भूकम्प नचिन्ने नेपालको बिल्डिङ कोड, यसरी गर्न सकिन्छ सुधार, इन्जिनियर डा. उमेश पुरीको लेख




सन‍् १९०६ सम्म मान्छेहरुलाई भूकम्पले खासै के गर्छ थाहै थिएन। भूकम्पले भवनलाई हल्लाउँछ भनेर हावा जस्तै हिसाबले भवनको वालहरु वा स्ट्रक्चरको फसाड्समा ‘ल्याटरल’ लोड लगाउने गर्थे। 



१९०६ देखि क्रमबद्धरूप (क्रोनोलोजिकल अर्डर)मा भूकम्प नियमित गयो। १९२३, १९४० मा अमेरिकामा ठूला भूकम्प गए। त्यसपछि १९७० तिर अलि गम्भीर खालको भूकम्पको धक्कालाई अध्ययन गरेर भवन निर्माणसम्बन्धी मापदण्ड निकाले। 

समयक्रमअनुसार त्यो मापदण्ड परिमार्जन र विकसित हुँदै गयो। सन् १९९४ मा एकदमै विस्तृत युनिफर्म बिल्डिङ कोड (युबीसी) भनेर उनीहरुले निकाले। सन् १९९७ मा आएर फेरि अमेरिकीहरुले त्यसलाई थप परिमार्जन गरे। १९९७ को युबीसीलाई संसारभरी नै मोडल कोडका रूपमा लिइयो। अधिकांश देशहरुले यसैलाई आधार बनाएर आ-आफ्नो देशको बिल्डिङ कोड बनाए। 

१९९७ को तीन वर्षमै (२०००) मै अमेरिकाले युबीसीलाई परित्याग गरेर इन्टरनेसनल बिल्डिङ कोड (आइबीसी) निकाल्यो। अमेरिकाले युबीसीलाई परित्याग गरेर थप परिस्कृत र वैज्ञानिक आइबीसीलाई आत्मसात गरे पनि अधिकांश देशहरुले १९९७ कै युबीसीलाई कार्यान्वयन गरिरहे। नेपालको हकमा यो अहिले पनि लागु छ।

बिल्डिङ कोडलाई नफेर्ने हाम्रो बानी छिमेकी भारतमा पनि कायमै छ। तर, भारत भने आइबीसी अनुसारको बिल्डिङ कोड परिमार्जन गर्ने तयारीमा छ। सन् २०२२ मा पाकिस्तानले आइबीसी अनुसारको आफ्नो बिल्डिङ कोड सार्वजनिक गरेर कार्यान्वयनमा ल्याइसकेको छ। थाइल्याण्ड, बंगलादेश लगायतले पनि आफ्नो बिल्डिङ कोड फेरिसकेका छन्। तर, हामी अझै पनि २५ वर्ष पुरानै बिल्डिङ कोड प्रयोग गरिरहेका छौं। हामी एकदमै रुढीवादी डिजाइनमा घरहरु बनाइरहेका छौं। 

२००० मा आइबीसी बनेपछि अमेरिकाले तीन/तीन वर्षमा त्यसमा संशोधन एवम् परिमार्जन गर्छ। अहिले त्यहाँ २०२१ मा पछिल्लोपटक परिमार्जन भएको कोड कार्यान्वयनमा छ। अहिले मोडल कोडका रुपमा जापान, न्यूजिल्याण्ड र अमेरिकाको क्यालिफोर्निया तीनवटा पर्छन्। यी सबै देशहरुले नियमित रुपमा कोड परिवर्तन गर्ने गरेका छन्। 

नेपालको हकमा सन् १९८८ सम्म बिल्डिङ कोडको अस्तित्व नै थिएन। खबरै थिएन। मेरो अध्ययनअनुसार १९८८ तिर उदयपुर आसपासतिर भूकम्प गएको थियो। त्यसपछि मात्रै बिल्डिङ कोड बनाउनुपर्छ भनेर सहरी विकास तथा भवन निर्माण विभागले नेतृत्व लिएर युएनडीपीको फन्डिङमा तीन चार वर्ष लगाएर सन् १९९४ मा सार्वजनिक गरेको थियो। 

हामी कति पछाडि छौं भन्ने कुरा कहाँबाट बुझिन्छ भने १९९४ मा नेपालको कोड आउँदा, त्यही समय अमेरिकाले विस्तृत बिल्डिङ कोड सार्वजनिक गरेको थियो। अमेरिकी कोडले माटोको प्रभाव कस्तो हुन्छ, बिल्डिङको उचाइले कसरी असर गर्छ, भवन कस्तो खालको अकुपेन्सी हो अस्पताल भवन हो कि अन्य कुनै, यी सबै पक्षलाई समेटेर विस्तृत कोड बनेको थियो। 

तर, हाम्रो कोडले भने कुनै फर्मुला (सूत्र) केही भनेको छैन। नेपाली कोडले भवनको तौलको करिब करिब आठ प्रतिशत जति 'ल्याटरल' लगाउ भनेको छ। सन् १९०६ मा अमेरिकाले ठूलो भूकम्प जाने वित्तिकै १० प्रतिशत गर्ने है भनेर ७०/८० वर्ष अघि भनिसकेको थियो। यो १९९४ मा ८ प्रतिशत मात्रै नेपालमा आयो। अरु केही पनि छैन। 

त्यसपछि सन् २०१५ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि मात्रै सरकारले नयाँ बिल्डिङ कोड बनाउन तदारुकता देखायो। डा. प्रेमनाथ मास्केको नेतृत्वमा नयाँ बिल्डिङ कोड निर्माण थालिएको थियो। २०१५ देखि करिब चार वर्ष काम भएर २०१९ मा बिल्डिङ कोडको मस्यौदा प्रकाशित भयो। २०२० देखि नयाँ बिल्डिङ कोड नेपालमा लागु भयो। यो कोड २५ वर्ष पुरानो छ। ठ्याक्कै १९९७ को युबीसीको धेरै पक्ष यसमा समेटिएको छ। अरु पक्ष केही नयाँ भएपछि आधारभूत बेसियर निकाल्ने भन्ने सूत्र ठ्याक्कै युबीसीकै छ। 

एनबीसी (नेसनल बिल्डिङ कोड) १०५:२०२० प्रयोग गरी गरिने सेस्मिक डिजाइन साह्रै पुरानो र आर्थिक रूपमा सबल मानिँदैन। त्यसकारण, एनबीसी १०५:२०२० परिमार्जन गरी समयसापेक्ष भूकम्प प्रतिरोधी डिजाइन बनाउन आवश्यक छ।    

नेपालमा केही परिवर्तन ल्याउन तयार नभएको देखिन्छ। जोखिम उठाउने आँट कसैको देखिएन। मैले कोड निर्माणमा संलग्न विज्ञदेखि सरकारी अधिकारीहरुसँग छलफल गरे। तर कोही पनि आधुनिक र वैज्ञानिक कोड नेपालमा निर्माण गर्न वास्तै नगरेको पाएँ। सायद भारतले नयाँ कोड ल्याएपछि मात्रै हाम्रो सरकारी एवम् कर्मचारीतन्त्र त्यसैको सिको गरेर अघि बढ्न खोजेको जस्तो देखिन्छ। हामी आफैं अध्ययन गरेर गर्न सक्ने काम पनि गरिरहेका छैनौं। भारतले कतिपय स्थानहरुमा प्रावधान तोकेरै विदेशी कोड प्रयोग गर्न दिएको छ। 

पर्फर्मेन्समा आधारित बिल्डिङ कोड
बिल्डिङ कोडले म्यान्डेटरी गाइडलाइन दिन्छ। यो यो कुरा पालना गर्नुपर्छ भनेर भर्खरै आएका इन्जिनियरहरुलाई (फ्रेसर्स) दिशा प्रदान गर्छ। कोडको अर्को पाटो भनेको तपाईंले कोड पालना गर्नुस् वा नगर्नुस् तर तपाईंले निर्माण गरेको भवनले पर्फर्मेन्स देखाउनुपर्छ। 

भवन जसरी बनाउनुस्, पर्फर्मेन्समा आधारित कोडहरु विदेशमा प्रचलनमा छ। एउटा भनेको सरकारले कोड बनाएर प्रेस्क्राइब गरेको हुन्छ। अर्को भनेको पर्फर्मेन्स देखाउन सक्नुपर्छ। कुनै लगानीकर्ताले इन्जिनियरलाई घर बनाउन लगाउनु हुन्छ। तपाईंले भन्नुहुन्छ, मेरो भवन बनाउ, आफ्नो आवश्यकता इन्जिनियरलाई भन्नुहुन्छ। 

नेपालको एक सय वर्षको भूकम्पको इतिहास हेर्नुस्, अध्ययन गर्नुस् र आउँदो सय वर्षसम्मको भूकम्पीय जोखिम मूल्यांकन गरेर मेरो स्ट्रक्चर क्षति नै हुनु भएन, कि थोरै क्षति हुनुभयो, क्षति यति हुन्छ त्यसको पुनर्निर्माण गर्न अनुमानित यति लागत लाग्छ, पुनर्निर्माणका लागि कति समय लाग्छ, कति समय मैले भवन प्रयोग गर्न नपाउने होलगायतका जानकारी इन्जिनियरलाई लगानीकर्ताले दिनुपर्छ। सामान्यतया विगतमा आएको भूकम्प भविष्यमा पनि त्यस्तै आउँछ भन्ने हुन्छ।  

इन्जिनियरले आफ्नो क्षमता उपयोग गरेर तपाईंको आवश्यकताअनुसार कम्प्युटर मोडलिङ गरेर पर्फर्मेन्स देखाउन सक्छ। बिल्डिङ कोड कडाइका साथ पालना गर्नुपर्ने भए किन तीन-तीन वर्षमा त्यो फेर्नुपर्‍यो र? बिल्डिङ कोड कुनै ग्रन्थ होइन। आजसम्म जानिएको ज्ञानलाई परिस्कृत ढंगले यो गर्नुपर्छ भनेर भन्नुनै बिल्डिङ कोड हो जस्तो लाग्छ। नेपालमा बिल्डिङ कोडले के भनिरहेको छैन भने पर्फर्मेन्स केही पनि मतलब गरिरहेको छैन। 

नेपालमा पनि बिल्डिङ कोड अक्षरशः पालना गरेर भवन बनाएर दिए हुन्छ। त्यो भवनले कति भूकम्प थेग्न सक्छ भन्ने कुनै ग्यारेन्टी छैन। किनकि त्यसमा पर्फर्मेन्स केही हेरिएकै छैन। जे लेखिएको त्यही सही हुन्थ्यो भने किन नियमित रुपमा बिल्डिङ कोड फेर्नुपर्थ्यो र? 

३००० बीसी अगाडिको कुनै बिल्डिङ कोड हेर्नुभयो भने त्यतिखेर इन्जिनियरहरु पनि थिएनन्, दक्ष कामदार पनि थिएनन्, त्यतिबेलाका कोडमा पर्फर्मेन्स लेखिएको देख्नुहुन्छ। मेरो भवन यस्तो हुनुपर्‍यो कि त्यहाँबाट मान्छे खसेर मर्नु भएन। यही अवस्थालाई रोक्ने गरी भवन बनाउनु पर्‍यो। जसरी बनाए पनि मान्छे नखस्ने गरी बनाउनुपर्‍यो भनेर उनीहरु पर्फर्मेन्समा केन्द्रित भए। 

समयक्रमसँगै धेरै इन्जिनियरहरुको उत्पादन भए। त्यही भएर उनीहरुलाई गाइडलाइन्स दिनुपर्ने भयो। भर्खरै इन्जिनियर बनेकालाई सुरक्षित भवन बनाउन कोडले गाइड गर्‍यो। तर, उनीहरु मेसिनरी जस्तै भए। यो यो पालना गर्‍यो भने जुन इन्जिनियरले बनाए पनि 'यु आर सेफ' भन्ने भयो।

प्रत्येकपटक भूकम्प आउँदा नयाँ क्षति गरिदिन्छ। पहिला डिजाइन गरेको भवनमा भूकम्पले क्षति गर्छ। फेरि भवन रेट्रोफिट गर्नुपर्छ। अब अहिले के बुझ्दै गएका छन् सबैले भने हामी अब पर्फर्मेन्स हेरौं भन्नेमा पुगेका छन्। अहिले कम्प्युटरहरु यति एड्भान्स भइसकेका छन् अवस्थाअनुसार क्षतिको मूल्यांकन गर्न सकिने भएको छ। घर बनाउनुभन्दा अघि नै के हुन्छ त भनेर परीक्षण नै गर्न सकिन्छ।

हाम्रो बिल्डिङ कोडमा भएका समस्या
इन्जिनियरले मुख्यगरी दुईवटा कुरा हेर्छ। एउटा माग कति आयो र अर्को क्षमता कति बनाउने। माग र क्षमता इन्जिनियरले तुलना गर्छ। रिबार दिनुभयो, कोलम ठाउँमा दिनुभयो, सेयरवाल दिनुभयो त्यसले क्षमता तिर हेर्नुपर्‍यो। अब माग तिर भने भूकम्पको फोर्सलाई नै चिन्नुपर्ने हुन्छ। कुन स्तरको भूकम्प आउँछ। त्यो भूकम्पलाई नै क्वान्टिफाइ गर्ने विज्ञान (प्रोब्याबलिस्टिक साइन्स) छ। 

भवनमा डेड लोड हुन्छ। जुन भनेको फर्निचरलगायतका सामग्रीहरुको वजन हो। त्यसको वजन खासै परिवर्तन हुँदैन। त्यसैगरी, भूकम्पले पनि एउटा लोड लिन्छ। तर, त्यो लोड फरक फरक हुन्छ। कस्तो आउँछ त्यो प्राकृतिक हुन्छ। 

त्यसैले अब बिल्डिङ कोडले दुईवटा पक्षलाई सम्बोधन गर्नुपर्छ। एउटा डिमान्डलाई क्वान्टिफाइ गर्ने अर्को भनेको डिजाइन। भूकम्पको डिमान्ड छ नि त्यो हाम्रो बिल्डिङ कोडमा २५ वर्ष पछाडि छ। हामीले भूकम्पको फोर्सको क्वान्टिफाइ सही तरिकाले नगरेपछि त त्यसपछिको त सबै पक्ष गलत हुन्छ। हाम्रो बिल्डिङ कोडको मेरुदण्ड नै छैन। 

भूकम्पको फोर्स यति आउँछ भनेपछि त्यो फोर्स भवनको कुन ठाउँमा आउँछ, कसरी वितरण गर्ने र त्यो डिस्ट्रिब्युट गरेको तरिका अनुसार भवनको डिजाइन हुन्छ भित्र। भवनको प्रत्येक कम्पोनेन्ट कसरी बलियो बनाउने काम इन्जिनियरले गर्छ।

कोड बनाउने मान्छेहरुले त सुरुमै भूकम्पको फोर्स नै सही अनुमान गर्न सक्नुपर्छ। ठूला ठूला विश्वविद्यालयहरुले विभिन्न भूकम्पहरुको अनुसन्धान गरेका छन्। त्यसको उपयोग नेपालले पनि गर्नुपर्छ। किनकि नेपाल र क्यालिफोर्नियाको सेक्सिम जोखिम स्तर बराबर छ। त्यहाँको भूकम्पको फोर्स र हाम्रोमा उस्तै उस्तै हुनुपर्‍यो। तर, स्थानीय स्तरको अध्ययन पनि गर्नैपर्छ। स्थानीय अवस्था क्यालिफोर्निया र नेपालको फरक पर्न सक्छ। जोखिम त उही जस्तै हो। 

गणितीय हिसाबले निकाल्ने फोर्स क्यालिफोर्निया र नेपालमा किन फरक हुने त। कुनै एउटा वैज्ञानिक कारण चाहियो नि। फोर्स यकिन भएपछि इन्जिनियरलाई गर्न लगाउने डिजाइन त्यहाँ र यहाँ केही फरक हुन सक्छ। अध्ययनले देखाउनुपर्छ।  

नेपालको र क्यालिफोर्नियाको एउटा स्थान लिएर १९९७ को कोड प्रयोग गरी डिजाइन गर्‍यो भने उस्तै-उस्तै हुने खालको लोकेसन लिएँ। क्यालिफोर्निया १९९७ बाट कोड फेरिएका कहाँ पुगिसकेका छन्। कति फोर्स आउँछ भनेर तयारी अवस्थामा छन्। हामी कहाँको कहाँ छौं। हामी पछाडि छौं। यसलाई सुधार्नुपर्ने आवश्यकता छ।

भूकम्पको जोखिम कायमै
अब नेपालको भूकम्पीय जोखिमको बारेमा कुरा गरौं। लाखौं वर्षअघि इन्डियन र तिब्बेतियन प्लेट नजिक-नजिक आउँदा ठोक्कियो। नेपाल जहाँ इन्डियन र तिब्बेतियन प्लेट ठोकियो त्यसकै माथि छ। नेपाल त्यही भएर सेस्मिकल्ली सक्रिय क्षेत्र हो। भूकम्प जाने पनि विभिन्न तरिकाको हुन्छ। 

एउटा घस्रिन्छ, एउटा तल माथि अर्को प्लेट खप्टिने किसिमको हुन्छ। नेपालको सवालमा सबैभन्दा खतरा यही खप्टिने खालको भूकम्प हो। यसले सात रेक्टर स्केलभन्दा माथिको भूकम्प ल्याउने यही किसिमको भूकम्प हो। हाम्रो केसमा तिब्बतियन प्लेटभन्दा तल इन्डियन प्लेट बसिरहेको छ। नङ बढ्ने स्तरमा प्लेट झनझनै भित्र गइरहेको छ। 

प्रतिवर्ष एकदेखि दुई सेन्टिमिटर रफ्तारमा भित्र गइरहेको छ। जति जति भित्र जान्छ त्यति नै शक्ति सञ्चय भइरहेको हुन्छ। २०७२ सालमा गएको भूकम्प त्यति धेरै क्षमताको नआएको र ८ रेक्टरभन्दा माथिको भूकम्प आउन सक्छ यहाँ।

(लेखक पुरीले सन् २००० मा अमेरिकाबाट पोस्ट डक गरेका छन्। जापानको टोकियो विश्वविद्यालयबाट उनले पीएचडी गरेका छन्। एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उनले स्नातकोत्तर गरेका छन्। सन् २००० देखि उनले अमेरिकामा स्ट्रक्चरल इन्जिनियरिङ अभ्यास गर्दै आएका छन्।)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell