
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि निजी वायुसेवा कम्पनीले तयारी सुरु गरेका छन्। यो विमानस्थलबाट नियमित आन्तरिक उडानका लागि हालसम्म यती, बुद्ध र श्री एयरलाइन्सले स्वीकृति पाएको र सौर्य र गुण एयरलाइन्स प्रक्रियामा रहेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।
यस अघि आन्तरिक विमानस्थलमा नियमित उडान गर्दै आएका वायुसेवाले डेमोन्स्ट्रेशन फ्लाइट सम्पन्न गरेपछि मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न सक्ने उनले जानकारी दिए।
'अहिसेसम्म बुद्ध, यती र श्री एयरलाइन्ससँग उडान सम्झौता भएको छ। थप दुई वायुसेवा पाइपलाइनमा छन्।' प्रमुख गौतमले भने,'नाइट स्टप रहने गरी यी वायुसेवा कम्पनीले उडान संचालन गर्नेछन्। कम्पनीलाई सुरुमा डेमोन्स्ट्रेशन फ्लाइट गराइनेछ।'
बुद्ध एयरले आउँदो बिहीबारबाट र अरु कम्पनीले पनि डेमोन्स्ट्रेशन उडानका लागि तयारी गरिरहेको उनले जानकारी दिए।
यो विमानस्थल संचालनमा आएसँगै आन्तरिकतर्फ उडान गर्दै आएका हवाईजहाज, हेलिकोप्टर, अल्ट्रा लाइट लगायतले आन्तरिक तर्फमात्र दैनिक अधिकतम दुई सय ६० वटा उडान गर्न सक्ने उनले बताए।
हालको आन्तरिक विमानस्थलमा प्राधिकरणले नेभिगेशन सुविधा (भिओआरडीएमइ), आयल निगमको सुविधा, हेलिकोप्टर र अल्ट्रालाइट लगायत तीन क्षेत्रका लागि प्रयोग गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यही विमानस्थलबाट पोखराबाट हुँदै आएको विकट गन्तब्य उडान संचालन गर्ने योजना बनाएको विमानस्थल प्रमुख गौतमले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल आउँदो सन् २०२३ जनावरी १ तारिखबाट नियमित रुपमा संचालनमा ल्याउने तयारी गरेको छ।