काठमाडौं-तराई द्रुतमार्गमा सेनाद्वारा सुरुङको डिजाइन परिवर्तन, ‘संख्या बढे पनि लागत घट्ने’

बिजमाण्डू
२०८० जेठ २३ गते १२:५१ | Jun 6, 2023
काठमाडौं-तराई द्रुतमार्गमा सेनाद्वारा सुरुङको डिजाइन परिवर्तन, ‘संख्या बढे पनि लागत घट्ने’

काठमाडौं। उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ। पहिले प्रस्तावितका तुलनामा अब सुरुङको संख्या बढे पनि पहिरो रोकथाममा हुने खर्च जोगिने दाबी गरिएको छ।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाका अनुसार डिजाइन परिवर्तनका लागि सेनाले सरकारसँग स्वीकृति मागेको थियो। ‘पहिरो जाने जोखिम भएको ठाउँमा सुरुङमार्ग बनाउन डिजाइन परिवर्तन गरिएको हो,’ उनले भने।

परिमार्जित डिजाइनअनुसार फाष्ट-ट्रयाकमा अब थप ३ वटा सुरुङमार्ग निर्माण हुनेछन्। तर अहिलेसम्म उक्त डिजाइनको रिभ्युको स्वीकृति सरकारबाट आइसकेको छैन।

नयाँ डिजाइनअनुसार निर्माण भए आयोजनाको लागत २ अर्ब रुपैयाँले कम हुने थापा बताउँछन्। साथै पहिरोको जोखिम समेत हट्ने उनको भनाइ छ।

यसअघि यस आयोजनामा ६.४ किलोमिटरको ३ वटा सुरुङमार्ग निर्माण भइरहेको थियो। तर अब भने २.२ किलोमिटरको ३ वटा नयाँ सुरुङमार्ग थप हुने भएको छ। जसमा एउटा ३०० मिटर, अर्को ९०० मिटर र १ किलोमिटरको हुने थापाले बताए।

यस आयोजनाको हालसम्म कायम भएको कुल लागत २ खर्ब १३ अर्ब रुपैयाँ छ। यसरी सुरुङमार्ग निर्माण गर्दा २ अर्ब लागत घट्ने सेनाले बताएको थापाको जिकिर छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता कृष्ण भण्डारीले डिजाइन परिवर्तनको विषयमा रिभ्यु भइरहेको बताए। ‘यसमा अन्तिम चरणको काम भइरहेको छ। यो परिवर्तन गरिएको डिजाइन आयोजना प्याकेज नम्बर १० र ११ मा पर्छ,’ उनले भने।

द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रेमा सिम्पानीदेखि चालिसे खोल्सी १.६३० किलोमिटर र लेनडाँडामा घट्टेपाखादेखि बाँदरेखोल्सी १.४३० किलोमिटर गरी २ वटा सुरुङमार्ग र पुल निर्माण भइरहेको छ। यो कामका लागि पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३ सय ३७ रुपैयाँमा ठेक्का पाएको थियो।

यसैगरी, मकवानपुरकै महादेवडाँडामा अर्को ३.३३५ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनिरिङले निर्माण गरिरहेको छ। यी ३ वटा सुरुङ ६.४१५ किलोमिटर लामो छ। अब थप २.२ किलोमिटर लामो सुरुङ थप हुँदा ८.६ किलोमिटर सुरुङमार्ग मात्रै हुने छ।

आगामी आर्थिक वर्षका लागि काठमाडौं-तराई-मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) का लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अघिल्लो वर्षको बजेटमा यस आयोजनालाई ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। आयोजनाका अनुसार ठेक्का व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजेट आवश्यक थियो। त्यही अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।

तर, पछि बजेट खर्च गर्न नसक्ने भएपछि १८ अर्बमा झारिएको थियो। जसमध्ये यो चालु आवमा १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यसमा केही अर्ब रुपैयाँ बराबरको दायित्व सृजना भइसकेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार यो चालु आवमा अघिल्ला वर्षहरुमा जस्तो बजेट खर्च नभएर सरेन्डर गर्नुपर्ने अवस्था छैन। समग्रमा यस आयोजनाले कुल लागतमध्ये करिब २२ प्रतिशत खर्च गरेको छ।  

पछिल्लो संशोधित तालिका अनुसार सेनाले २०८० मंसिरभित्र काम सक्नुपर्थ्यो। तर, २२ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि सेनाकै अनुरोधमा सरकारले २०८३ चैत मसान्तसम्म समय थपेको हो। सेनाका अनुसार अहिले ११ वटा प्याकेजमा मास्टर प्लान बनाएर काम भइरहेको छ। तीनवटै सुरुङमार्ग र सडकको काम भइरहेको छ। तर अपेक्षित गतिमा काम भने हुन सकेको छैन।