तेलको मूल्य बढेपछि एसिया विद्युतीय बाइक र स्कुटरको हब बन्दै, उत्पादक कम्पनी छन् उत्साहित




काठमाडौं। बेलायतमा विद्युतीय सवारी साधन भन्नेवित्तिकै टेस्ला वा अन्य विद्युतीय कार भन्ने बुझाउँछ। त्यहाँ चार पाँग्रे सवारी साधन धेरै चल्छन्।



तर एसियामा भने व्यक्तिगत सवारीसाधनको चलन फरक छ। एसियामा सबैभन्दा बढी बाइक तथा स्कुटर व्यक्तिगत सवारीसाधनका रूपमा प्रयोग हुन्छ। एसियाली देशमा मोटरसाइकल तथा स्कुटरहरू जताततै देख्न सकिन्छ।

रुस-युक्रेनको युद्धसँगै पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि विद्युतीय सवारी साधनको बहस सुरु भएको छ भने विद्युतीय सवारी साधन उत्पादक पनि आफ्नो बजार बढ्ने देखेर उत्साहित छन्। तेलको बढ्दो मूल्यसँगै एसियामा विद्युतीय सवारीको बढ्दो बजारलाई हेरेर उत्पादक कम्पनीसमेत खुसी छन्।

ताइवान, कम्बोडिया, भारत, चीन, नेपाल वा इन्डोनेसियामा परिवार बोकेको दुई पाङ्ग्रे सवारीसाधन नै बढी देखिन्छ। 

एसियाले विश्वव्यापी मोटरसाइकल तथा स्कुटरको बिक्री र प्रयोगको आधाभन्दा बढी हिस्सा ओगटेको छ। एसियाका कुनै देशमा एउटा परिवारको लागि मोटरसाइकल तथा स्कुटरको स्वामित्व नहुनु असामान्य मानिन्छ।

उदाहरणको लागि प्रतिव्यक्ति सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर प्रयोग गर्ने देश थाइल्याण्ड हो। त्यहाँ ८७ प्रतिशत घरपरिवारको कम्तीमा एउटा मोटरसाइकल तथा स्कुटर छ। 

भियतनाममा ८६ प्रतिशत, इन्डोनेसिया ८५ प्रतिशत, मलेसिया ८३ प्रतिशत र नेपालमा ७९.३ प्रतिशत थाइल्यान्ड नजिक छन्। यस्तै चीनमा ६० प्रतिशत र भारतमा ४७ प्रतिशत मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ता छन्।

एसियाका अधिकांश मोटरसाइकल तथा स्कुटरहरू हाल पेट्रोलमा चल्छन्। तर यातायात विज्ञहरू भन्छन्-'विद्युतीय संस्करणहरूमा ठूलो रूपमा गति लिइरहेको छ।' विद्युतीय बाइक तथा स्कुटर उत्पादक कम्पनीले एसियामा ठूलो बजार देखिरहेका छन्।

'एसियामा विद्युतीय मोटरसाइकल तथा स्कुटरको बिक्रीको ठूलो अवसर देख्छौं,' ग्लोबल रिसर्च ग्रुप इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका अटोमोटिभ विश्लेषक आरुषि कोटेचा भन्छिन्, 'विशेष गरी चीन बाहिर, भारत, नेपाल, र दक्षिणपूर्वी एसिया जस्ता बजारहरूमा कारहरू किन्न सक्ने आर्थिक अवस्था कम छ।'

उनका अनुसार विशेष गरी यस्तो समयमा खाद्यान्य र इन्धन मुद्रास्फीति धेरै उच्च छ। यसले पेट्रोल गाडीको प्रत्यक्ष लागत दोब्बरले थप्नेछ। उनले पेट्रोलियम मूल्यकै कारण इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरमा स्विच गर्ने सम्भावना बढी रहेको बताइन्।

कोटेचाले यस दशकको अन्त्यसम्ममा एसियामा विद्युतीय मोटरसाइकल तथा स्कुटरको बिक्री र प्रयोग अहिलेको तुलनामा तीनदेखि चार गुणाले बढ्न सक्ने बताइन्।

यसैबीच एक अध्ययन प्रतिवेदन अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरको विश्वव्यापी बिक्री कारोबार २०२० मा १५ अर्ब ७३ करोड डलर भएको थियो तर सो कारोबार रकम बढेर २०३० सम्म ३० अर्ब ५२ करोडले दोब्बर हुनेछ।

सबै भन्दा ठूलो उत्पादक चीन

चीनले हाल विद्युतीय मोटरसाइकल तथा स्कुटरको विश्वव्यापी उत्पादनमा प्रभुत्व जमाएको छ। जुन प्रायः सबै स्कुटरहरू हुन। नेपालमा पनि चिनियाँ ब्रान्डको स्कुटरहरु धेरै उपलब्ध छन्।

सबैभन्दा ठूलो उत्पादकहरू मध्ये एक बेइजिङमा आधारित एनआईयू टेक्नोलोजीज हो। जसले २०१५ मा आफ्नो पहिलो मोडेलहरू लन्च गरेको थियो। कम्पनीका वैश्विक रणनीति निर्देशक जोसेफ कन्स्टान्टी कम्पनीलाई विद्युतीय स्कुटरमा आफ्नो कम्पनी अग्रणी रहेको जिकिर गर्छन्।

उनी भन्छन्, 'चीनमा पहिले विद्युतीय मोटरसाइकल तथा स्कुटर चलिरहँदा तिनीहरूले भारी एसिड ब्याट्री प्रयोग गर्थे। एनआईयूले टेस्ला वा मोबाइल फोनमा हुने आधुनिक लिथियम ब्याट्रीहरू सहितको विद्युतीय स्कुटरहरू देशमा बेच्ने पहिलो हो।'

चीनमा विद्युतीय मोटरसाइकल बिक्रीका लागि सरकारी प्रोत्साहन गरेको छ जसका कारण सहरी प्रदूषण समेत कम छ। 

चिनियाँ अटोमोटिभ एनालिसिस फर्म सिनो अटो इनसाइट्सका संस्थापक र प्रबन्ध निर्देशक तु भन्छन्, ‘इलेक्ट्रिक मोटरसाइकलहरू एसियाभरि प्रचलित हुन अझै पनि धेरै काम गर्न बाँकी छ। एउटा मुख्य कुरा भनेको धेरै चार्जिङ स्टेशनहरूको आवश्यकता छ। जसले तिनीहरूलाई ग्रामीण क्षेत्रहरूमा एक छुटै विकल्प बनाउँछ। त्यसैले फाष्ट चार्जिङ हुनु जरुरी छ।'

चार्जिङमा नयाँ प्रविधि

यामाहा र होन्डा जस्ता ठूला जापानी मोटरसाइकल निर्माताहरूले अहिले विद्युतीय मोडलहरू बनाउन थालेपछि एसियाली बजारमा नयाँ कम्पनीहरूले नेतृत्व लिएका छन्। ताइवानको गोगोरो यस्तो फर्म हो, जसले बाइक चार्ज गर्न लाग्ने लामो समय कुर्नुपर्ने समस्याको समाधान ल्याएको छ।

ताइवानमा गोगोरोले २२०० भन्दा बढी ब्याट्री स्टेशनहरू बनाएको छ। यो स्टेसनहरुमा ब्याट्रीहरू नि: शुल्क चार्ज गर्न सकिन्छ। ग्रामीण क्षेत्रका स्टेशनहरू २४ घण्टा चल्छन्।

गोगोरोले अब यो ब्याट्री-स्वापिङ हार्डवेयर र प्रविधि एसियाभरका साझेदार कम्पनीहरूलाई उपलब्ध गराउने योजना बनाएको छ। जसमा भारतमा हिरो, इन्डोनेसियाको गोजेक र चीनमा डीसीजे र याडीया समावेश छन्। गोगोरोले यामाहासँगको साझेदारीमा पनि काम गरिरहेको छ।

गोगोरोका प्रमुख कार्यकारी होरेस ल्यूक भन्छन्, 'कम्पनीले विद्युतीय मोटरसाइकल संसारको एन्ड्रोइड बन्न प्रयास गरिरहेको छ। अन्य ब्रान्डहरूको लागि पनि काम गर्दैछ।'

 (एजेन्सी)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell