेका ७८६ आवेदनबाट १०१ लाई आइडिया प्रस्तुतिका लागि छनोट गरिएको महानगरको सहरी योजना आयोगले जनाएको छ।

आयोगकी सहायक विज्ञ अग्मा मालाकारका अनुसार प्रस्तावित आइडियाहरुबाट प्रारम्भिक जुरीले एक सय एकवटा छनोट गरेको थियो। यसमध्ये ७८ टिम र २३ व्यक्तिगत आइडिया थिए।
सहरी विकासका विभिन्न विषयगत क्षेत्रहरूलाई समेटेर ५ वटा क्षेत्रमा आवेदन लिइएको हो। सहरी पूर्वाधार, समाज र वातावरण, नागरपालिका प्रशासन र दक्षता, नागपालिका सामुदायिक सेवा, र सामाजिक आर्थिक क्षेत्रमा नै प्रस्तावहरु आएको उनले बताइन्।
‘सहरी विकाससँग सम्बन्धित समस्याहरू आइडिया तथा इनोभेसनमार्फत समाधान गर्न खोजिरहेकालाई आवश्यक प्रशिक्षण/मेन्टरशीप दिने, सम्भावित लगानीकर्ताहरूसँग जोडिदिने पुल/प्लेटफर्मको रुपमा यो कार्यक्रम सुरु भएको हो,’ मालाकारले बताइन्।
उनका अनुसार प्रारम्भिक छनोटमा परेका १०१ आवेदकलाई महानगरले १६ जना मेन्टरद्वारा ९ दिनसम्म प्रशिक्षण दिएको छ।


उनले भनिन्, ‘एक जना मेन्टरलाई ६ देखि ७ जना आइडिएटर पर्नुभएको थियो। उहाँहरूले आइडियालाई परिस्कृत बनाउन मद्दत गर्नुभयो। आइडिया कतिको मार्केट सुहाउँदो छ, बिजनेस मोडल कस्तो हुनुपर्छ, सेवाग्राही वा ग्राहक को हो। यी यावत कुराहरू आइडिएटरहरुले सिक्ने मौका पाउनु भयो।’
महानगरले स्टार्टअपमा काम गरेका र मागिएका विषयमा निरन्तर काम गरिरहेकाहरुसँग नै मेन्टरका रूपमा सहकार्य गरेको उनले बताइन्।
आवेदक सुशान्त बज्राचार्य र सफल पियाले मेन्टरिङ सेसनले उनीहरूले सोचेको ‘इको इम्प्याक्ट’ आइडियालाई अझै आकार दिन सहयोग पुगेको अनुभव सुनाए। भर्खर कम्प्युटर साइन्समा स्नातक गर्दै गरेका यी दुई विद्यार्थीले मेयरको फेसबुकमा पोस्ट देखेरै आवेदन भरेका बताए। २१ वर्षीय बज्राचार्यले भने ‘आइडिया भएर मात्रै हुँदैन। त्यसलाई कंक्रिट बनाउन मेन्टरको सहयोग चाहिने रहेछ।’


सल्लाहलाई अनुशरण गर्दै यी दुईले मेन्टरशिप पाएपछि अहिले पर्यटनलाई लक्षित गर्ने सोचेको बताए। ‘हामीले पहिला ‘हाम्रो समुदायमा भएको मन्दिरहरुलाई साइक्लिङ स्टेसन बनाएर साइकल भाडामा लिएर जान मिल्ने गरि सोचेको थियौँ। अहिले हामी केवल पर्यटकलाई केन्द्रित गर्ने सोचिरहेका छौं,’ बज्राचार्यले भणे।
त्यस्तै, आयोगमा पिचिङका लागि आफ्नो पालो कुरिरहेका ५० वर्षीय डा. पुष्पमणि खरालसहित चार जना जेनेरल प्राक्टिसनरहरुले प्रत्येक वडा क्लिनिकहरु स्थापना गर्ने आइडियालाई लिएर फाराम भरेका थिए।
खरालले आफ्नो आइडिया बुझाए, ‘अस्पतालमा धैरै भीड लाग्छ, बिरामीले लामो समय कुर्नपर्छ, डाक्टरले पनि पर्याप्त समय दिन पाउँदैनन्, बिरामीको हेल्थ रेकर्ड पनि कायम भएको हुँदैन। हेल्थकेयरका लागि लामो दूरी यात्रा पनि गर्नु परिरहेको छ। यो विद्यमान समस्याको समाधानको रुपमा हामीले प्रत्यक वडा क्लिनिकहरु स्थापना गर्ने र वडावासीहरु पहिला केही समस्या भएपछि त्यहाँ जान्छन् र प्राथमिक उपचार त्यहीँ पाउँछन् र त्यहाँ समाधान नहुने केस अस्पताल रिफर गरिन्छ।’
आफ्नो यस आइडियालाई मेनटरिङ सेसनले अझै ठोस बनाएको उनको अनुभव छ। उनले भने, ‘बिजनेस आइडिएसनदेखि प्रोटोटाइप, बजार, सेवाग्राही को हो जस्ता कुराहरु सिक्ने अवसर मिल्यो।’

मेन्टरिङ सेसन सकिए लगत्तै आयोगले असार १९-२१ गतेसम्म तीन दिन आइडिया प्रस्तुतिका लागि राखेको थियो।
निर्णायकमा सहरी पूर्वाधार विज्ञ भूषणराज श्रेष्ठ, इनोभेटिभ वैज्ञानिक विशेष खनाल, आइटी विज्ञ सजलराज प्रधान, डीआइजी तथा किंग्स कलेजका लेक्चरर डा. राजीव सुब्बा र महानगरको राजस्व विभागका डा. शिवराज अधिकारी छन्।
मालाकारले भनिन्, ‘अब उत्कृष्ट ५० आइडिया छनोट गर्छौं।’ यो कार्यक्रमको महानगरले ६० लाख रुपैयाँ बजेट छुट्याएको छ।











