ऋणको दबाब नपर्दा लगानीकर्तामा सेयर होल्डिङ क्षमता बढ्यो, पारसमणि ढकालको अन्तर्वार्ता




नेपालको मर्चेन्ट बैंकिङ क्षेत्रमा परिचित नाम हो पारसमणि ढकाल। ७ वर्षअघि ग्लोबल आइएमई क्यापिटलमा प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्रिएका ढकाल एमसीएसआई(चार्टर्ड इन्स्टिट्युट फर सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट) र एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेण्ट) का सदस्य हुन्। एमबीबीए र एमबीए गरेका प्रमुख ढकालले अन्तराष्ट्रिय वित्तीय रिपोर्टिङ मापदण्डमा डिप्लोमा पनि गरेका छन्। १४ वर्ष वित्तीय क्षेत्रको अनुभव बटुलेका ढकाललाई बिजमाण्डूका विक्रम भट्टराईले सोधे- ४/१२ को कारणले बजार घटिरहेको थियो। लगानीकर्ताले राष्ट्र बैंकको यो नियमलाई दोषी देखाइरहेका थिए। नियम त उही छ। ऋण पनि घट्न थाल्यो। बजार त बढ्यो ? के रहेछ कारण?



बजार ३ हजार हाराहारी हुँदा राष्ट्र बैंकले यस्तो व्यवस्था अपनाउँदा बजारमा स्वाभाविक दबाब परेको थियो। त्यतिबेला मार्जिन लोन लिनेको संख्या पनि आजको भन्दा धेरै नै थियो। लगानीकर्ता बढी रहेको सेयरलाई धितो राख्दै अधिकतम ऋण लिँदै थिए। सोही ऋणको सेटलमेन्ट गर्ने दबाब नियामकबाट आउँदा बजारमा ठूलो प्रभाव परेको हो।

तर, सबै लगानीकर्ता करेन्ट सिनारियोलाई मात्र हेरेर लगानी गर्दैनन् भविष्यका फाइदाहरू आकलन गर्ने लगानीकर्ता पनि हुन्छन् । बजार घट्यो भन्दैमा लगानीकर्ता बजारबाट निस्किने नै होइन। बरु कसरी जोखिम कम गर्न सकिन्छ भन्ने रणनीति बनाउन थाल्नु पर्छ। घट्दो बजारमा पुँजी गुमाउने डरले पनि उत्तिकै प्रभाव पर्ने गर्छ।

कुनै पनि चिज 'एक्जिस्टेन्स'मा नहुँदाको त्यसले कुनै प्रकारको प्रभाव पार्ने कुरै हुँदैन। नयाँ कुरा आउँदा त्यसको ‘प्रोज र कन्स’ दुवै हुन्छ। सोच्दै नसोचेको ४/१२ को नीतिगत परिवर्तनले बजारमा अवश्य पनि प्रभाव पर्ने नै हुन्थ्यो। लगानीकर्ता र प्रणाली दुवै यस नीति अनुकूल परिवर्तन हुँदा बजारमा तत्काल नकारात्मक प्रभाव परेको कुरामा सन्देह नै छैन। हिजोका दिनमा कुनै प्रावधानको अधीनमा नरही ठूलो ठूलो रकम ऋणका रूपमा परिचालन गर्ने हरेक लगानीकर्तालाई सो व्यवस्थाको कार्यान्वयनले अवरोध पुर्‍याएको देखिन्छ।

रह्यो कुरा बजार बढ्नुको, उतारचढाव धितोपत्र बजारको प्रवृत्ति नै हो। करिब ३० प्रतिशतको गिरावटपछि बजारले आफ्नो दिशा बदलेको हो। सोही समय कोरोनाको प्रभाव फेरि पनि मुलुकमा चरम हुँदै आयो। लगानीकर्ता माझ लगानीका क्षेत्र साँघुरिदै जाँदा घर घरबाटै एक्सेस गर्न सकिने धितोपत्र बजारमा रकम भित्रिँदै गएको हो। यहाँ मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि कोरोनाको प्रकोपले लगानीकर्ता सेयर बजारमा अत्यधिक भित्रिएका छन्।

तरलता अभाव चर्कँदै जाँदा र पुँजीबजारमा भित्रिने कर्जामा नियामकले कडाइ गर्दा अधिकतम लगानीकर्ताले बचतमा रहेको रकममार्फत नै बजार प्रवेश गरेको देखिन्छ। ऋणको दबाब नपर्दा लगानीकर्तामा सेयर होल्डिङको क्षमता पनि वृद्धि भएको छ।

तरलता अभाव व्यापक छ। यस्तो अवस्थामा पनि बजारमा सुधारका संकेतहरू देखिएका छन्। विगतमा अभावका बीच ब्याज बढ्थ्यो र बजार घट्थ्यो। यसपालि बजारले उल्टो चक्र समाउन खोजेको हो ?

यस विषयमा पनि हामी राष्ट्र बैंकको नीतिगत परिवर्तनतर्फ नै केन्द्रित हुनुपर्ने देख्छु । ४/१२ मात्र नभएर राष्ट्र बैंकले ब्याजदर वृद्धिमा पनि सिलिङ लगाएको अवस्था छ। बजार ‘भोलाटाइल’ आउँदा सम्भावना आकलन गर्न नसक्दा हुन्छ। मैले अघि पनि भनिहालेँ अधिकतम लगानीकर्ताले ऋणको भन्दा पनि बचतको पैसा परिचालन गर्दै बजारमा प्रवेश गर्नु भएको छ।

प्रतिफल वितरणको सिजन पनि हो यो। त्यसैले यदि कोही लगानीकर्ता लोन लिएर बजार प्रवेश गर्ने भएको छ भने पनि उहाँले ब्याज बढे पनि एक आधा प्रतिशत बढ्ने विषय आकलन गरेर नै बजार प्रवेश गर्ने भएको जस्तो देखिन्छ। नेप्सेमा सूचीकृत उत्कृष्ट कम्पनीहरूले दिने प्रतिफल ऋणको ब्याजभन्दा माथि नै छ।

तरलता अभाव पनि अबका दुई/चार महिनामा बिस्तारै व्यवस्थित हुँदै जाने देखिन्छ। तरलता परिचालन अभाव जति पर्नु थियो परिसक्यो। बीचमा केही नीतिगत समस्या आएन भने आउँदो वैशाखमा नै चुनाव हुने देखिन्छ। चुनावी खर्चका लागि रकम परिचालनले तरलता व्यवस्थापनमा अवश्य पनि ठूलो भूमिका निभाउने देखिन्छ। लिक्विडिटी टाइट भएको यस्तो सिनारियोमा त 'वी कुड सर्वाइभ' हामी सहजतापूर्वक धानिन सक्यौं भने अबका दिन थप सहज हुँदै जाने अवस्था छ।

सेयर बजार अलिकति व्यवहारिक देखिनु पर्छ। अलिक र्‍यास्नल पनि हुनु पर्छ। बजारमा जब अन्य फन्डामेन्टलहरु बिग्रिन्छन्, अर्थतन्त्र चौपट भएका सूचकहरू आउँछन् अनि चाहिँ नेप्से सूचक माथि जान्छ। के मिलिरहेको छैन बजारमा?

हाम्रो सेयर बजार मुलुकको अर्थतन्त्रभन्दा केही बेग्लै प्रस्तुति दिने अवश्य हो तर अव्यवहारिक भन्न त्यति नमिल्ला। हाम्रा अर्थतन्त्रका सूचकहरू बिग्रिरहेको समय सेयर बजारले यस्तो प्रस्तुति दिँदा आश्चर्य मान्नुपर्ने पनि म त्यति देख्दिन।

अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दा नै लगानीका क्षेत्रहरू साँघुरिदै जाने हुन्। यस्तो समय व्यापारको अनिश्चित मार्ग भन्दा पनि सरल र सहज लाभको दिशातर्फ लगानीकर्ता मोडिएको देखिन्छ। लगानीकर्ताले असहज परिस्थितिको सामना गर्नुभन्दा पनि निश्चित प्रतिफलका औजारमा लगानी गर्न चाहेका हुन्छन्, भलै त्यो जोखिमपूर्ण किन नहोस्। कोरोनाको प्रकोपले पनि हामीलाई यस्तो असहज परिस्थितिको उदाहरण पर्याप्त मात्रामा दिएको छ।

अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने जस्ता उत्पादनशील उद्योग, कलकारखानाभन्दा पनि निजी क्षेत्रका केही कम्पनी, जलविद्युत र बैंक वित्तीय संस्थाको बाहुल्यता भेटिन्छ नेपाल स्टक एक्सचेन्जमा। बाहुल्यता भएका यी संघसंस्थाहरूको उत्साहजनक प्रगति स्वतः मार्केटमा झल्किने हो। सूचीकृत संस्थाहरूले हरेक त्रैमासमा यदि प्रगतिशील प्रतिवेदन प्रकाशन गर्छन् भने लगानीकर्ता यस्ता संस्थाहरूमा आकर्षित हुनु स्वाभाविक हो। संस्थागत लगानीकर्ताहरूले पनि सोही वित्तीय मूल्यांकनका आधारमा लगानीका अवसर छनोट गर्ने गर्छन्।

अर्थतन्त्रको ऐना बजारलाई भनिन्छ। तर हाम्रो सेयर बजारले त त्यस्तो तस्बिर नै देखाउँदैन। अर्थतन्त्रले ग्रोथ गरेका बेला घट्छ, वास्तविक अंकमा भन्दा पनि अनुमान र हल्लाका बेलामा बजार बढ्ने गरेको छ। जस्तो निर्वाचन हुन्छ है भनेपछि बढ्ने तर मिति तोकिएपछि घट्ने। किन बजार यस्तो भएको ?

नेपालको सेयर बजारको प्रवृत्ति सजिलै बुझ्न नसकिने किसिमको छ। अर्थतन्त्रको ऐन बजारलाई भनिए तापनि सधैं बजारले अर्थतन्त्रको सही आकृति चित्रण गर्न सक्दैन। यो तब हुन्छ जब धेरै समय अर्थतन्त्र र बजार दुई विपरीत दिशातर्फ हिँड्छन्।

विगतका २ वर्षमा कोरोनाको प्रकोपले अर्थतन्त्रलाई धराशायी बनाएको थियो। यद्यपि सेयर बजारले निरन्तर उकालो लग्न छोडेन। यता, आर्थिक वर्ष २०७४/७५ पछिका तीन वर्ष नेपालको औसतमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्‍यो। अर्थतन्त्रको विस्तार भइरहेका बेला सेयर बजार भने ओरालो दिशामा थियो। यस्तो यसअघिका दिनहरूमा पनि हुँदै आएको छ। २०७२ मा महाभूकम्पअघि सेयर बजार परिसूचक नेप्से १ हजार विन्दुभन्दा तलै थियो। भूकम्पपछि बजारको भविष्य नै अन्योल हुने अनुमानविपरीत यसले लगातार सुधारको बाटो समात्यो र नेप्से परिसूचक १८ सय विन्दु नाघ्यो।

लामो समय देखि मुलुकको अर्थतन्त्रमा स्थिरता नहुँदा व्यवसाय त्यागी धितोबजारतर्फ लगानीकर्ता मोडिएका छन् । लगानीकर्ताको मनोविज्ञान र सूचीकृत कम्पनीहरूको वित्तीय प्रदर्शनीमा नै धितोपत्र बजारको गति सीमित छ। यसो हुँदा सूचीकृत कम्पनीहरूको सूचना चुहावट र हल्लाका समाचारले बजारलाई नै प्रभावित पार्ने गर्छ।

निर्वाचनको सूचनाले पनि यही भयो। बिस्तारै बजारका समस्या हल हुँदै जाने हुँदा सेयर बजारमा एक समय निकै ऊर्जा उत्पन्न भएको थियो। तर, सत्तारुढ गठबन्धनमा नै अन्योल देखिन थालेपछि निश्चित स्वार्थका लागि बजारमा निर्वाचनका अनेक हल्ला पिटाइएका हुन्।

पछिल्लो समय बजारमा कर्नरिङजस्तो देखिन थालेको छ। निश्चित कम्पनीको सेयरलाई बोकेर माथि जाने, अनि एक्जिट भएर छाडिदिने। कर्नरिङ आफैंमा गलत त होइन तर यसले लगानीकर्ताको बिचल्ली त बनाउँछ नि होइन ?

यसको एउटा सहज र अचुक समाधान छ। त्यो हो सचेतना, सेयर र वित्तीय शिक्षा। कुनै निश्चित स्वार्थले कुनै निश्चित कम्पनीको सेयर एकीकरण गरेर हल चल गर्नु नै दण्डनीय हो। तर, हाम्रो बजारमा लगानीकर्ता हल्ला कै पछाडि धेरै दौडने गरेको पाइन्छ।

कम्पनीका आधारभूत कुरा छोडेर लगानीकर्ता आफैं एउटा ब्रोकर या एउटा व्यक्तिले उठाइरहेको हल्लामै सोही कम्पनीको सेयर खरिद गरेर यस्तो कार्यलाई प्रोत्साहन गर्छन्। ज्ञानको अभाव भएका भन्दा पनि शिक्षित लगानीकर्ता नै यस्ता हल्लाको पछि लाग्ने गरेको पाइन्छ।

बजारलाई पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय केही लगानीकर्ताको भनाइका आधारमा तल-माथि हुन थालेकोजस्तो देखिन्छ। जस्तो हाइड्रो भनेपछि त्यो सूचक माथि जाने, लघुवित्तमा पनि त्यस्तै। के बजारमा हल्लाले काम गर्छ ?

सामाजिक सञ्जालमा ज्ञानवान् पात्रदेखि भ्रममा बाँच्नेहरूसम्म हुन्छन्। सामाजिक सञ्जाल तथा मिडियामा आफ्नो प्रभुत्व बनाइराखेका त्यस्ता 'पर्सनालिटी'हरूको प्रभाव बजारमा निकै छ।

अशिक्षित लगानीकर्ता आफूभन्दा जाने बुझेका लगानीकर्ताको सल्लाह लिन खोज्छन्। यही सिलसिलामा आफू भन्दा दिग्गजले भने अनुरूप पनि गर्न पुग्छन्। लगानीकर्ताको ठूलो संख्याले बढ्ने हल्ला मै एका एक सेयर किन्दा अवश्य पनि त्यसको प्रभाव बजारमा देखिन्छ। त्यसै कारण हल्ला र अफवाहको व्यापार पनि बजारमा उत्तिकै छ।

किन्ने सल्लाह दिने निकै भेटिन्छन् बजारमा तर गुमाउँदा सहानुभूति दिने कमै होलान्। त्यस कारण पनि साना र खुद्रे लगानीकर्ताको ठूलो संख्या भएको हाम्रो धितोपत्र बजारमा नियमकीय दायराबाट नियमित सुपरिवेक्षण र वित्तीय शिक्षाका विषयमा जोड दिनु आवश्यक देखिन्छ।

सामूहिक लगानी कोष कम्पनीहरू पनि बजारको हल्ला पछाडि लागेजस्तो देखिन्छ। जस्तो उनीहरूको पोर्टफोलियो हेर्दा त्यो थाहा हुन्छ। दीर्घकालीन सोच लिएर सामूहिक लगानी कोष आएका छैनन् जस्तो पनि लाग्ने। किन यस्तो?

सामूहिक लगानी कोष योजनाहरू योजनाबद्ध तरिकाले मात्र लगानी गर्ने गर्छन्। हल्ला र सूचनाका पछाडि लगेर यो स्टक किन्ने र त्यो स्टक डम्प गर्ने भन्ने कुरा हाम्रो योजना अन्तर्गत पर्दैनन्। हरेक म्युचुअल फण्डको आफ्नै बेग्लै योजना हुन्छ। १० वर्षका लागि सुरुवात गरिएको योजनाको लगानीको आफ्नो पक्ष होला भने ५ वर्षका लागि भनिएका योजनाले सोही अनुरूप योजना तयार गर्ने गरेको हुन्छ।

म्युचुअल फण्डको 'आसपेक्ट' के हो भन्ने कुरा बुझ्नु पनि जरुरी हुन्छ। ब्यालेस्ड फण्डको जस्तो प्रवृत्ति ग्रोथ फण्डको हुँदैन। फन्डहरूले कुल लगानीको ८० देखि ९० प्रतिशत 'फिक्स्ड इन्कम इन्स्ट्रुमेन्ट', सबल वित्तीय सूचक भएका कम्पनी र ऋणपत्रहरूमा लगानी गरेका हुन्छन्। बाँकी १० देखि २० प्रतिशत बजारको प्रस्तुति अनुसार 'ट्रेण्डिङ' सेयरहरू पनि खरिद गरिरहेका हुन्छन्। यस्ता क्रियाकलाप व्यवस्थापन र निगरानी गर्ने योजना व्यवस्थापकहरूसँग पर्याप्त विश्लेषणात्मक स्रोत हुने गर्दछन्। त्यसैले योजनाहरू बजारको हल्ला पछाडि लागे जस्तो भने मलाइ लाग्दैन बरु म्युचुअल फन्डहरूले के कस्तो सेयर किनिरहेका छन् र सोही अनुरूप आफ्नो पोर्टफोलियो सजाउनेको कमी भने नहोला।

सामूहिक लगानी कोषको पनि प्रमुख उद्देश्य भनेको कम जोखिममा अधिकतम नाफा नै कमाउने हो। कम जोखिममा नाफा कमाउने प्रमुख उद्देश्य भएको कम्पनीले बजार घट्दा एका एक आफ्नो होल्डिङ्स् बेच्न थाल्यो भने यसको प्रभाव बजारको अस्वाभाविक उतारचढावमा देखिन्छ नै होला। बजार ३२०० पछि घट्नुमा के यो कारण पनि एक हो ?

लगानीकर्ताले हामीप्रति गरेको विश्वासमाथि खेलबाड गर्ने कुरा नै हुँदैन। जोखिम बजारको प्रवृत्ति हो तर जोखिमलाई न्यूनीकरण गर्न सक्नु एक सबल योजना व्यवस्थापकको दायित्व र कर्तव्य दुवै हो। हाम्रो बजार 'साइक्लिक नेचर 'को हुने हुँदा आजै ठूलो प्रतिफलको परिणाम दिन्छु भन्ने लक्ष्य राख्नु पनि म जरुरी देख्दिन। लगानीकर्ताले पनि यस्तो प्रवृत्तिको बजारमा औसत प्रतिफल नै हेर्ने हो।

अधिकांश योजनाहरूको कोष आकार हेर्ने हो भने कुल ३० अर्ब रुपैयाँ जतिको योजनाहरू छन्। ५/६ अर्ब रुपैयाँको कारोबार हरेको दिन हुने हाम्रो सेयर बजारसँग दाँजेर हेर्ने हो भने ३० अर्बको लगानी ५/६ दिन भित्र नै सकिने देखिन्छ। हो अत्यधिक नै जोखिम हुँदा संस्थागत लगानीकर्ताले पनि आ-आफ्नो 'होल्डिङ' को जोखिम न्यूनीकरण गर्न आवश्यक देखेको अवस्थामा स्टक बेच्नुपर्ला, जसका कारण बजार एक आधा प्रतिशत धेरै घट्ने सम्भावना पनि रहला। तर ३२०० पछिको गिरावट नै आउने गरी योजना व्यवस्थापकले लगानी गर्दा पनि गर्दैनन् र बेच्दा पनि बेच्दैनन्। कति समय त बजार घट्दा म्युचुअल फन्डले खरिद गरिरहेका हुन्छन्।

यसका साथसाथै वित्तीय संस्थाहरूको बाहुल्यता रहेको हाम्रो जस्तो धितोपत्र बजारमा कम जोखिममा निकै उच्च प्रतिफल दिन बै‌क वित्तीय संस्थाहरू छन्। यस्ता स्टकको मूल्यमा बजारको प्रभाव पनि कम पर्ने हुँदा 'रिस्क' नै 'म्यानेज' गरेर एका एक बच्नुपर्ने बाध्यता संस्थागत लगानीकर्ताहरू बीच सृजना हुन्छ जस्तो मलाइ लाग्दैन।

सर्वोत्तम सिमेन्ट, जसले ७५० रुपैयाँको प्रिमियम भ्यालुमा प्राथमिक सेयर ‘बुक बिल्डिङ’ प्रणालीबाट निष्कासन गर्दै छ। त्यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो। यो सेयरमा चलखेल भएका कारण नियामक प्रमुखहरूको जागिर नै गयो। अब यो प्रक्रिया रोकिएको हो? बुक बिल्डिङ अगाडि बढाउन उहाँहरूलाई गलत तवरले सेयर दिन आवश्यक थियो र?

सर्वप्रथम त यस्तो गल्ती हुनु नै हुँदैनथ्यो। त्यसमाथि नियामक निकायका उच्च पदाधिकारीबाट हुनै नहुने कुरा हो। दोस्रोमा व्यक्तिगत डिलिङ्ग्सका कुरा हामीलाई थाहा हुने कुरा पनि हुँदैन। सम्बन्धित संस्था र नियामक निकायबाट पक्कै पनि उचित छानबिन हुँदै छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मूल्यांकनका आधारमा सबल कम्पनीलाई ‘बुक बिल्डिङ’ प्रणालीबाट प्राथमिक सेयर निष्कासन गर्ने व्यवस्था र प्रक्रिया मिलाउने हो। पहिला नै मूल्य यति भनेर कसैले तोक्ने कुरा नै हुँदैन। त्यसलाई कम्पनीको वित्तीय सूचकहरूले सम्बोधन पनि गरेको हुनु पर्छ।

हामीले निष्कासनको प्रक्रिया मिलाउने काम गर्छौ, बाँकी सबै योग्य संस्थागत लगानीकर्ताले विद्युतीय बोलकबोल प्रक्रियाबाट मूल्य निर्धारण गर्ने हुन्। त्यसपश्चात् पनि योग्य संस्थागत लगानीकर्तामार्फत निर्धारण भएको कट अफ मूल्यको १० प्रतिशत छुट गरी सर्वसाधारणलाई बिक्री गरिने व्यवस्था छ।

सर्वोत्तमका कारणले अन्य बुक बिल्डिङ पनि रोकिएका छन्। गलत नजिर बस्यो हैन त अब?

अवश्य पनि बस्न पुग्यो। तर, बुक बिल्डिङ नै गलत हो भनेर बुझ्नु भने हुँदैन। सामाजिक सञ्जालमा हुने टीकाटिप्पणी बाहिर आएर सोच्नु पनि आवश्यक छ। किनभने वित्तीय स्थिति सबल भएका कम्पनीहरूलाई मात्र यस प्रक्रियाबाट धितोपत्र निष्कासनको अनुमति दिने गरिन्छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रकाशित गरेको निर्देशिका पढ्ने हो भने बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्ने प्रावधान छ। साथै यस विधिबाट आइपीओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृति पाएको र नेटवर्थ चुक्ता पुँजी (प्रति शेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको हुनुपर्ने व्यवस्था पनि छ। रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने आवश्यक छ।

यी मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन गर्ने हुँदा भोलिका दिनका लगानीकर्ताले आफ्नो लगानीका बारेमा चिन्तित हुन नपर्ने देखिन्छ। या भनौं प्रतिफलको सुनिश्चितता पनि यस विधिले प्रदान गर्ने गर्छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell