
काठमाडौं। माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले भारतका प्रमुख सहरमा रहेका ३ मध्ये २ कार्यालय बन्द गरेको छ। राजधानी नयाँदिल्ली र व्यापारिक सहर मुम्बईमा रहेका कार्यालय बन्द गरेको हो।
ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार ट्वीटरको अब भारतका लागि बेंगलुरुमा एउटा कार्यालय मात्रै छ। जो अमेरिकी मुख्यालय मातहत छ। ट्वीटरको इन्टियन टिममा अब ३ जना मात्रै कर्मचारी छन्।
इलन मस्कले कम्पनी किनेपछि भारतमा रहेका ट्वीटरका करिब २ सय जना कर्मचारीलाई गत नोभेम्बरमै निकालेका थिए। ट्वीटरको कारोबारको वित्तीय स्वास्थ्य सुधारका लागि भन्दै मस्कले संसारका विभिन्न मुलुकमा रहेका आफ्ना कार्यालयका थुप्रै कर्मचारीलाई कामबाट बिदा दिइसकेका छन्।
ट्वीटरको भारतीय कार्यालयमा रहेका ३ कर्मचारीमध्ये एकजना कन्ट्री लिडर छन्। बाँकी दुईमध्ये एकलाई उत्तर-पूर्वी भारत र अर्कालाई दक्षिण-पश्चिम क्षेत्रको जिम्मेवारी छ। बेंगलुरु कार्यालयका कर्मचारीले सोझै अमेरिकामा रिपोर्ट गर्नेछन्, उनीहरु ट्वीटरको टिम इन्डिया अन्तर्गतका छैनन्।
चालु वर्ष २०२३ को अन्त्यसम्म मस्क ट्वीटरलाई आर्थिक रूपमा बलियो बनाउन चाहन्छन्। आम्दानी बढाउन उनले सब्सक्रिप्सन प्रणालीमा परिवर्तन गरिरहेका छन्।
आफैं सीइओको जिम्मेवारी लिएका मस्क ट्वीटरको कार्यकारी पद छाड्न चाहिरहेका छन्। यसका लागि केही अघि उनले आफ्नो ट्वीट पोस्टमार्फत मत सर्वेक्षण गराएका थिए। (एजेन्सी)