व्यवसायको कमी कमजोरी सुधारेर जनशक्तिको क्षमतामा बढाउने बीपीआर के हो? रवीन्द्र शाहीको लेख




व्यापार प्रक्रिया पुनर्ईन्जिनियरिङ (बीपीआर) को सन्दर्भलाई पछाडि फर्केर हेर्ने हो भने, यो अवधारणाको सैद्धान्तिक प्रयोग सन् १९९० तिर मात्र भएको देखिन्छ।



मासआच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत प्राध्यापक माइकल ह्याम्मरले त्यसबेला चर्चित बिजनेस म्यागजिन हार्भर्ड बिजनेस रिभ्युमा बीपीआरको सन्दर्भ र यसको महत्वको बारेमा प्रकाश पारेको देखिन्छ। उक्त लेखमा लेखकले केही संस्थाहरुको उदाहरण प्रस्तुत गर्दै दैनिक व्यवसाय संचालन गरिरहेका व्यक्तिहरुले ग्राहकहरुको सुविधालाई उचित ध्यान नदिएको र प्रविधीको अधिकतम प्रयोग गरी थप आर्कषित गर्न पनि नसकेको कुराहरुलाई सबैका सामु तथ्यपरक ढंगबाट प्रस्तुत गरेको थिए ।

सामान्यतया बीपीआर भन्नाले कुनै पनि व्यापार वा व्यवसाय संचालन गर्ने पद्धति तथा कार्य संस्कृतिको सूक्ष्म अध्ययन गरी त्यसभित्र विद्यमान कमी कमजोरीहरुको सुधार एवम् रुपान्तरण गर्दै समग्र जनशक्तिको कार्य क्षमतामा अभिवृद्धि गरी ग्राहक माझ परिष्कृत सेवा पस्कने कार्यशैलीलाई बुझाउँदछ ।

बीपीआरको महत्त्व र सान्दर्भिकतालाई आत्मसात गर्दै फोर्ड मोटर कम्पनीले आफ्नो प्रोक्युरमेन्ट/एकाउन्ट पेएवल सम्बन्धी कार्यमा पहिलो पटक बीपीआरको अवधारणा प्रयोग गरेको पाइन्छ। जसअनुसार कम्पनीले दैनिक प्रयोगमा आउने आवश्यक सरसामानहरुको माग फाराम संकलन गर्ने, खरिद आदेश जारी गर्ने, जारी गरे बमोजिम सामान प्राप्त भए र नभएको रुजु गर्ने, खरिद सामानहरुको बिजकहरु यकिन गर्ने र त्यो बिजक अनुसारको रकम बिक्रेतालाई भुक्तानी गर्नेसम्मको कार्यमा प्रविधिको उचित प्रयोग गरेको थियो।

परिणामतः परिष्कृत तथा संशोधित प्रक्रियाले उक्त कार्य तथा पद्धतिमा सरलता र सहजता ल्याउनुका साथै ७५ प्रतिशतसम्म जनशक्ति घटाएको कम्पनीको दाबी छ।

किन आवश्यक छ बीपीआर?

माथिको उदाहरणले प्रष्ट पारे झै बीपीआरले संस्थाको निम्न पक्षहरुमा विशेष योगदान पुर्‍याउँछ -

१) परिष्कृत तथा सरलीकृत ग्राहक सेवा दिन।

२) सञ्चालक खर्चमा कमी ल्याई व्यवसायको नाफा तथा प्रतिफल बढाउन।

३) व्यवसायमा निहित जोखिमहरुको निरुपण वा कमी ल्याउन।

४) उपयुक्त प्रविधि प्रयोग गर्दै कार्यरत कर्मचारीहरुको कार्य क्षमता एवम् कुशलता बढाउन।

५) संस्थाको प्रक्रियागत जटिलतालाई सुधार गरी ग्राहकलाई सेवा दिने लाग्ने समयलाई घटाउन।

कसरी गर्न सकिन्छ बीपीआर?

बीपीआर आफैंमा अलि नयाँ व्यस्थापकीय प्रयोग भएकाले, यसका लागि कुनै विशेष पद्धति औंल्याउन अलि कठिन भए तापनि तल दिइएका प्रक्रियाहरुलाई सामान्यतया प्रयोगमा ल्याउन सकिन्छ -

१) सर्वप्रथम सुधार गर्नुपर्ने कार्यको पहिचान गर्ने।

२) सो कार्यमा हाल संलग्न जनशक्तिको सहकार्यमा अहिले कसरी संचालक भइरहेको छ (एज-इज प्रोसेस) सो को जानकारी लिई सूक्ष्मरूपमा अध्ययन गर्ने।

३) आवश्यक जानकारी पाएपश्चात सो कार्यमा निहित जोखिम तथा अप्ठ्याराहरुको पहिचानसँगै प्रविधिको प्रयोगको सम्भाव्यता अध्ययन गरी परिष्कृत पद्धति (टु-बी प्रोसेस) को खाका तयार पार्ने।

४) प्रस्तावित पद्धतिको सानो समूहमा कार्यान्वयन गरी त्यसको उपयोगिताको आवश्यक मूल्यांकन गर्ने (युजर एसेप्टेन्स टेस्टिङ)

५) प्रस्तावित पद्धतिले आफूले सोचेबमोजिम परिणाम दिएमा यसलाई सम्पूर्ण कर्मचारी तथा ग्राहकवर्गहरुमा परिचालन गर्ने र समय-समयमा यसले दिएको परिणमको मूल्यांकन पनि गर्ने।

नेपालको सन्दर्भ

नेपालको सन्दर्भमा बीपीआर नौलो भए पनि नेपालीे बैंकिङ क्षेत्र यस सम्बन्धमा जानकार छ। बैंक सम्बन्धी जानकारहरुका अनुसार हाल सञ्चालनमा रहेका २ र ३ वटा 'क' वर्गका वित्तीय संस्थाहरुले बीपीआर को महत्त्वलाई नजिकबाट बुझेर सो सम्बन्धी कार्य गर्नको लागि छुट्टै विभागसमेत स्थापना गरी करिब ४ देखि १२ जनासम्मको योग्य जनशक्ति यसमा सामेल गराएको बुझिन्छ। बीपीआर को स्थापनासँगै यी हालका केही वर्षमा बैंकमा रहेका अन्य विभागहरुसँगको सहकार्यमा नेपालमै उपलब्ध प्रविधि र जनशक्ति लाई प्रयोग गर्दै प्रविधिमैत्री ग्राहकहरुका साथै युवावर्ग (जेन-जेड) लाई आफूसँग जोडिन तथा रहिरहन दिन विभिन्न प्रकारका बैंकिङ प्रोडक्टका साथसाथै डिजिटल र सरलीकृत बैकिङ प्रक्रियाहरु बजारमा ल्याएको छ।

यस किसिमको सुधारात्मक तथा परिष्कृत पद्धति (री-इन्जिनियर्ड प्रोसेस)हरुको विकास गर्न बीपीआर विभागमा कर्मचारीको समिश्रण अलि फरक ढंगको हुनुपर्दछ। यसमा बैंकको मुख्य व्यवसाय जस्तै कर्जा तथा निक्षेप सम्बन्धी राम्रो जानकारदेखि दैनिक कार्य सञ्चालन पद्धति, प्रक्रिया, विद्यमान जोखिमको बारेमा ज्ञान भएको, नयाँ प्रविधिहरुको उपयोग गर्न इच्छाशक्ति भएकाहरु हुनुपर्दछ। अर्थात यो विभागले बैंकको व्यवसाय, त्यसको प्रक्रिया र प्रविधि तीनवटै पक्षहरुलाई महत्त्वपूर्ण ढंगले बुझेको हुन एकदमै आवश्यक हुन्छ।

त्यसैले बीपीआरको महत्त्वलाई नजिकबाट बुझि यसले कुनै पनि व्यवसायलाई दिन सक्ने योगदानलाई आत्मसात गर्दै हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथै बीमा, जलविद्युत कम्पनी, उत्पादन सम्बन्धी कार्यमा संग्लग्न कर्पोरेट हाउसहरुले पनि आगामी दिनहरुमा यसलाई आफ्नो संस्थाको अभिन्न विभागको रूपमा राख्ने छन् भन्नेमा दुई मत नहोला।

(शाही 'क' वर्गको बैंकमा बीपीआर प्रमुखका रूपमा कार्यरत छन्।)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell