स्टार्टअपलाई इकोसिस्टमः सतही काम र चर्चामै सीमित, नवप्रवर्तन व्यवसायमा कसरी जुट्छ लगानी ?

बिजीशा बुढाथोकी
२०७९ फागुन ७ गते १०:२४ | Feb 19, 2023
स्टार्टअपलाई इकोसिस्टमः सतही काम र चर्चामै सीमित, नवप्रवर्तन व्यवसायमा कसरी जुट्छ लगानी ?


काठमाडौं। बाँकेमा टमाटर मनग्ये फल्थ्यो। जब सिजन हुन्थ्यो, लागत नै उठ्ने भाउ हुन्थ्यो। निराश कतिपय किसान टमाटर त्यसै मिल्काउन बाध्य हुन्थे। यो देखेका कोहलपुरका सफी मोहमद गुजरले विकल्प देखे- केचप उत्पादन। उनी दुई दशक अघिदेखि केचप उत्पादन व्यवसायमा आबद्ध छन्।  

Tata
GBIME
Nepal Life

टमाटर उत्पादन र यसको उचित बजारका बीचमा फराकिलो अन्तर देखेपछि उनले केचप उत्पादन कम्पनी स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरे। २०७२ देखि सफल कृषि फार्म सुरू गरे। 

उनीसँग टमाटर उत्पादन व्यवसायको क्षेत्रमा राम्रो बजार सञ्जाल र लामो अनुभव थियो। तर, गुणस्तरीय उत्पादन, ब्रान्डिङ, बजार विश्लेषण र ठूलो मात्रामा सञ्चालनका लागि प्राविधिक सहयोग र परामर्श उनको आवश्यकता थियो। यसलाई पुरा गर्न स्टार्टअप इन्क्यूवेसनमा सक्रिय कम्पनी अन्तरप्रेरणाले हात अघि बढायो। फार्मको व्यवसायिक स्वास्थ्य जाँचको मूल्यांकन गरी व्यापार योजना बनायो।

अन्तरप्रेरणाको टोलीले  फार्मको उत्पादन साइटको भ्रमण गर्‍यो। साथै उत्पादनको गुणस्तर, स्वाद र अन्य मार्केटिङ पक्षहरूको समीक्षा पनि गर्‍यो। सीएएसके प्रोजेक्ट अन्तर्गतको यो काम पुरा हुन दुई महिना लागेको थियो। त्यसपछि सफल कृषि फार्मले आवश्यक सहयोग पायो।

सफल जस्ता भाग्यमानी कम्पनी नगण्य छन्। कम्पनी सुरु गरेर सहयोग खोज्दा खोज्दै निराश हुने स्टार्टअपहरु धैरै छन्। इ-कमर्स प्लेटफार्म खोल्ने आइडिया लिएर हिड्ने बढेका छन् तर लगानी जुटाउन नसक्दा व्यवसाय थाल्न धेरैको आँट पुग्दैन।

उदीयमान स्टार्टअप तथा नवीनतम आइडियालाई सफल बनाउन स्टार्टअप इकोसिस्टमको महत्त्वपूर्ण हात हुन्छ। यस्तो इकोसिस्टममा निजी क्षेत्र, सरकार, शैक्षिक संस्थाहरू लगायतका विभिन्न क्षेत्रहरू जोडिएका हुन्छन्।

नेपालमा स्टार्टअप इकोसिस्टमको विकासको गति कस्तो छ ? पछिल्लो समय ‘स्टार्टअप’चर्चा परिचर्चा बढ्दो क्रममा छ। स्टार्टअपमा आधारित केही नौलो गर्छु भन्नेहरूको जमात पनि बढ्दो नै देखिन्छ।

गत वर्ष आयोजना भएका स्टार्टअप फेस्ट-२०२२ मा सहभागी ३०० स्टार्टअपमध्ये उत्कृष्ट सातवटाले विभिन्न पाँच लगानीकर्ताबाट २४ करोड ५० लाख रुपैयाँ लगानी जुटाउने अवसर पाएका थिए।

त्यस्तै विराटनगर एक्सपोमा स्टार्टअप प्याभिलियन राखिएको थियो। नेपाल पूर्वाधार सम्मेलन २०२२ मा पनि नवीनतम उद्यमहरूलाई प्रोत्साहन गर्न आइडिया हन्ट गरिएको थियो। शीर्ष पाँच स्टार्टअप आइडिइालाई फण्डिङ तथा आफ्नो आइडियालाई विज्ञ तथा लगानीकर्ताहरूको सामु प्रस्तुत गर्न प्लेटफर्म दिइएको थियो।

यस बाहेक मुलुकमा पहिलो पटक स्टार्टअपलक्षित बिजनेस इन्क्युबेटरहरू स्थापनालाई केन्द्रमा राखेर सम्मेलन पनि भएको थियो। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो समय तेह्र वटा प्राइभेट इक्विटीलाई लाइसेन्स पनि प्रदान गर्‍यो। यसले स्टार्टअपहरूलाई वैकल्पिक फाइनान्सिङको ढोकाहरू पनि खोलिदिएको अन्तरप्रेरणाका सह-संस्थापक निरज खनाल बताउँछन्। 

नेपालमा उद्यमशीलताको क्षेत्रमा काम गर्ने इन्क्युबेटर, एक्सिलिरेटर, प्राइभेट इक्यूटी भेन्चर क्यापिट्यालिस्टहरूको पनि बढ्दो नै छन्। विभिन्न तहको इन्क्युबटरहरूको समन्वय सुरू भएको छ। स्टार्टअप प्रवर्द्धनका लागि विकास साझेदारहरू तथा विभिन्न वित्तीय संस्थाहरूबाट पनि लगानी आइरहेका छन्।

अर्को, विश्वविद्यालय अनुदान आयोग इन्क्युवेसनको लागि संसाधनहरू छुट्याएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरूले आ-आफ्नै स्टार्टअप कमिटी बनाएका छन्। ठूला उद्योगहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूले पनि स्टार्टअपलाई महत्त्व दिन थालेका छन्। विश्वविद्यालयहरूले पनि इन्क्युवेसनहरू सुरू गरिरहेका छन्।

 किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्याल देशमा उद्यमशिलताको महत्त्व धेरैले बुझ्दै गएको तर्क राख्छन्।

सरकारले विभिन्न नाम स्टार्टअपको लागि आर्थिक वर्ष २०७१/७२ देखि नै च्यालेन्ज फण्डहरू लगायतको कार्यक्रम उल्लेख गर्दे आएको छ।

यस आर्थिक वर्षको बजेटमा स्टार्टअपहरूलाई लक्षित गर्दै सरकारले यस वर्ष युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्द्धन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी  उत्पादन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुका साथै यस कार्यक्रमको प्रभाव मूल्यांकन गरी सुधार गर्दै लगिने  उल्लेख छ।

परियोजनाका आधारमा ऋण  उपलब्ध गराउने व्यवस्था मिलाइनुका साथै स्टार्टअप व्यवसायमा भेन्चर क्यापिटलमार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिने पनि घोषणा गरिएको छ।

साथै युवा उद्यमी र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिबाट संचालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेन्ज फण्ड स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने आगामी वर्षको बजेटमा उल्लेख छ।

साथै निजी क्षेत्रको साझेदारीमा विज्ञानमा आधारित व्यवसाय विस्तार गर्न हेटौंडा औद्योगिक क्षेत्रका साथै सातै प्रदेशमा बिजनेस इन्क्युवेसन सेन्टर संचालन गरिने बजेटमा उल्लेख छ। यस कार्यक्रमका लागि २६ करोड  रुपैयाँसमेत विनियोजन भएको छ।

यस पहलहरूले स्टार्टअपहरूमा सकारात्मक जीवन्तता सिर्जना गरेको निरज बुझ्छन्, ‘विस्तारै केहि सकारात्मक सुधारहरू देखिरहेका छन्। इन्क्युबेसनको निम्ति  सरकारले फण्ड  छुट्याउनु यी सबै कुरा अभ्यासमा आउन सुरू भएको छ। तर प्रक्रिया  अझै पनि सहज भइसकेको छैन।’ 

नीतिगत रूपमा हेर्ने हो भने स्टार्टअप नीति अझै पास भइ नसकेको पायोनियर ल फर्मकी लजुला महर्जन बताउँछिन्। स्टार्टअप सम्बन्धि कार्यक्रमको कार्यविधि बनाउनका सीएनआइ, एफएनसीसीआइ, नेपाल प्राइभेट इक्विटी एसोसिएसन लगायतको निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको थियो। तर, हालसम्म कार्यविधि तयार भइसकेको छैन। 

निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ मा नै ‘स्टार्टअप नीति २०७८’को मस्यौदा तयार गरेको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएर शेरबहादुर देउवाको नयाँ सरकार गठन भयो। मन्त्रीमण्डलमा परिवर्तन भएसँगै उक्त स्टार्टअप नीतिको मस्यौदा पनि थन्कियो।

अहिले सरकार एमाले-माओवादीसहित नयाँ गठबन्धनको बनेर पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको पनि दुई महिना भइसकेको छ। तर, त्यो थन्किएको मस्यौदालाई सरकारले पुनः हेर्ने काम गरेको छैन।

‘स्टार्टअपको लागि भनेर कार्यक्रमहरू त धेरै नै आए। तर, सरकारले नै हालसम्म स्टार्टअप कस्तो कम्पनीलाई भन्ने भनेर परिभाषित गरेको अवस्था छैन। यस्तो अवस्थामा कुन कम्पनीहरूलाई फण्ड दिने नै टुंगो छैन। प्रक्रिया नै प्रष्ट छैन,’ निरज बताउँछन्।

त्यस्तै, आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक मनोज पौडेलका अनुसार नेपालमा स्टार्टअप इकोसिस्टम विकास हुन अझै धेरै काम गर्न बाँकी छ। ‘सबै जनाले लगानी योग्य कम्पनीमा मात्रै लगानी गर्ने छन्। आइडीया स्टेजको कम्पनीहरू लगानी गर्ने खासै छैनन्,’ उनी भन्छन्, ‘हामीले आइडिया स्टेजमा रेहेकाहरू इन्क्युबेट गरेर लगानी योग्य बनाउनुका साथै आवश्यकता अनुसार लगानीहरू प्रदान गर्ने काम गरिरहेका छौं।’

स्टार्टअप इकोसिस्टममा हरेक अभिनेता स्वतन्त्र तथा एकल रूपमा काम गरिरहेको नरोत्तम तर्क गर्छन्।

कुनै पनि स्टार्टअप कम्पनीलाई सफल बनाउन स्टार्टअप इकोसिस्टमको महत्त्वपूर्ण हात हुन्छ। स्टार्टअपहरू उच्च जोखिम जोनमा हुन्छन्। 

उनीहरूसँग नवीनतम आइडीयाहरू हुन्छन् तर टिममा प्राय युवा र अनुभवहीन हुन्छन्। फण्डिङदेखि मेन्टरिङ अध्ययन अनुसन्धानको कमी भइरहेको हुन्छ। इकोसिस्टमका विभिन्न पक्षले ती अभाव हटाउन सहयोग गरिदिनु पर्छ। सहयोग पाए नयाँ सोचका साथ व्यवसाय थाल्न चाहनेलाई काम गर्न सहज हुन्छ।

‘तर हाम्रोमा इकोसिस्टम नै एकीकृत छैन। एउटा साझा भिजन र आकांक्षा नै छैन। यहाँ स्केल अप गर्न तैयार स्टार्टअपहरूमा लगानी गर्ने हरू धेरै नै छन्। तर, प्रारम्भिक चरणका स्टार्टअपमा भने फाइनान्सिङ गर्न निकै गाह्रो छ,’ पौडेलले भने।

अनुसन्धान तथा प्रोटोटाइपिङका लागि नै ल्याब तथा फण्डको कुनै राम्रो व्यवस्था नभएको उनी बुझछन्।

उनी भन्छन्, ‘नेपालमा स्टार्टअपको फङ्सनल इकोसिस्टम नै छैन।’

व्यवसाय गर्न चाहनेलाई बैंकले ऋण दिन धितो खोज्छन्। जमाना प्रोजेक्ट हेरेर पनि लगाइ जुटाइदिने आइसकेको छ। तर, स्टार्टअपमा आधारित व्यवसाय गर्न चाहनेहरु धैरैजसो अलमलमा देखिन्छन्। आफ्ना आइडियामा काम गर्न लगानी, तालिम र बजारका लागि सहयोगी सजिलै जुट्दैन।