१४ वर्षदेखि अमेरिकी फास्टफुड चेन सबवेसँग जोडिएकी सुनिता, नेपालमा सिकाई बाँड्ने चाह




अमेरिकामा म्याकडोनाल्ड पछिको सबैभन्दा ठूलो स्याण्डविच चेन रेष्टुरेन्ट सबवेले पोहोर बिगत ८ वर्षयताकै सबैभन्दा ठूलो कारोबार गरेर रेकर्ड नै राख्यो। कम्पनीले सन् २०२१ मा १.४ अर्ब डलरको बिक्री गरेर आफैंले गरेको प्रक्षेपणलाई पनि माथ खुवायो। कम्पनीले पहिले १ अर्ब डलर बराबरको कारोबार हुने प्रक्षेपण गरेको थियो।



सबवेको हाल विश्वका १०० भन्दा बढी देशमा करिब ४० हजार रेष्टुरेन्टहरु छन्। म्याकडोनाल्डभन्दा पछि यो विश्वकै ठूलो रेस्टुरेन्ट चेन भए पनि फेन्चाइजी सम्झौताका आधारमा उसले आफूलाई विश्वकै सबैभन्दा ठूलो क्विक सर्भिस रेष्टुरेन्ट भएको दाबी गर्दै आएको छ। ८ महिनाअघि उसले दक्षिण एसियामा आगामी १० वर्षमा २ हजार स्टोरहरु खोल्नका लागि प्राइभेट इक्विटी फर्म इभरस्टोन ग्रुपसँग सम्झौता गरेर आफूलाई अझ व्यापक बनाउनेतर्फ एक कदम अघि बढिसकेको जनाउ दिइसकेको छ।

सबवेले सोचेभन्दा बढी सफलता पाएपछि कम्पनीका सीइओ जोन सिड्सेले विज्ञप्ति जारी गर्दै भने- 'हाम्रो बिक्री नतिजाले के संकेत गर्छ भने हामीसँग सही टिम र सही रणनीति छ जसले हाम्रो बहुवर्षीय रुपान्तरणको यात्रालाई जीवन्तता दिएको छ।'

कम्पनीका सीइओ जोनले भनेजस्तै सही टिम र सही रणनीतिका कारण सबवे सफलतातर्फ आक्रामक रूपमा अघि बढिरहेको छ भने त्यसको श्रेय एक नेपाली महिलालाई पनि जान्छ।

लगनखेलकी सुनिता ढुंगाना सन् २००८ देखि सबवे स्याण्डविच कम्पनीको कनेक्टिकटस्थित ग्लोबल कर्पोरेट हेडक्वार्टरमा 'अजायल कोच'का रूपमा कार्यरत छिन्। यति मात्र नभई उनी सबवे हेडक्वार्टरमा कार्यरत एक हजार कर्मचारीमध्ये 'एकमात्र' र पहिलो 'अजायल कोच' पनि हुन्।

सफ्टवेयर इन्जिनियर सुनिता हाल उक्त कम्पनीको टेक्नोलोजी डिपार्टमेन्टमा काम गर्ने झण्डै तीन सय कर्मचारीहरुको टेक्निकल डिपार्टमेन्टका सबै प्रोजेक्ट म्यानेजरहरुलाई कोच, गाइड र ट्रेनिङ गर्छिन्। अर्थात उनको काम हो कम्पनीको काम सही दिशातर्फ अघि बढिरहेको छ छैन हेर्ने र, माथिल्लो दर्जामा रिपोर्टिङ गर्दै सक्सेस रिपोर्ट बनाउने। अर्थात कम्पनीको सफलतालाई धेरै हदसम्म काँध थाप्ने जिम्मेवारी सुनिताको हो। उनी १४ वर्षदेखि कम्पनीको रणनीति निर्माण गर्ने थलो हेडक्वार्टरमा काम गरिरहेकी छन् र कम्पनीको एकमात्र अजायल कोच पनि।

'भिजनसँग अलाइमेन्ट, अन टाइम डेलिभरी र कन्जुमर स्याटिसफ्याक्स; खासमा अजायल मेथडले गर्ने काम यति नै हो।'- परम्परागत वाटरफल मेथडले भन्दा अजायलले ७५ प्रतिशत अन टाइभ डेलिभरी गराउने उनी दाबी गर्छिन्। वाटर फल मेथडले ४०-४५ प्रतिशत मात्र अन टाइम डेलिभरी गराउने उनको अनुभव छ।

---

अजायल कोचको अवधारणा

अजायल कोच परियोजना व्यवस्थापनको नयाँ अवधारणा। करिब एक दशक अघि जापानमा टोयोटा कम्पनीले यस अवधारणालाई आफ्नो उद्योगमा प्रयोग गरेको थियो। अजायल प्रविधि प्रयोग गरेर कुनै पनि परियोजनालाई व्यवस्थापन गर्नु यस अवधारणाको मान्यता हो। अजायल कोच वा स्क्रम मास्टरहरुको भूमिकामा परियोजनाको सफलता टिकेको हुन्छ। अजायल कोचहरुले सबैभन्दा उच्च तहमा बसेर तल्लो तहका परियोजना व्यवस्थापकहरुलाई गाइड गर्ने गर्छन्।

अजायल अवधारणा भनेको खासमा कसैले गरिरहेको कामलाई निरन्तर निगरानी र गाइड गर्ने अवधारणा हो। कसैलाई केही काम अर्हाएर यसै छोड्यो भने उसले सक्ने समयमा कस्तो नतिजा दिन्न भन्न सकिन्न। तर उसलाई काम दिएर त्यसलाई कसरी गरिरहेको छ भनेर निरन्तर गाइड गर्ने र रिभ्यू गर्ने गरिरहेमा आफूलाई दिइएको टास्कबाट काम गर्ने व्यक्तिको पनि ध्यान भंग हुँदैन। खासमा अजायल मेथडले कुनै पनि परियोजना भने अनुसार नै अघि बढिरहेको छ छैन भनेर नै गाइड गरिरहने र सफलतापूर्वक अघि बढ्न गोरेटो तयार गर्छ।

परम्परागत अवधारणा अनुसार कम्पनीका सीइओ, सीआइओ लगायतले दिएको भिजनलाई मिड लेभलले जे बुझ्छ त्यो डेभलपर र टेक्नोलोजी डिपार्टमेन्टलाई भन्ने काम गर्छन्। उनीहरुले पनि काम थाल्छन् र अन्तिममा फेरि उच्च तहमा लैजाँदा मैले त यो भनेकै थिइन् भन्यो भने के हुन्छ?

त्यसका काममा लागेको समय प्रयास पैसा सबै खेर जान्छ। तर अजायल अवधारणामा के हुन्छ भने सीइओ लेभलबाट पाएको भिजनलाई भने अनुसार अघि बढाउने टिमले हरेक २ देखि ३ हप्तामा प्रोटोटाइप बनाउँदै लैजाने र फेरि सीइओ लेभलमा नै लगेर तपाईले भन्न खोजेको कुरा यही हो कि होइन भन्दै प्रश्न गर्न गइरहने गर्छन्। यसबाट कामदारहरु सही पथमा छन् छैनन् भनेर बारम्बार समीक्षा भइरहेको हुन्छ। अन्त्यमा डेलिभरीको समयमा उक्त नतिजा कम्पनीको भिजनसँग मिट गर्छ।

सफ्टवेयर इन्जिनियर भए पनि सुनिता सन् २०१२ मा उनी अजायल ब्याकग्राउण्डतर्फ सिफ्ट भइन्। यसबारे पढेपछि उनी सुरुमा स्क्रम मास्टर थिइन् भने सिनियर स्क्रम मास्टर हुँदै हालको पदमा पुगेकी हुन्।

खासमा परम्परागत अवधारणामा एनालिस्ट, प्रोजेक्ट म्यानेजर, सिनियर प्रोजेक्ट म्यानेजर भनेजस्तै यसमा स्क्रम मास्टर सिनियर स्क्रम मास्टर जस्ता शब्दावलीहरु प्रयोग हुने सुनिता बताउँछिन्।

सबवेमा छिर्नुअघि उनी न्युयोर्कमा सिस्टम इन्ट्रिगेसन इन्जिनियरका रुपमा काम गर्थिन्। त्यस अन्तर्गत उनले फाइजर, मार्सजस्ता कम्पनीहरुलाई बिभिन्न आइटी कम्पनीसँग सिस्टम कनेक्ट गर्थिन्। त्यसअघि उनले बोस्टनमा सफ्टवेयर डेभलपर र प्रोग्रामरका रुपमा काम गरिन्। विविधता र सिक्ने प्रक्रियामा विश्वास गर्ने सुनिता यतिबेला 'सबवेको केन्द्रीय कार्यालयमा बसेर परियोजना रणनीति बनाउँछु' भन्दा गर्व महसुस गर्छिन्।

नगरुन् पनि किन ! पाटनको कृष्णमन्दिर छेवैको आदर्श कन्या निकेतन अर्थात सामान्य सरकारी स्कुल पढेकी उनले टेक्सासको एएन्डएम युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङ सक्दासम्म संघर्षको लामो चरण पार गरेकी छन्। सरकारी स्कुलिङ अस्कलको कलेज जीवन अनि टेक्सासमा कलेजको सबैभन्दा सम्मानित अवार्डसहित ग्रयाजुएसन सक्नुसम्म उनले एकमात्र काम गरिन् त्यो हो- कडा मेहनत।

साधारण स्कुलबाट पढेर अमेरिकाको कलेजमा पनि उत्कृष्ट विद्यार्थी बन्न सक्नु अनि नयाँ नयाँ क्षेत्रमा पाइला सार्दै करिअरले फड्को मार्दै जानु। सुनिता एउटै कुराहरुमा अडिनुभन्दा नयाँ अवसरहरु खोज्दै जाने हो भन्छिन्।– 'आफ्नो प्यासनलाई फलो गर्ने हो। एउटै कुरामा अल्झिइरहँदा अन्तका अवसरहरु मिस हुन्छ। महिला पुरुष भन्ने होइन सबैले आफ्नो करिअरमा एक्सप्लोर गर्नुपर्छ।'

---

मंगलबजारदेखि सबवे हेडक्वार्टरसम्म

सुनिता साधारण परिवारकी छोरी थिइन्। उनका बुवा श्रीधरको आफ्नै सानो मेटल उद्योग थियो अनि आमा जागिरे। बुवाआमा सधैं पढ्न प्रेरित गर्ने स्वभावका। आमा आफैं पनि कलेज पढ्दै जागिर खाने गरेको सुनिताले सानैदेखि देखेर हुर्किइन्। स्कुल सकेपछि त्यसबेला साइन्सको नम्बर वान कलेज भनेर चिनिने अस्कलमा उनी भर्ना भइन्। आइएस्सी पास गरेपछि फिजिक्स, केमेस्ट्री र म्याथ लिएर उनले बीएस्सी पनि अस्कलबाटै पूरा गरिन्। म्याथमा एमएस्सी गर्दागर्दै उनलाई विदेश जाने अवसर मिल्यो।

मौका मिलेपछि उनी श्रीमानसँगै टेक्सास पुगिन्। उनले कम्प्युटर साइन्स र श्रीमानले नन्-मेटल इन्जिनियरिङमा ग्रयाजुयसन गरे। सन् २००० मा पढाइ सकेपछि उनले बोस्टनमा सफ्टवेयर इन्जिनियरका रुपमा पहिलो काम थालिन्। विविधता रुचाउने सुनिताले फरक फरक क्षेत्रमा काम गर्दागर्दै आफूलाई सबवेको अजायल कोचका रुपमा स्थापित गर्न सकेकी हुन्।

'अहिले हेर्दा त असाध्यै प्राउड फिल हुन्छ। तर यहाँसम्म आइपुग्दा धेरै नै संघर्ष गरियो। हामी सरकारी स्कुलमा साइन्स होइन विज्ञान पढेका विद्यार्थी। अंग्रेजी टर्महरु जान्नकै लागि धेरै नै मेहनत गरें। खासमा स्कुलबाट अस्कल कलेज जाँदै मैले धेरै नै सिक्नुपरेको थियो। भने अमेरिकासम्म पुग्दा के हाल भयो होला!'- हाँस्दै सुनिताले सुनाइन् –'खासमा गर्यो भने के सम्भव छैन भन्ने उदाहरण म नै हुँ।'

साधारण स्कुल अंग्रेजी मजबुत हुँदैनथ्यो। उनलाई बुवा आमाले दुःख गरेर पढाए। उनीहरुले नै चाहे गर्न सकिन्छ है भनेर हिम्मत बढाए। बिहेपछि श्रीमानले निरन्तर सपोर्ट गरे। धेरै सिकाए। उनी आफूलाई मेहनती विद्यार्थी भएकैले सफल भएको भन्छिन्।

हरेक मानिसले पाइला पाइलामा संघर्ष गर्नपर्छ। तर त्यो भन्दैमा माथि उक्लिनका लागि डराउनु हुन्न भन्छिन् सुनिता। तर कडा मेहनत चाहिँ गर्नैपर्छ।

'सुट फर द मुन इभन इफ यु मिस यु विल ल्याण्ड एमङ द स्टार्स।'- उनले मन पराउने उद्दरण पनि यही हो जसलाई उनी सबैले मनन गर्न सल्लाह दिन्छिन्।

खासमा अमेरिका सपनाको सहर त हो तर सहज सहर होइन। त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पढाइको समय निकै कष्टपूर्ण हुन्छ। तर आफ्नो क्वालिटी बढाउँदै लैजाने र सेल्फलेस भएर काम गर्ने हो भने मूल्यांकन भने हुँदै जान्छ भन्ने सुनिताको आफ्नै अनुभव छ।

सुनिता अमेरिका पुगेको समय अर्थात सन् १९९७ मा नेपालमा इन्टरनेट थिएन। विद्यार्थी जीवन पैसाको दुःख हुन्थ्यो। एक मिनेट नेपालमा कल गर्दा ५ डलर सकिन्थ्यो। फोनमा खर्च गरेको पैसाले खाद्यान्नको बजेट नै कतिपटक डाबाडोल पनि भएको छ। उनी नेपालबाट जाने रातो र निलो धर्का कोरिएको चिट्ठीको खाम कुर्दै बस्थिन्। जतिबेला पोष्टबक्समा त्यो नेपालको खाम फेला पर्थ्यो, उनको आँखाबाट आँशु खस्थ्यो। पैसा नहुँदाको विद्यार्थी जीवनकाल, अनि काममा गरेको दुःख। अहिले सम्झिँदा उनले कहिल्यै हार मानिनन्।

साधारण स्कुलबाट पढेर अमेरिकाको कलेजमा पनि उत्कृष्ट विद्यार्थी बन्न सक्नु अनि नयाँ नयाँ क्षेत्रमा पाइला सार्दै करिअरले फड्को मार्दै जानु। सुनिता एउटै कुराहरुमा अडिनुभन्दा नयाँ अवसरहरु खोज्दै जाने हो भन्छिन्।– 'आफ्नो प्यासनलाई फलो गर्ने हो। एउटै कुरामा अल्झिइरहँदा अन्तका अवसरहरु मिस हुन्छ। महिला पुरुष भन्ने होइन सबैले आफ्नो करिअरमा एक्सप्लोर गर्नुपर्छ।'

सबवे कम्पनीमा पहिले सुनितालाई हायर गर्दा अकाउन्ट रिसिभेवल सिस्टम बनाउन भनिएको थियो। उनीभन्दा पहिले त्यो पोष्टमा रहका दुई जनाले काम छोडिसकेका रहेछन्।

'तर उनले त्यहाँ दुई वर्ष काम गरिसकेपछि प्रोजेक्ट कहिले सकिन्छ भनेर प्रेडिक्ट गर्नुपर्ने थियो मैले अजायल मेथड युज गरेर गरें। सबै काम सकेर मैले मिति तोकेरै अबको ५ महिनामा यो प्रोजेक्ट डेलिभर गर्छु भनें। मैले जुन दिनको भाका तोकेको थिएँ त्यही दिन नै प्रोजेक्ट डेलिभर गर्न सकें। त्यो दिन मैले कम्पनीमा यति धेरै एप्रिसियसन पाएँ कि त्यो मेरो हौसला बन्यो। किनकि त्यो सबवेको सबैभन्दा ठूलो प्रोजेक्ट थियो।' – सुनिताले गर्वसाथ सुनाएको त्यो प्रोजेक्ट कम्पनीको मनि कलेक्टिङ सिस्टम हो, जुन अहिले पनि सञ्चालित छ।

त्यसबेला उनले विश्वका एक सयभन्दा धेरै देशमा रहेको ४० हजारभन्दा बढी फ्रेन्चाइज सबवे स्टोरको एकाउन्ट बैंकमा इन्स्टल गरेर मैले मासिक र साप्ताहिक रुपमा रोयल्टी पुल गर्ने सिस्टम बनाएकी थिइन्। 'त्यो चैं वान अफ द प्राउडेस्ट मोमेन्ट नै हो करिअरको! त्यो पोइन्टमा नै मलाई सबैले चिन्ने अवसर दिलायो।'- उनले गर्वका साथ सुनाइन्।

सबवेमा छिर्नुअघि उनी न्युयोर्कमा सिस्टम इन्ट्रिगेसन इन्जिनियरका रुपमा काम गर्थिन्। त्यस अन्तर्गत उनले फाइजर, मार्सजस्ता कम्पनीहरुलाई बिभिन्न आइटी कम्पनीसँग सिस्टम कनेक्ट गर्थिन्। त्यसअघि उनले बोस्टनमा सफ्टवेयर डेभलपर र प्रोग्रामरका रुपमा काम गरिन्। विविधता र सिक्ने प्रक्रियामा विश्वास गर्ने सुनिता यतिबेला 'सबवेको केन्द्रीय कार्यालयमा बसेर परियोजना रणनीति बनाउँछु' भन्दा गर्व महसुस गर्छिन्।

---

नेपालमा सिकाई बाँड्ने चाह

सुनिता अब भने आफूले १४ वर्षको सिकाइलाई बिस्तार गर्न चाहन्छिन्। उनले पाकिस्तान, भारत, ब्राजिल लगायतका देशका स्क्रम मास्टरहरुलाई कोच गरिरहेकी छन्। विश्वका बिभिन्न देशहरुमा अजायल कोच बनेर तालिम दिएकी सुनिता यतिबेला भने नेपालमा छिन्। अब उनी नेपालका कर्पोरेट लिडर, बिजनेस लिडर, सीएओ, सीइओहरुलाई आफूले सिकेको कुरा सिकाउन चाहेको बताउँछिन्। 'एक लेभलमा स्याचुरेट भइसकेपछि ब्रोड हुनुपर्छ भन्ने मेरो मान्यता हो। मेरो ज्ञान यहाँ बाँड्न सके नेपाली कर्पोरेट क्षेत्रको प्रभावकारिता बढ्छ। प्रोडक्टिभिटी बढ्छ जस्तो लाग्छ।'- नेपालमा आफूले जानेको ज्ञानले केही सकारात्मक प्रभाव परोस् भन्ने उनलाई लागेको छ।

कुनै पनि कम्पनी जसलाई आफ्नो भिजन पूरा गर्ने क्रममा लागत बढ्दो छ काम चाहेअनुरुप भइरहेको छैन अनि समयमा त्यो सम्पन्न पनि भइरहेको छैन भने सुनिताले त्यो प्रोजेक्टमा अजायल फ्रेमवर्क अनुसार काम गराएर टेस्ट गर्न चाहन्छिन्। किनभने नेपालका लागि नयाँ लागेपनि उनले काम गरिरहेको यो अवधारणा एक दशकदेखिको 'टेस्टेड मेथड' हो।

नेपालमा अजायल मेथडको प्रयोग व्यापक भइसकेको छैन। सुनिताका अनुसार हरेक कर्पोरेट हाउसको फरक माग हुन्छ त्यो कम्पनीको लागि 'इन्सपेक्ट एण्ड एडप्ट' मेथड अनुसार त्यहाँको रिक्वायरमेन्ट असेस गर्ने र त्यो कम्पनीले कुन फ्रेमवर्कमा काम गर्दा सफलता प्राप्त गर्छ त्यही अनुसार अघि बढाउने काम यसले गर्छ।

सुनिताका अनुसार अहिलेको समयमा बजारमा माग यति परिवर्तन भइरहेको हुन्छ कि भिजनका आधारमा एक वर्षभित्र जे डेलिभर हुनुपर्ने हो बजार, उपभोक्ताको रुचि र आवश्यकता बारम्बार परिवर्तन भइरहने हुँदा इन्स्पेक्ट एण्ड एडप्ट बिधिबाटै अघि बढेर रिफाइन गर्दागर्दै बजारमा जाने प्रोडक्टले बजारको आवश्यकतालाई मिट गरोस् भन्ने गरी उनीहरुले अजायल मेथड अपनाएर काम गर्छन्।

सुनिताका अनुसार यसले बजारमा कुनै ठूलो हलचल पैदा पनि नहुने र निरन्तरको प्रक्रियामा बाधा पनि नआउने हुन्छ। यो विधि प्रयोग गर्दा कम्पनीमा सुरुदेखि नै रिटर्न अन इन्भेष्टमेन्ट आउने उनी बताउँछिन्।

'भिजनसँग अलाइमेन्ट, अन टाइम डेलिभरी र कन्जुमर स्याटिसफ्याक्स; खासमा अजायल मेथडले गर्ने काम यति नै हो।'- परम्परागत वाटरफल मेथडले भन्दा अजायलले ७५ प्रतिशत अन टाइभ डेलिभरी गराउने उनी दाबी गर्छिन्। वाटर फल मेथडले ४०-४५ प्रतिशत मात्र अन टाइम डेलिभरी गराउने उनको अनुभव छ।

परम्परागत विधिमा उपभोक्ता सन्तुष्टिको दर असाध्यै न्यून हुने तर नयाँ विधिमा भने उपभोक्तालाई केन्द्रमा राखिने उनले बताइन्। यो चक्र 'फ्रिक्सन-लेस' हुने भएकाले अमेरिकामा पछिल्लो समय एप्पल, गुगल, स्पोर्टीफाई जस्ता कम्पनीहरुले अजायल प्रविधिमै काम गर्न थालेको उनले जानकारी दिइन्।

कुनै पनि कामलाई एक वा दुई साताभन्दा धेरै समय नलगाउने र सानो सानो टुक्रामा बाँडेर समस्या समाधान गर्ने भएकाले यो प्रविधिले कम्पनीको व्यवस्थापनलाई भिजुअलका रूपमा हेर्न मद्दत गर्ने उनको भनाइ छ।

सबवे जस्तै गरी सफल हुने मन्त्र के हो त? सबवेमा कोच गरिरहेकी सुनिता भन्छिन् -'कुनै पनि कम्पनीको सीइओ लेभल कर्मचारीको दक्षता वृद्धिका लागि प्रतिबद्ध हुने, मिड लेभलले फूल सपोर्ट गर्ने र वर्क लेभलले कम्पनीले जे जति अवसर दिएको छ त्यसको नतिजा देखाउँछु भनेर कमिटेड हुने हो भने कुनै कम्पनी असफल हुँदैन।'


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell