मदन भण्डारी राजमार्गः सिन्धुली-बसाहा खण्डमा सडक कालोपत्रे तर पुलहरु बन्नै बाँकी




काठमाडौं। फराकिलो र नयाँ सडक छ तर सरर अगाडि गयो बीचमा पुल नै छैन। निर्माणाधीन मदन भण्डारी राजमार्गको सिन्धुली-उदयपुर खण्डमा यस्तो छ। भिमानदेखि बसाहासम्मको १३४ किलोमिटरमा सडक मापदण्डअनुसारको तयार भएर सवारी चल्न थालिसकेका छन्। 



धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली हुँदै हेटौंडासम्मको यो सडक खण्ड २०६२/६३ को आन्दोलनपछि पूर्वाधारका योजनामा भएका काममध्ये सरकारको देखाउने दाँत बराबर छ। यसमा सबैभन्दा बढी काम भएको छ। यो खण्डअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहादेखि सिन्धुलीको भिमानसम्मको १३४ किलोमिटरमध्ये केही सडक खन्ड मात्र कालोपत्रे हुन बाँकी छन्।

यो सडक ठूला मालवाहक सवारी साधनहरू दोहोरो चल्नसक्ने गरी निर्माण गरिएको छ। सडकको नाला र फुटपाथ बाहेक ठाउँअनुसार कम्तीमा साढे सातदेखि ११ मिटर चौडाइसम्म कालोपत्रेको प्राविधिक स्टिमेट बमोजिम सडक निर्माण भएका छन्। सडकका दुवैतर्फ व्यवस्थित नाला र फुटपाथसहितको निर्माण कार्य प्राय: सबै ठाउमा सम्पन्न भइसकेका छन् भने कतै कतै बनिरहेका छन्।

उदयपुरको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको राजमार्ग पूर्वी सिमाना सप्तकोसीदेखि पश्चिमसम्म महाभारत पहाडको तल्लो भागबाट निर्माण भइरहेको छ। यो राजमार्गको भिमान-बसाहा खण्डमा अब पुल निर्माणको मात्र समस्या छ।

यो सडकमा बर्खरै नयाँ कालोपत्रे गरिएको छ। चिल्लो पारिएको छ। सडक सेफ्टीका पूर्वाधारहरु निर्माण गरिएका छन्। लाग्छ कुनै विकासित राष्ट्रको सडकमा यात्रा गरिरहेका छौं। तर बिचबिचमा पुल निर्माण नहुदा फेरी त्यही पुराना सडकहरुको अभास हुन्छ।

बिचबिचमा निर्माण गरिनुपर्ने पुलहरुको काम हुन सकेको छैन। कतै पुल आधा छन् त कतै जग भर्खरै हाल्न लागिएको छ। कतै पुल बनेका छन् तर पहुँच मार्ग निर्माण गरिएका छैनन्। वर्षा लागेको आभास हुन थालेको छ। यस्तै रहे बन्दै गरेका पुल वर्षा लाग्नु अगाडि सम्पन्न गर्न नसके सबै बगाउने देखिन्छ।

यस खन्डको खोलामा पुल निर्माण अनिश्चित हुँदा वर्षातको समयमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ। खोलामा पानीको बहाव बढेसँगै यातायातका साधन र सर्वसाधारणको आवागमन अवरुद्ध हुने देखिन्छ।

यस क्षत्रमा एक किलोमिटर जति सरर कालोपत्रे नयाँ सडकमा आरामदायी यात्रा गर्दा अगाडि बिचमा आउने खोलामा बन्न नसकेको पुलले सकस यात्रा गर्नुपर्ने अवस्था रहेको छ। अचम्मको कुरा के छ भने सरकारले ६ महिनाको समयका लागि मात्र यस्ता पुल निर्माण गर्न परिरहेको छ। जहाँ वर्षाको समयमा मात्र पुल आवश्यक पर्छ नत्र भने अरु समय खोला सुक्खा नै हुन्छ।

यस सडकको छेउछेउमा नयाँ बस्तीहरु बस्न थालेका छन्। नयाँ घरहरु धेरै बनिरहेका छन्। पसलहरु कतैकतै देखिन्थो। यो सडकले पर्यटकीय महत्व समेत राखेको आयोजनाले जनाएको छ। सडक र पुलले यहाका मानिसको जीवनमा सुधार ल्याएको छ। रोजगारीको अवसर बढेको,सडक निर्माण भएपछि कृषिजन्य उत्पादनले बजार पाएको, सिपमुलक तालिम पाएपछि स्थानीयले आयस्रोत बढाएको छ। सडक निर्माणपछि यहाका मानिसहरुको जीवनमा पहिलेको तुलनामा सुधार र खुसी ल्याएको छ।

यस राजमार्गले चुरेपहाड र भित्री मधेसबाट पूर्व-पश्चिम जोड्ने छ। निर्माणाधीन मदन भण्डारी राजमार्गको पूर्वी खण्डले उदयपुरको वेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकालाई छोएको छ। कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हुँदै हेटौंडा जोडिने राजमार्गलाई भित्री मधेसको लाइफलाइनका रूपमा हेरिएको छ।

पुल निर्माण पुरा गर्न अझै ४० करोड चाहिन्छ

आयोजनाका अनुसार निर्माणाधिन पुलको काम सम्पन्न गर्न ४० करोड बजेट अभाव भएको छ। यसै कारण पुल समयमा निर्माण हुन नसकेको आयोजनाले जनाएको छ। 

यहा निर्माण भइरहेको पुलको काम समयमा सम्पन्न नभएर कालोपत्रे गरिएको चिल्लो सडक प्रयोगमा आउन अर्को वर्ष कुर्नुपर्ने छ।

ठेक्का पाउने निर्माण कम्पनीले वर्षा अगाडि पुल निर्माण सक्ने गरी काम गरेपनि सरकारले बजेटको व्यवस्थापन नगर्दा आयोजनाले भुक्तानी गर्न सकेको छैन्। निर्माण व्यवसायीले काम गरेको भुक्तानी नभएसम्म काम गर्न नसक्ने बताएका छन्।

४३ वटा पुल भने सम्पन्न भएका छन्। तत्कालिन समयमा बन्न बाँकी १२ वटा पुल रहेका छन्। २२ वटा पुल बनिसकेका छन् तर त्यस पुलमा जनाको लागि पहुँच सडक धमाधम बन्दै छन्। यसका लागि ३ वटा प्याकेजमा आयोजनाले निर्माण कार्य थालेको थियो। यसको म्याद यही फागुनसम्म मात्र रहेको छ।

'आयोजनाले कामलाई तिब्र रुपमा अगाडि बढाएको छ तर बजेट छैन,' आयोजानका एक इन्जिनियरले भने, '१२ वटा पुल निर्माण गर्न बाँकीमा तीन वटा पुल यो चालु आवमा पनि बन्न सक्दैन। ३ वटा पुलको क्षत्रमा चाँही वर्षामा पनि खोलैबाट तर्नुपर्ने हुन्छ।'

आयोजनाका अनुसार हालसम्म ६० करोड बजेट सकिएको अवस्था छ। 'थप ४० करोड आवश्यक रहेको छ। त्यसका लागि अर्थले बजेट दिएको छैन। सडक विभागले अरु आयोजनाबाट जसोतसो तानतुन गरेर २० करोड बजेट व्यवस्था भर्खरै गरेको छ,' ती इन्जिनियरले भने।

आगामी वर्षको लागि भने सरकारले यस आयोजनालाई २ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ।

सडक निर्माण कार्य भने ९६ प्रतिशत सकियो

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व-पश्चिम राजमार्गका रूपमा वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि उदयपुरको बसाहासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको गाईघाटस्थित सो कार्यालयका प्रमुख एवं इन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए।

चार वर्षअघि २०७३ कात्तिकदेखि निर्माण सुरु भएको यो राजमार्ग अन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माण भइसकेको छ भने एप्रोच सडक निर्माणको काम बाँकी छ। त्यसका १२ वटा पुल निर्माणाधिन रहेका छन्।

यो सडकअन्तर्गत उदयपुर र सिन्धुलीको सीमामा पर्ने कमला नदीमा निर्माणाधीन पक्की पुल निर्माणसमेत अन्तिम चरणमा पुगेको छ। पूर्वतर्फको बसाहाबाट गाईघाट हुँदै सिन्धुलीको भिमानसम्मको सडक निर्माणको क्रममा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाको बीचमा पर्ने बागमती क्षेत्रको करिब आठ किलोमिटर खण्डमा संरचना बनाउने र कटिङ गरी ग्रेड मिलाउने लगायतका काम निर्माण सम्पन्न गरी ‘सब बेस’ लगाउने काम सुरु गरिएको छ।

साथै, सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ। पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौंडा-६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ छ।

२०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्र रूपमा काम भइरहेको छ।

राजमार्गको निर्माणको जिम्मा कालिका, स्वच्छन्द र रकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell