‘लो क्याप’ इन्फिनिटी लघुवित्त: एकातिर व्यवसाय बढ्दै अर्कोतिर मूल्य घट्दै




काठमाडौं। इन्फिनिटी लघुवित्तको सेयर पुँजीबजारका सक्रिय प्रदर्शनी दिने ‘लो क्याप’(कम पुँजीकरण) स्टक मध्येको एक हो। निकै न्यून चुक्ता पुँजी र कम पुँजीकरण भएकै कारण परिसूचकको प्रत्येक उतारचढावलाई लघुवित्तको सेयर गतिविधिले समर्थन गरेको पाइन्छ।



सेयर बजार बढ्दा सोही अनुरुप र घट्दा घटेकै प्रतिक्रिया लघुवित्तको सेयरले दिने गरेको छ। अझ बजारमा फ्लोट भएको सेयर कित्तालाई मात्र गणना गर्ने हो भने मात्र साढे १३ लाख कित्ता बजारमा कारोबारका लागि उपलब्ध छ।

सोमध्ये मार्जिनमा रहेका र सेयर धितो कर्जामा रहेकालाई बहिस्कार गर्ने हो भने अझ कम कित्ता सक्रिय रूपमा कारोबार भएको पाइन्छ।     

बजारको ‘भोलाटीलिटी’लाई समर्थन गर्ने गरेकै कारण लघुवित्तको सेयर उच्चतम मूल्य विन्दुबाट ५४ प्रतिशत घटिसकेको छ। हाल ५२ साताको न्युनतम मूल्य विन्दु नजिक कारोबार भइरहेको लघुवित्तको सेयरले खरिदकर्ताको आकर्षण जुटाउन भने कत्तिको सक्ला, त्यो भने आगामी गतिविधिले नै निर्धारण गर्नेछ। 

यद्यपि सक्रिय मात्र नभएर लगानीको सर्वोत्तम विकल्प समेत लघुवित्तका सेयरलाई मानिन्छ। इन्फिनिटी लघुवित्त आफैंले गत आर्थिक वर्षका लागि २९.१६ प्रतिशत प्रतिफल वितरण गरेको थियो। प्रत्येक आर्थिक वर्षमा बढ्दै गएको व्यवसायको आकार र सोसँगै बढेको नाफाले पनि उक्त विषयलाई पुष्टि गर्छ। तेस्रो त्रैमासमा समेत लघुवित्तले नाफालाई १३ प्रतिशत बढायो। 

लगानीको सुनिश्चितता र बजारको प्रदर्शनीमा सक्रिय प्रस्तुति चाहने लगानीकर्ताका लागि लघुवित्तका सेयर लगानीको उत्तम विकल्प हुने गरेका छन्। लगानी विविधिकरण र बजारको गतिविधि आफ्नो पोर्टफोलियोमा उतार्न इच्छुक जो कोहीले इन्फिनिटी र अन्य लघुवित्तलाई बहिस्कार सायदै गरेको भेटिन्छ।    

सञ्चालन मुनाफा घट्दा पनि खुद नाफा सन्तोषजनक 
आम्दानी बढेसँगै इन्फिनिटी लघुवित्तको नाफामा पनि सुधार देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३ प्रतिशतको वृद्धि हो। पोहोर चैत मसान्तसम्म लघुवित्तले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

लघुवित्तले खुद ब्याज आम्दानीसहित फी तथा कमिसन र अन्य सञ्चालन आम्दानीमा सुधार गर्दा खुद नाफामा उक्त परिणाम देखिएको हो। एक आर्थिक वर्षको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२ प्रतिशत बढेको छ। त्यस्तै, फी तथा कमिसनबापतको आम्दानी १५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १३ प्रतिशत बढेको देखिन्छ।    

निक्षेप र सापटीमा देखिएको उल्लेख वृद्धिले लाघुवित्तको कर्जा विस्तार चालु आर्थिक वर्षको चैत मसान्तमा आइपुग्दा झन्डै ४४ प्रतिशत बढ्यो। कर्जा विस्तारको उल्लेख्य वृद्धिले आम्दानीमा टेवा पुर्‍याएको हो। जसको परिणाम खुद नाफाको वृद्धिमा देखिएको छ। 

चालु आर्थिक वर्षको चैत मसान्तमा आइपुग्दा लघुवित्तले ग्राहकमार्फत १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यसमा सापटीबापतको २ अर्ब ७१ करोड रुपैयाँ प्रयोगमा आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससंग तुलना गरी हेर्दा निक्षेप संकलन साढे ५८ प्रतिशत र सापटीको आकार २९ प्रतिशतले बढेको पाइन्छ। 

लघुवित्तको खर्चहरु पनि यो पटक उल्लेख्य रूपमै बढे। खर्चको फराकिलो वृद्धिले नाफामा केही दबाब अवश्य पनि पुर्‍याएको हो। सोही कारण नाफाले १३ प्रतिशतको बढोत्तरी लिन सफल त रह्यो तर व्यवसाय वृद्धि अनुरुप नाफा हासिल भने गर्न सकेन । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा लघुवित्तले कर्मचारी खर्च ५२ प्रतिशत बढाएको छ भने व्यवसाय सञ्चालन खर्च ७० प्रतिशत बढेको देखिन्छ। 

यसका साथै यस पटक लघुवित्तको कर्जा जोखिम व्यवस्थापन बापतको रकम पनि निकै फराकिलो अन्तरले बढेको पाइयो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा लघुवित्तले यसपटक २०७ प्रतिशत अधिक रकम छुट्टयाएको छ। अघिल्लो चैतसम्म ८४ लाख रुपैयाँ छुट्याएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ५९ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापन बापत छुट्टयाएको छ।

यसको परिणाम निष्क्रिय कर्जाको वृद्धिले पनि देखाएको छ। एक आर्थिक वर्षको अवधिमा निष्क्रिय कर्जा अनुपात १.६७ प्रतिशत विन्दुले बढेको पाइयो। गत चैतमा यस्तो अनुपात २.०२ प्रतिशतमा सीमित थियो। 

खुद नाफा बढे पनि यो पटक प्रतिसेयर आम्दानी भने सोही अनुरुप बढ्न सकेन। पोहोर चैतको तुलनामा प्रति सेयर आम्दानी साढे १६ रुपैयाँ घटेको छ। 

चुक्ता पुँजीको बढ्दो आकारको तुलनामा खुद नाफा बढ्न नसक्दा प्रति सेयर आम्दानी घटेको हो। हाल लघुवित्तको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको चैतमा बैंकको चुक्ता पुँजी २६ करोड रुपैयाँमा सीमित थियो। 

साबिकको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपछि संस्थाको चुक्ता पुँजी बढेको हो। नेपाल एग्रो लघुवित्तको कायम ६ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको ९८ प्रतिशत पुँजी इन्फिनिटी लघुवित्तले प्राप्ति गरेको हो। जस पश्चात् संस्थाको एकीकृत चुक्ता पुँजी ३२ करोड ५९ लाख रुपैयाँ कायम हुन् पुगेको थियो । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १००:९८ को अनुपातमा प्राप्ति गरेको हो।   

प्राप्तिपछि कायम हुन आएको चुक्ता पुँजीको २७.७० प्रतिशत इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षका लागि बोनस सेयर वितरण गरेको थियो। परिणाम स्वरूप हाल लघुवित्तको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको जगेता तथा कोषहरुमा भने २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। 

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति र गत आर्थिक वर्षका लागि वितरण भएको बोनस सेयरले इन्फिनिटी लघुवित्तको चुक्ता पुँजीको आकार बढेको हो। यद्यपि सोही अनुपातमा खुद नाफा भने बढाउन सकेन। जसका कारण प्रति सेयर आम्दानी घटेको हो। पोहोर चैतमा लघुवित्तको प्रति सेयर आम्दानी ५३.५७ रुपैयाँ थियो। जुन चालु आर्थिक वर्षको चैत अन्त्यमा ३७ रुपैयाँमा सीमित भएको छ। 

प्रतिसेयर आम्दानीसँगै लघुवित्तको प्रतिसेयर नेटवर्थसमेत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा १५६.१८ रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर नेटवर्थ चालु आर्थिक वर्षको सोही अवधिमा १५३.८६ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १ हजार २ रुपैयाँका आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात २७ गुणा रहेको देखिन्छ। 

बजार घटबढ हल्लाका भरमा 
बढ्दो बजारको सहभागितासंगै सुरु भएको मार्केटको बुलिस मोमेन्टमले २१४० रुपैयाँसम्मको यात्रा इन्फिनिटी लघुवित्तको सेयरले तय गरेको थियो। नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने हल्लाले पनि लघुवित्तलाई उक्त विन्दुसम्म पुर्‍याउन सहायता गर्‍यो। 

सोही विन्दु नजिक गत आर्थिक वर्षको चौथो आर्थिक वर्षको अन्तिम वित्तीय प्रतिवेदन पनि सार्वजनिक भएको थियो। उत्साहजनक तवरले बढेको खुद नाफाका बाबजुद प्रतिवेदन सार्वजनिक भए लगत्तै मूल्यमा नकारात्मक प्रभाव पर्यो। २१४० रुपैयाँको विन्दुबाट निरन्तर घट्न सुरु गरेको मूल्यले सिधै १५०० रुपैयाँ नजिक टेवा लिन पुग्यो। लघुवित्तले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २९.१६ प्रतिशत लाभांशले सो समय लगानीकर्ताको आकर्षण बटुलेको थियो। 

यद्यपि १५०० रुपैयाँमा खरिद गर्नेहरु १८०० रुपैयाँ मै बेच्न आतुर देखिए। १८०० रुपैयाँको मूल्यविन्दु पार गरे लगत्तै नाफा बुक गर्नेहरु नै सक्रिय हुने प्रवृति दोहोर्यायो। लाभांशको पूर्व सूचनाको पहुँच हुने खेलाडीहरुले १५०० र १८०० रुपैयाँ बीच मूल्यलाई केहि समय खेलाएको समेत प्राविधिक चार्टमा देखिन्छ। 

बजारमा सूचनाको हल्लाले सेयर मूल्यलाई केही समय निकै उतारचढावयुक्त बनाउन सफल सीमित केहीले लाभांशको सूचना सार्वजनिक भएकै दिन अधिकांश सेयर डम्प गर्न पुगे। कारणस्वरूप मूल्यमा नकारात्मक प्रभाव पर्न गयो। उक्त समय यस अघिको १५०० को टेवा विन्दुलाई समेत मूल्यले ‘ब्रेकडाउन’ दिन पुग्यो। बिक्रेताको तीव्र चाप उक्त टेवा विन्दुले थाम्न सकेन। 

लाभांशको सूचनामा १८७६ रुपैयाँसम्म पुगेको इन्फिनिटीको सेयर मूल्य १४०० रुपैयाँमा आएर अडियो। त्यतिबेला लघुवित्तले साधारणसभा र प्रस्तावित लाभांशका लागि बुक क्लोजको मिति तय गरेको थियो। ‘सर्ट टर्म’ ट्रेडर र लाभांश हात पार्न आतुर खरिदकर्ताको आकर्षणले १४०० रुपैयाँमा टेवा लिंदै गरेको मूल्यलाई पुन: १७५० रुपैयाँमा पुर्‍यायो।

बुक क्लोजको अघिल्लो दिनसम्म आइपुग्दा मूल्यमा केही गिरावट देखिएको थियो। ‘सर्ट टर्म’ ट्रेडरहरुले आफ्नो पोजिसन स्क्वायर अफ गरिसकेका थिए। सेलिङ प्रेसरको प्रभाव पर्दा १७५० रुपैयाँसम्म पुगेको मूल्य बुक क्लोजभन्दा अघिल्लो दिन १६७० रुपैयाँमा अन्तिम कारोबार हुन पुग्यो। 

नेप्सेले प्रस्तावित २७.७० प्रतिशत बोनस सेयरका आधारमा अन्तिम कारोबार मूल्य १६३० रुपैयाँलाई समायोजन गर्‍यो। समायोजन पश्चात इन्फिनिटी लघुवित्तको सेयर १३०७.७५ रुपैयाँमा झरेको थियो । समायोजित मूल्यमा खरिदकर्ताको आकर्षण देखिंदा मूल्य १५८१ सम्म पुगेको पनि हो, तर प्रमुख परिसूचकको नियमित गिरावटले इन्फिनिटीको सेयरमा पनि अन्तत: बिक्रेता नै हाबी हुन पुगे। 

समायोजनपछि १५८१ रुपैयाँसम्म पुगेको प्रतिकित्ता मूल्य सोपछि निरन्तर घट्दो क्रममा छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य अनुसार १ हजार २ रुपैयाँमा लघुवित्तको अन्तिम कारोबार भएको हो। २१४० रुपैयाँको उच्चतम मूल्यसँग यदि तुलना गरिन्छ भने इन्फिनिटीको सेयर मूल्यमा करिब ५४ प्रतिशतको गिरावट देखिन्छ। 

मूल्यमा देखिएको नकारात्मक प्रभावले हाल लघुवित्तको सेयर मूल्य एक वर्ष यताकै मूल्यविन्दु नजिक छ। प्रमुख परिसूचकले समाएको डाउन ट्रेन्ड र सोही लय पछ्याएको उपसूचकको प्रभाव लघुवित्तको सेयर मूल्यमा पनि पर्न गएको हो। 

प्रत्येक टेवालाई तोड्दै ओर्लिएको लघुवित्तको सेयर मूल्य आगामी टेवाको अपेक्षामा थप घट्ने देखिन्छ। नजिकै बलिया सपोर्ट नरहेको हुँदा मूल्य अबका दिनमा भारि अंकका साथ घट्ने सम्भावना अधिक छ। यद्यपि ५२ साताको न्युनतम मूल्य ९८९ रुपैयाँ नजिक मूल्यले कस्तो प्रतिक्रिया दिन्छ, त्यो भने विश्लेषण गर्न आवश्यक छ। 

बजारमा तरलताको अभाव सहजै समाधान नहुने देखिएको छ। बजार जानकार तथा सरोकारवाला निकायहरुको समेत सोही धारणा पाइन्छ। तरलताको अभावमा बैंक वित्तीय संस्थाहरुले ब्याजदरलाई पुनः बढाउने व्यक्तव्य गभर्नर आफैंले दिएका छन्। ब्याजदरको बढ्दो आकार पुँजीबजारको विरोधी मानिने गरिन्छ। 

राष्ट्र बैंक चालु वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा छ। अर्ध-वार्षिक समीक्षामार्फत नीतिगत दरहरुसँगै स्थायी तरलता सुविधा दर र पुनर्कर्जा ब्याज दर बढाएको थियो। मौद्रिक समीक्षाको मुखैमा गभर्नर अधिकारीले ब्याज दर थप बढ्ने बताएका हुन्। उनको भनाइले नीतिगत ब्याज दर थप बढेर बजार ब्याज बढ्ने संकेत गर्छ। 

फराकिलो हुँदै गएको शोधानान्तर घाटा र रित्तिँदै गएको मुद्रा सञ्चिति थप चिन्ताजनक छ। उक्त समस्याको दिगो समाधानमा सरोकारवाला निकाय लागि परेका छन्। चलायमान हुन थालेको पर्यटकीय गतविधिले पनि थप टेवा पुर्याउने देखिएको छ। रेमिट्यान्स पनि अब बढ्ने जस्ता संकेत देखिएका छन्। चुलिंदै गएको चुनावी माहोलले तरलतामा केही सहजता अवश्य पनि पुर्‍याउने आशा छ।    


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell