सेयरले एक वर्ष यताकै न्युनतम मूल्य विन्दुलाई परीक्षण गर्दै छ। यद्यपि सेयर बजार साइकलको पहिलो सत्र बुलिस टाइमफ्रेममा हिमालयन डिष्टिलरीको सेयर मूल्यले ६०० प्रतिशतको वृद्धि कायम गर्न सफल थियो। ११४० रुपैयाँको न्यून विन्दुबाट उदय भएको कम्पनीको मूल्यले झन्डै ८ हजार रुपैयाँसम्मको यात्रा तय गर्यो।
बजारको बुलिस मुभमा ब्लु चिप यस सेयरले खरिदकर्ताको निकै बलियो सहायता पाउन सफल रह्यो। जब जब कम्पनीको लाभांश र त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने समय नजिकिन्छ, क्रेताको आकर्षण तब तब चुलिंदै जाने गर्छ। विशेषगरी लाभांश घोषणाभन्दा अघि कम्पनीको मूल्य गतिविधिले भिन्नै प्रदर्शनी दिने गरेको पाइन्छ।
११४० रुपैयाँबाट उद्गम भएको कम्पनीको मूल्यले उक्त समय पनि लाभांश निकै आकर्षक वितरण हुने चर्चाको सहायता पाएको थियो। ११ सयबाट बढ्न सुरु गरेको मूल्य आव २०७६/७७ को लाभांश वितरणको अघिल्लो दिनसम्म ५ हजारको मूल्य विन्दुलाई पर गरिसकेको अवस्था थियो।
कम्पनीले सो आर्थिक वर्षका लागि शत प्रतिशत लाभांश पनि वितरण गर्यो। ५० प्रतिशत बोनसका आधारमा मूल्य समायोजन हुँदा समते कम्पनी प्रति लगानीकर्ताको आकर्षण भने कम भएन। जसको परिणामस्वरूप कम्पनीले झन्डै ८ हजारसम्मको यात्रा तय गरेको थियो।
त्यस्तै, कम्पनीको मूल्यले कीर्तिमानी छलाङ लिंदै गर्दा कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको थियो। उत्साहजनक कम्पनीको प्रगति सार्वजनिक हुनु अगावै मूल्य गतिविधिले उक्त प्रगतिलाई उद्धृत गरिसकेको अवस्था थियो।
हुन त नेप्सेको बुलिस मुभमेन्टले उक्त समय सेयर बजारमा निकै ठूलो ऊर्जा समेत पैदा गरेको थियो। उक्त उर्जाले लगानीकर्ता माझ निकै लोकप्रिय ब्लु चिप कम्पनीहरुको मूल्यमा निकै ठूलो उछाल कायम गरेको मूल्य गतिविधिले देखाउँछ।
सेयर बजार डाउन ट्रेन्डमै रहँदा समेत पनि लाभांश नजिकिए लगत्तै कम्पनीले लगानीकर्ताको आकर्षण बटुलेको थियो। गत आर्थिक वर्षका लागि कम्पनीले लाभांश घोषणा गर्नु पूर्व पनि हिमालयन डिष्टिलरीको सेयर मूल्यले फराकिलो छलांग कायम गरेको थियो।
उत्साहित लगानीकर्ताको वर्गलाई कम्पनीले प्रतिफलमा भने कहिल्यै निराश गराउने गरेको छैन। गत आर्थिक वर्षका लागि पनि कम्पनीले शत प्रतिशत लाभांश नै वितरण गर्यो। यसकारण पनि लगानीकर्ताको विश्वास हिमालयन डिष्टिलरीप्रति गाढा रहेको बुझ्न सकिन्छ।
लगानीकर्ताको आँखाले डिष्टिलरीको सेयरलाई सधै ब्लु चिप देख्ने गरेको पनि छ। एक दशक लामो इतिहासमा कम्पनीले औसत ५१ प्रतिशत अधिक लाभांश वितरण गर्ने गरेको छ। जसमध्ये पछिल्लो तीन आर्थिक वर्षदेखि सेयरधनीले लगानीको शतप्रतिशत अंश फिर्ता पाउने गरेका छन्।
नेपालमा गोल्डेन ओक, ब्ल्याक ओक र ब्लू ओक जस्ता ब्रान्डेड मदिरा उत्पादन तथा बजारीकरण गर्दै यस कम्पनीले सेयर बजारमा पनि ब्लूचिफ कम्पनी बनेर राज गर्दै आइरहेको थियो।
हालबजार घटिरहेकै अवस्थामा पनि दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता झन्डै तीन हजार छ। कम्पनीको सेयर मूल्य बढी हुनुको मुख्य कारण कम्पनीले कमाउने मुनाफा र लगानीकर्तालाई दिने बोनस सेयर तथा नगद लाभांश हो।
यसैगरी कम्पनीले पनि वार्षिक रुपमा आफ्ना लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरण गर्दै आइरहेको छ।
सूचकांक खुम्चिँदा पनि नाफा सन्तोषजनक
बढ्दो पेट्रोलियम मूल्यसँगै निरन्तर उकालो लाग्ने क्रममा रहेको मुद्रास्फीतिले विश्व बजार मन्दीतर्फ धकेलिंदै गरेको छ। आयातमै भर पर्ने हाम्रो मुलुकमा बढेको पेट्रोलियम र चुलिंदो मुद्रास्फीतिको प्रत्यक्ष प्रभाव पर्ने गरेको वर्तमानको परिवेशले देखाएको पनि छ। उक्त दबाबका बाबजुद वास्तविक क्षेत्रको हिमालयन डिष्टिलरीले भने नाफाको वृद्धिदरलाई भने कायम राख्न सफल छ।
नेपालमा गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता ब्रान्डेड मदिराको उत्पादन तथा बजारीकरण गर्ने हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमायो। पोहोरको सोही अवधिसँग तुलना गर्ने हो भने १७ प्रतिशत अधिकको सुधार नाफामा देखिन्छ।
यस अवधिमा बढेको आम्दानीले नाफाको बढ्दो आकारलाई सहायता पुर्याएको हो। चालु आर्थिक वर्षको ९ महिने अवधिमा कम्पनीले कुल ५ अर्ब १८ करोड रुपैयाँको आम्दानी गर्यो। उक्त कारोबार पोहोरको तुलनामा ३० प्रतिशत अधिक बढेको समेत छ। कम्पनीको लागत भने यस पटक बढेको देखियो।
पोहोर चैतको तुलनामा कम्पनीको उत्पादन खर्च ८१ प्रतिशत अधिक बढेको छ। ८ करोड ४६ लाख रुपैयाँमा सीमित गत आर्थिक वर्षको उत्पादन खर्च यो चैत अन्त्यसम्म आइपुग्दा १५ करोड ३२ लाख रुपैयाँ अधिक छ। डिष्टिलरीको बिक्री तथा वितरण लागत पनि बढेको छ।
बढेको खर्चको आकारका बाबजुद कम्पनीको संचालन नाफा झन्डै १५ प्रतिशत बढेको छ। जसको परिणाम खुद नाफा पनि गत आर्थिक वर्षको तुलनामा बढ्न गरेको हो।
नाफामा सुधार आएपछि कम्पनीको प्रति सेयर आम्दानी भने घटेको पाइयो। जुन गत सालको चैतमा १०३.३८ रुपैयाँ रहेको इपीएस यस चैतमा ६९.२२ रुपैयाँमा सीमित हुन् पुगेको छ। चुक्ता पुँजीको अनुपातमा कम्पनीले खुद नाफा बढाउन असफल हुँदा प्रति सेयर आम्दानीमा गम्भीर असर परेको हो।
अघिल्लो चैतको तुलनामा कम्पनीको चुक्ता पुँजी ७५ प्रतिशत बढेको छ। जबकी खुद नाफा जम्मा १७ प्रतिशत मात्र। कम्पनीको चुक्ता पुँजी ७५ प्रतिशतको फराकिलो दायराले बढ्नुको प्रमुख कारण कम्पनीले गत आर्थिक वर्षका लागि भनि वितरण गरेको ७५ प्रतिशत बोनस सेयर हो। आव २०७७/७८ का लागि कम्पनीले शतप्रतिशत प्रतिफल वितरण गरेको थियो। जसमध्ये ७५ प्रतिशत बोनस सेयर थियो भने २५ प्रतिशत कम्पनीले नगद दिएको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ पनि घटेको छ। करिब १९ रुपैयाँको गिरावट पार्टी सेयर नेटवर्थमा देखिन्छ। हाल कम्पनीको प्रति सेयर नेटवर्थ १६९.६४ रुपैयाँ छ, जुन पोहोर चैतमा १८८.५४ रुपैयाँ थियो। धितोपत्र बजारको अन्तिमा कारोबार मूल्य २८९८ रुपैयाँका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात झन्डै ४२ गुणा छ।