सिएको टिमले बनाएको 'टिग', स्टार्टअप, साना तथा मझौला उद्यमको हिसाबकिताब राख्न सहज




काठमाडौं। विगत १२ वर्षदेखि लेखा र करका क्षेत्रमा आबद्ध रहेका एसीसीए रमेश केसीले अडिट फर्ममा काम गर्नेदेखि लिएर साना ठूला बिजनेसहरूलाई वित्तीय परामर्श गर्दै आएका थिए। त्यो समयमा काम गर्दा उनलाई र सोही क्षेत्रमा आबद्द उनी जस्ता हजारौँलाई डेस्कटप सफ्टवेयरमा काम गर्न धेरै समस्या भएको रहेछ। 



उनी सम्झन्छन्, 'गाह्रो यस अर्थमा कि क्लाइन्टको काम गर्दिनुपर्यो उसलाई रिपोर्ट बनाइदिनुपर्यो भने डाटाहरू सबै क्लाइन्टको मा हुने हुँदा उसले पठाइ दिएर फेरि हामीले क्यालकुलेट गरेर पठाइ दिनुपर्ने अथवा उसैकहाँ नपुगी हिसाबकिताब गर्न सकिने अवस्था थिएन।'

यही झन्झटलाई समाधान गर्नलाई नै उनले आफ्नो टिमसँगको सहकार्यमा टिगलाई जन्म दिए। टिग साना तथा मझौला उद्यम लक्षित क्लाउड बेस्ड हिसाबकिताब राख्ने  एकाउन्टिङ सफ्टवेयर हो जुन बि आइ सी टेक्नोलोजीको प्रोडक्टका रुपमा प्रयोगमा आइरहेको छ।   

साना तथा मझौला उद्यमका लागि टिग 
टिगको अवधारणालाई ठोस रुपमा विकास गर्नका लागि रमेशसहित तीनजना सिएहरूको टिमले करिब तीन वर्ष अध्ययन गरेका थिए। विश्वव्यापी रूपमा, कुइकबुक्स, जेरोलगायतका थुप्रै क्लाउड आधारित लेखा सफ्टवेयरहरू बनिसकेको थियो। तर त्यो नेपालका साना तथा मझौला उद्यमहरूले किन्न निकै महंगो पर्ने हुँदा ती सफ्टवेयरहरू ती उद्यमहरूको पहुँचभन्दा बाहिर थिए।

रमेश सम्झन्छन्, 'हामी करिब दुई वर्षसम्म अरू ठूलो प्लायेरहरू आउँछन् भनेर सुरु गरेनौं। पछि ट्याक्सको नियम अनुसार एकाउन्टिङ डाटा तथा सर्भर नेपालमा नै हुनुपर्ने र यसलाई लोकलाइज्ड गर्नैपर्ने जस्ता कारणले हामीले आफैँ टिगको रिसर्चमा जुटेका हौँ।'

रिसर्च सकेलगत्तै सन् २०१९ को अन्त्य र २०२० को सुरुवातमा रमेश लगायतका टिम टिगको विकासमा काम गर्न थाल्यो। रमेश र उद्यमशिलता क्षेत्रमा अग्रसर प्रार्थना शाख:को बेला बखतमा लेखा सम्बन्धी काम पर्दा कुराकानी भइरहन्थ्यो। 

प्रार्थना भन्छिन्, 'उहाँहरू रिसर्च गरिरक्दा म चाहिँ आफूले सुरु गरेकै अर्को कम्पनीमा  एकाउन्टिङको सही समाधान नभएर एकदमै दुख पाएर बसिरहेको थिए। सानो सानो कुरालाई पनि लेखापाललाई सोध्नुपर्ने, उहाँहरूले देखाउनु भएको रिपोर्ट बुझ्न पनि गाह्रो हुन्थ्यो। जब उहाँले टिग डेभलप गर्नु भइसकेपछि त्यो ड्यासबोर्ड हेर्दा खेरी नै सबै कुरा सरल  तरिकाले नै बुझ्न सकें।'

टिगको अवधारणा निकै मन परेर प्रार्थनापनि सोहि टिममा जोडिइन्। अहिले उनी टिगमा प्रमुख बिजनेस डेभलपमेन्ट अधिकारी र सह-संस्थापकको रुपमा आबद्ध छिन्।

करोडको लगानी 
टिगको डेभलपमेन्ट सुरु भए लगत्तै लकडाउन भयो जसले गर्दा टिग बनाउनलाई ढिलाई पनि भएको रमेश बताउँछन्। 'हामीलाई टिग डेभलप गर्नलाई करिब १ वर्ष जस्तो नै लाग्यो। कार्यालयमा नै काम सुरु गरेपनि कोरोना महामारीका कारण हामी आफ्नो घर-घरमा नै सिमित भयौं र काम पनि घरबाट नै गर्यौं। त्यसैले पनि हामीलाई टिग बनाएर लन्च गर्ने ढिलाई भयो।'

गत वर्ष साउनमा लन्च गरिएको टिगमा अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ लगानी भैसकेको २६ वर्षीया प्रार्थना बताउँछिन्। साथै लन्च गरेको नौ महिना नपुग्दै टिगले ४५ लाख अम्दानी गरिसक्यो।

रमेश थप्छन्, 'हाम्रो लक्ष्य भनेको साना तथा मझौला उद्यमहरूलाई डिजिटल रूपमा रुपान्तरण गर्ने हो। यो रुपान्तरण कहाँबाट सुरु गर्ने भनेर सोच्दा  व्यवसायको कुनै पनि कामकारोबार हिसाबकिताबमा आएर ठोकिइहाल्छ। त्यसैले हामीले पनि हिसाबकिताबबाट नै सुरु गरेका हौँ।'

रमेशका अनुसार टिगमा अहिले नेपालमा अत्याधिक प्रयोग हुने ट्यालीमा भएको जस्तै विशेषताहरु छन्। त्यसमा पनि यो क्लाउड बेस्ड भएको हुनाले यो जहाँबाट पनि चलाउन मिल्छ र यो धेरै प्रयोगकर्ताले एकीकृत रुपमा पनि प्रयोग गर्न मिल्छ।

लकडाउनले टिग बनाउन केही ढिलाई भएतापनि लकडाउनले उक्त सफ्टवेयरको सार्थकता बढाएको रमेशको बुझाई छ।  

उनी भन्छन् 'लकडाउन भएसँगै सबैजसो कामहरू घरबाटै हुन थलिसकेको थियो। तर लेखाको काम चाहिँ  हुनसकेको थिएन। एकाउन्टिङ सफ्टवेयर मात्रै डेस्कटप अथवा कार्यालयमा नै भएको कुनै एउटा ल्यापटपमा छ। कसैलाई हेर्नुपरेको खण्डमा पनि लेखापाललाई नै फोन गर्नुपर्ने अवस्था थियो।'

चलाउन सजिलो र सस्तो 
लकडाउन हुन्छ भनेर  सुरु नगरेतापनि  संयोगवश उनीहरूले टिगको डेभलपमेन्ट  लकडाउन अघि देखि नै सुरु गरेका थिए ।

रमेश टिगका विशेषताहरू बताउँछन् 'अरु पुराना सफ्टवेयरहरू सामान्य मान्छे वा व्यवसायीहरूले चलाउन निकै गाह्रो हुन्छ। त्यहाँभित्र छिर्नै सक्दैन, डेबिट क्रेडिट जान्न पर्ने हुन्छ, रिपोर्ट हेर्न पनि धेरै नै गाह्रो पर्छ। यसमा भने डेबिट क्रेडिट सिस्टमले नै छुट्याइदिन्छ र त्यसैको आधारमा रिपोर्टहरू बनाउन सजिलो हुन्छ।'

टिगको मोबाइल एप पनि छ र यो सफ्टवेयर मोबाइल लगायत ट्याब तथा ल्यापटपबाट पनि चलाउन मिल्छ। रमेशका अनुसार डकुमेन्टहरू (बिलहरू, चेकहरू आदि) फोटो खिचेर अपलोड गर्दा लेखापालले आफ्नो ठाउँबाट त्यही फोटोहरू कै आधारमा लेनदेन इन्ट्री गर्न मिल्ने बिशेषता अहिले धेरैले मन पराएको फिचर हो।

यो सफ्टवेयरको सामान्य संस्करणको मूल्य वार्षिक १५ हजार रुपैयाँ पर्छ। यसलाई जति पनि प्रयोगकर्ताले पनि चलाउन सक्छन् भने यसमा जति पनि कागजातहरू अपलोड गर्न मिल्छ।

'हाम्रो चाहिँ सुरुमा तिर्ने मूल्य र अर्को वर्ष तिर्ने मूल्यमा केही पनि फरक छैन। अरु सफ्टवेयरले सुरुमा सेट अप मूल्यहरू भनेर धेरै लिने गर्छन्,' रमेश बताउँछन्, 'परम्परागत सफ्टवेयरहरू किन्दा सुरुमा सस्तो देखिए पनि लामो अवधिमा चाहिँ महँगो नै पर्न आउँछ किनभने एकाउन्टिङको लागि छुट्टै एउटा हार्डवेयर पनि चाहिने हुन्छ, ल्यापटप पनि किन्न पर्यो। लगानी यसरी थपिदै जान्छ। त्यसमा पनि यदि तपाईंले रिमोटली चलाउने हो भने त्यही अनुसारको सर्भरको मूल्य पनि थपिँदै थपिँदै जान्छ।'

लन्चसँगै उनीहरूले आफ्नो चिनजानका व्यवसाय तथा उद्यमहरूलाई टिग प्रयोग गर्न सुझाए। एक महिनाको अन्तरालमा टिग एकसय भन्दा बढी उद्यमहरुले प्रयोग गर्न थालिसकेका थिए। अहिले टिग पाँचसय भन्दा बढी व्यवसायहरुको साथी बनेको छ। टिगमा पेरोल मोडेल जस्ता अझै धेरै विशेषताहरू थप्दै टिगको दोस्रो संस्करण ल्याउने योजनामा काम गरिरहेको रमेशले जानकारी दिए। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell