कम्प्युटर होइन उद्यम सिकाउने मेलामा युवाको भीडले गरेको संकेत, स्वदेशमै उद्यम गर्ने हुटहुटी




काठमाडौं। भक्तपुरका शुभाशिष उप्रेती भर्खर १५ वर्षका भए। उनी अहिले  एसईईको परीक्षा सकेर बसेका छन्। ११ को पढाई सुरु भैनसकेपनि उनको छुट्टै व्यस्तता छ। सानैदेखि प्रविधिबाट निकै प्रभावित उनी आफ्नो व्यस्तताको कारण खुलाउँछन्, 'मेरो आफ्नै एउटा जिङ इन्कर्पोरेशन नामको स्टार्टअप छ। म अहिले यसमै बढी केन्द्रित छु।'



उनको स्टार्टअप क्लोथिङमा आधारित इ-कमर्स हो, जुन अहिलेसम्म लन्च भने भइसकेको छैन। काम सुरु गरेको दुई महिना भयो। उनलाई आफ्नो व्यवसाय अगाडि बढाउन मार्केटिङ, बजार, लगानीका स्रोतहरू जस्ता कुराहरूको ज्ञान हासिल गर्नु थियो।

यसैबीच उनले  सामाजिक सञ्जालबाट गत शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्ट-अप फेस्ट २०२२ बारे थाहा पाए। उनी उद्यम तथा उद्यमशीलताको बारेमा धेरै कुराहरू सिक्न तथा बुझ्न पाइने, जसलाई उपयोग गरेर आफ्नो स्टार्ट-अप अघि बढाउने आशा राख्दै उक्त फेस्टमा सहभागी भए।

'म अरु स्टार्ट-अपहरूले कसरी काम गरिरहेका छन् भनेर बुझ्न र सिक्नको लागि त्यहाँ गएको थिएँ। धेरै सफल भएका उद्यमीहरूको अनुभव सुन्न पाइयो। यसबाट मार्केटिङको बारेमा, लगानीका स्रोतहरू बारेमा धेरै कुरा सिक्न पाएँ,' उनी फेस्टको आफ्नो अनुभव सुनाउँछन्, 'नेपालका युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न निकै राम्रो कार्यक्रम थियो। सफल हुनको लागि विदेश नै जानु पर्छ भन्ने आवश्यक छैन। विदेश जानुभन्दा नेपालमा नै उद्यमशीलताको लागि धेरै सम्भावनाहरु छन् भन्ने सो फेस्टबाट महसुस गरेको थिएँ।

शुभाशिष जस्तै नवीनतम सोचमा आफ्नै देशमा केही गर्छु भन्ने दृढ सङ्कल्प बोकेका थुप्रै विद्यार्थी युवाहरूको सहभागिताले गुन्जिएको थियो गत शनिबार सोल्टी होटेलमा आयोजना गरिएको स्टार्टअप फेस्ट।

नवप्रवर्तनमा युवा-विद्यार्थीको आकर्षण 

फेस्टका आयोजक तथा मञ्चका अध्यक्ष अमुन थापाका अनुसार आयोजकका नाताले करिब  तीन हजार हाराहारी सहभागी हुने अपेक्षा थियो। तर, पाँच हजारभन्दा बढी नै युवा-विद्यार्थी सहभागी भए। 

'हाम्रो उद्देश्य चाहिँ नेेपालमा स्टार्टअपको स्प्रिटलाई सेलिब्रेट गर्ने तथा जगाउने थियो। नेपालमा भएका यति धेरै युवाहरुलाई स्टार्टअप तथा उद्यमतिर धकेल्नुपर्छ भनेर नै यस्तो खालको कार्यक्रम आयोजना गरेका हौं,' उनले भने।

 त्यसैले मार्केटमा त्यसले पनि बज क्रियट गरेको थियो। मुख्यतया: स्टार्टअप व्यवसाय गर्न इच्छुक युवा तथा विद्यार्थी वर्गलाई सुरु गर्नतर्फ आकर्षित तथा प्रेरित गर्न फेस्ट आयोजना गरिएकाले प्रवेश शुल्क पनि एकदम कम राखिएको उनी बताउँछन् ।

नेपालमा पहिलो पटक स्टार्टअप इकोसिस्टम विकास र प्रवर्द्धनका लागि यस्तो कार्यक्रम आयोजना भएको थियो। यो सम्मेलन भन्दा पनि फेस्टको रुपमा आयोजना गराइएको थियो। भित्र प्यानल छलफल/ वक्ताहरु थिए भने बाहिर रोबटिक्स वार्स/कन्सर्ट/एक्जिबिसन सबै भएको थिए।

करिब ४० भन्दा बढी स्टार्टअपहरूको स्टलमा समान उमेर समूहका युवाको भीड भन्ने निकै धेरै थियो। स्टलमा बसेका स्टार्ट-अपहरुका प्रतिनिधिले आफ्नो उत्पादन तथा सेवाहरूको बारेमा सहभागीहरूलाई बुझाउन भ्याइनभ्याइ भइरहेको थियो। त्यसै सम्मेलन हलमा पनि युवाहरूको सहभागिता उत्साहजनक नै थियो।

हलको क्षमता ६०० जनाको मात्रै भएकाले धेरै विद्यार्थी तथा युवाहरूले बाहिर फेस्टमा भइरहेको प्रत्यक्ष प्रसारणबाट नै विनोद चौधरी तथा अन्य उद्यमी, वक्ताहरूको कुराहरू ध्यान दिएर सुनिरहेका थिए। 

अमुन सुनाउँछन्, 'हाम्रो एउटै उद्देश्य भनेको हाम्रो युवाहरूलाई प्रेरित गर्नु थियो। त्यहाँबाट निस्केपछि चाहिँ नेपाल भरिको युवाहरुले ओहो ! स्टार्टअपमा यति धेरै लगानी हुने रहेछ। उद्यमशीलतामा यति धेरै अवसरहरु  रहेछन्। म पनि केही गर्छु भन्ने उत्प्रेरणा पाओस् भनेर हामी यस्तो खालको कार्यक्रम गरेको हो। र हामीले यही गर्न सफल भएका छौं। त्यसैले त्यहाँ उपस्थित हजारौं युवाले नभए पनि सयौंले चाहिँ म पनि स्टार्टअप खोल्छु भन्ने प्रेरणा पाए जस्तो लाग्छ।'

फेस्टबाट ८.५ करोड रुपैयाँको लगानी प्रतिबद्धता पाएको स्किल सेवा स्टार्ट-अप कम्पनीका रामशरण विक्रम थापा नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच भएका धेरै विद्यार्थीहरू तथा युवा जमातहरू नै फेस्टमा आएको बुझ्छन्।

उनी भन्छन् '३० वटाभन्दा बढी स्टार्टअपहरूको स्टलहरुले पनि उनीहरूलाई तानेको जस्तो लाग्यो। पछिल्लो समय नेपालमा स्टार्टअप तथा उद्यमशीलताको लहर पनि आएको छ यसले पनि युवाहरूलाई आकर्षित गरेको हो।'

त्यस्तै १ करोड लगानीको प्रतिबद्धता प्राप्त गरेको कम्युनिकेसन सल्युसन प्रदायक भक्सक्रोका अनिल ढकाल कार्यक्रमको उत्साजनक सहभागिताको बारेमा आफ्नो तर्क राख्छन्, 'पहिलाको पुस्ताहरु चाहिँ अलिकति स्थिर जागिरहरू खोज्ने सोचबाट आउनु हुन्थ्यो। अब अहिलेका युवाहरूको आधारभूत आवश्यकताहरू सबै परिवारले नै पुरा गरिदिइसकेको हुन्छ, त्यसो हुँदा आजको युवाले त्यो भन्दा माथि उठेर सोच्न पाइरहेको छ।' 

अनिलका अनुसार नेपालमा पर्याप्त मात्रामा जागिरहरू छैनन्। त्यसले गर्दा युवाहरूसँग लोकसेवा लड्नु वा विदेशीनुको विकल्प हुँदैन। नेपालमा नै केही गर्छु भन्ने अठोट बोकेका युवाहरूलाई पनि ज्ञान, टेक्नलोजी, व्यवस्थापन, लगानीहरूको कमी हुन सक्छ। त्यहाँ ५० करोड लगानीको मनी पूल थियो।यी सबै पक्षहरूलाई यस फेस्टले समेटेको थियो।

उनी भारतमा केही समय अघि भित्रिएको शार्क ट्यांक तथा नेपालमा आइडिया स्टुडियो जस्तो स्टार्टअप तथा उद्यमशीलतामा आधारित टेलिभिजन कार्यक्रमहरूले गर्दा पनि युवाहरू माझ एक हिसाबले स्टार्टअपको विम नै, जागरुकता नै सृजना भएको बताउँछन्।

भेद, स्किल सेवा र डार्क म्याटर गेम प्रोडक्सनमा लगानीको प्रतिबद्धता जनाएको टेलि भेनचर्सका रोहित गुप्ताका अनुसार यस फेस्टमा उपस्थित ५ हजारको उत्साह हेर्दा हाम्रो देशमा पनि युवा जमातले पनि मौका पाए भने उद्यमशीलताका लागि भित्रैबाट एक खालको उत्साह रहेको देखियो। 

'नेपालमा पनि स्केलेबल स्टार्टअपहरू छन् जसका उत्पादन र सेवाहरूमा ठूलो सम्भावना छ। यदि उचित सहयोग दिइयो भने स्टार्टअप समुदाय नेपालमा फस्टाउन सक्छ भन्ने सन्देश यस फेस्टले दिएको छ,' उनी सुनाउँछन्।

स्टार्टअपका आइडियालाई टेवा  

अमुन थापासहितको आयोजक टोलीले नेपालमा स्टार्टअपहरुको एकदम ठूलो सम्भावना देखेको छ। उनका अनुसार स्टार्टअपहरुले अहिलेसम्म राम्रो प्ल्याटफर्म पाइरहेका थिएनन्। यस भन्दा अघिका दिनहरुमा स्टार्टअपहरूलाई लक्षित गरेर समिटहरू हुने त गरेका थिए। तर त्यस्ता सम्मेलनहरूमा लगानीको सम्झौता हुने गरे पनि १-२ लाख रुपैयाँसम्मको मात्र हुने गर्थ्यो। तर त्यतिले स्टार्टअपलाई अघि बढाउन पुग्ने/नपुग्ने हिसाब हुँदैनथ्यो। त्यो अपुग थियो। 

यही पक्ष बुझेका अनिलले यस कार्यक्रममा सहभागिता जनाउनु अघि नेपालमा नै लगानी गर्ने संस्थागत लगानीकर्ताहरू चाहिँ छन् कि छैनन् भन्ने कुरामा पक्का नभएको बताउँछन्। उनका अनुसार सो कार्यक्रममा भक्सक्रोले लगानी नआएपनि हाम्रो प्रोडक्टको मास एक्सपोजर पनि हुन्छ, एक हिसाबले सिकाई पनि हुन्छ भनेर सहभागिता जनाएका हो। तर सो फेस्टबाट लगानीको प्रतिबद्धता पाएपछि उनीहरूको लगानी तथा लगानीकर्तालाई लिएर भएको उल्झन मेटिएको अनिल बताउँछन्।  

अमुन भन्छन्, 'लगानीकर्ता, व्यवसायिक समुदाय, स्टार्टअपहरु खासै राम्ररी जोडिइरहेका थिएनन्। यस अघिसम्म पनि स्टार्टअपमा ठूलो लगानी गर्न लगानीकर्ताहरु त्यस्तो गम्भीर भएका थिएनन्। त्यससैले हामीले एकदम गम्भीर लगानीकर्ताहरु चाहियो भनेर स्टार्टअप फेस्ट आयोजना सुरु गरिएको थियो। त्यसै अनुसार हामीले पाँच लगानीकर्ताहरूलाई अन बोर्ड गरेका थियौं।'

उनीहरूले टिम भेन्चर्स, ग्लोबल इक्विटी फण्ड, अध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनर गरी पाँच लगानीकर्ताबाट ५० करोड फन्डको प्रतिबद्धता गरेका थिए।

अमुन आफ्नो खुसी साट्छन्, '५० करोड लगानीको प्रतिबद्धता भएकोमा हामीले एक दिनमा १०-५० करोडको लगानी होला भन्ने सोचेको थियौं। तर २५ करोडसम्म पनि लगानी होला भन्ने अपेक्षा राखिएको थिएनौं। हामी आफैं चकित थियौं।'

रामशरण मञ्चको यस प्रयासको प्रशंसा गर्दै उनी भन्छन्, 'स्टार्ट-अपहरूमा २४.५ करोडको लगानीको प्रतिबद्धता जनाउनु भनेको आफैंमा ठूलो कुरा हो। यसले हामी जस्तो स्टार्ट-अपहरूलाई निकै प्रोत्साहन गरेको छ। यसले  निरन्तरता पायो भने हामीलाई त्यहाँ हेर्न, सिक्न आउनु भएको युवा-विद्यार्थीहरूलाई पनि हाम्रो आइडियामा लगानी गर्ने, टेवा पुर्‍याउने संस्थाहरू छन् भन्ने आत्मविश्वास मिल्छ। यसले उद्यम, उद्यमी, लगानीकर्ता तथा नियामक निकायको एउटा प्रगतिशील इकोसिस्टम पनि बनेको छ।'

यसमा थप्दै स्किल सेवासहित भक्सक्रो, डिजिटल एज नेपाल र डार्क म्याटर गेम प्रोडक्सन गरी चार कम्पनीमा लगानीको प्रतिबद्धता जनाएको अध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेल उद्यमी तथा युवा जमातलाई उद्यम तथा नव प्रवर्तनको क्षेत्रमा प्रोत्साहन गर्नका लागि पनि अध्यनता यसमा जोडिएको बताउँछन्। 

उनी भन्छन्, 'यस्तो किसिमको फेस्ट धेरै अगाडिबाट नै हुन पर्ने हो। तर ढिलै भए पनि अहिले भयो र सफल पनि भयो। हामी आफैंले पनि राम्रो उद्यमीहरू हेरिरहेका छौं, फेस्टमा छनोट भएका केही कम्पनीसँग हामीले पहिलेदेखि नै कुराहरु पनि गरिरहेका थियौं। उनीहरु त्यहाँ पनि सहभागी भएको हुँदा उद्यममा आकर्षित यवा वर्गहरूमा सकारात्मक सन्देश पनि जान्छ।'

साथै फेस्टमा उपस्थित नियामक निकायहरु जस्तै अर्थ मन्त्रालय, उद्योग मन्त्रालयहरूलाई स्टार्ट-उप इकोसिस्टमको विकास र प्रवर्द्धनको लागि झक्झकिएको उनले महसुस गरेको बताउँछन्।

त्यस्तै ठुला उद्योगपति तथा सरकारहरुले पनि स्टार्टअप भन्ने के हो भन्ने बुझेको अमुन बताउँछन्, 'स्टार्टअप भन्ने बित्तिकै सानो कम्पनी, भर्खरको कम्पनी भनेर हेरिन्थ्यो। तर, जब एउटै स्टार्टअपमा ८ करोडको लगानी भयो त्यसले स्टार्टअपलाई हल्कामा लिनेहरू सबै चकित नै भए। अब भने स्टार्टअपलाई पनि गम्भीर रूपमा लिन थालियो।'

एउटै मञ्चबाट आशाजनक स्टार्ट-अप कम्पनीहरुले करोडौं लगानीको प्रतिबद्धता प्राप्त गर्नु ठूलो कुरा हो। यसले नेपाली स्टार्ट-अप इको सिस्टम बलियो बनाउनुका साथै भाबी पुस्तालाई आफ्नै देशमा आफ्नै केही गर्न पनि प्रेरित गरेको सबैको बुझाइ छ।

अब बाँकी २५ करोड फन्डलाई उपयोग गर्न सीएनआई/वाईईएफमा इन्कुबेसन सेन्टर खोल्ने र हरेक महिना स्टार्टअपहरूलाई पिचिङ गर्न लगाएर लगानी सुनिश्चित गराउने योजनामा काम गरिरहेको अमुन बताउँछन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell