'हरेक मन्त्रीले मलाई राम्रो भन्छन् भने मैले चाकडी गरेर भएको हो र,' प्रदीप अधिकारीको अन्तर्वार्ता




प्रदीप अधिकारी ६ जना उपमहानिर्देशकलाई उछिन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बने। ४२ वर्षीय अधिकारी पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एमइ गरेका हुन् भने अहिले पीएचडी गर्दैछन्।



राष्ट्रिय गौरवका आयोजना अन्तर्गत भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई निर्माणका लागि टुंगोमा पुर्‍याउने काम गरेका थिए।

२०६४ मा नागरिक उड्डयन प्राधिकरणमा आठौं तहमा सेवा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धामार्फत निर्देशक पदमा नाम निकालेका थिए। छोटो समयमा क्यानको नेतृत्व तहमा पुगेका अधिकारीलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका ६ जना उपमहानिर्देशकलाई उछिन्दै महानिर्देशक बन्नुभयो। बनेपछि राजनीतिज्ञजस्तो मालाबाट पुरिनु पनि भयो। तपाइँ धेरै शक्तिशाली हुनुहुँदो रहेछ होइन ?

हाम्रो ऐनमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नेपाल सरकारले सामान्यतया प्राधिकरण र नेपाल सरकारको बहालवाला कुनै कर्मचारी नियुक्त गरिनेछ भनिएको छ। यो भनेको बहालवाला सबै कर्मचारी योग्य हो।

 यो खुला प्रतिस्पर्धा हो। जस्तो म आठौं तहबाट एकैपटक ११ औं तहमा आएँ। प्रतिस्पर्धी त नवौं, दसौं तहका कर्मचारी पनि थिए। अब १०औं तहको नाम निस्किएन भने के भयो त ! यो खुला प्रतिस्पर्धा हो। अब हाम्रो ऐन संशोधन नभएको मात्र हो। विद्युत प्राधिकरण, नेपाल आयल निगम लगायत निकायले यसको अभ्यास गरिसकेका छन्। र हाम्रो ऐनमा पनि खुला प्रतिस्पर्धाका लागि कुनै तह तोकिएको छैन। अब महानिर्देशक म भएँ। १२ औं तह नहुँदा के भयो ?

जो मान्छेमा 'बेटर आउटपुट' निस्कन्छ उसैलाई जिम्मेवारी दिनुपर्छ भनेर ऐनले यो व्यवस्था गरेको छ। म पनि १२ औं तहका लागि एक नम्बरमा सिफारिस भएको कर्मचारी हुँ।

मैले पदभार ग्रहण गर्नु दुई घण्टा अगाडिसम्म चिठ्ठी पाएको थिइन। यहाँ आएपछि कर्मचारी साथीहरुले विहानैदेखि तयार गरेको माला लगाउनुपर्छ भन्नुभयो। यो कुराले विवाद सिर्जना हुन्छ भन्ने त्यतिखेरै लागेको थियो। अब भर्खरै महानिर्देशक भएर आएको छु। विहानैदेखि बनाएको माला म लगाउदिन भनेर कसरी भन्नु? त्यो बेला स्वीकार गर्नैपर्ने अवस्था आयो। यद्यपि त्यो विषयमा म संवेदनशील थिएँ।

यो विषयमा उठेको टिकाटिप्पणीलाई मध्यनजर गर्दै आगामी दिनमा महानिर्देशक, उपमहानिर्देशक, विभागीय प्रमुख लगायत अनुगमन भ्रमण गर्न जाँदा खादा, मालाको प्रयोग नगर्न मुलुकभर सर्कुलर जारी गरेको छु।

स्वागत गर्ने आफ्ना प्रचलन हुन्छन्। त्यो मैले बनाएको होइन। यसलाई मैले कामैले जवाफ दिनेछु। र कतिपय घटना काबुमा नहुने रहेछ। पहिले नै मेरो मूल्यमान्यता क्लियर गरिदिएको भए यो टिप्पणी उठ्ने थिएन। तर महानिर्देशक नहुँदै क्लियर गर्ने कुरा पनि भएन। यही विषयलाई मानक बनाएर मलाई मूल्यांकन गर्नु अतिशयोक्ति हुन्छ।

मैले कति काम गरेको छु र के गर्नेछु भनेर कुरिदिनुपर्‍यो। अब नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक शक्तिशाली र काम राम्रो भयो भने त देशलाई नै फाइदा होला।

महानिर्देशकको पद भनेको राजनीतिक पनि हो। यो पद पाउनका लागि राजनीतिक लबिङ पनि राम्रै हुने गर्छ। त्यही लबिङको उपहार महानिर्देशक पद हो भनिन्छ नि ?

कुनै पन क्षेत्रमा जनशक्ति नियुक्त गर्नु अघि उसको रेकर्ड हेरिन्छ। मैले गर्दै आएको कामका आधारमा प्रधानमन्त्री, बहालवाला मन्त्रीज्यूले विश्वास गर्नुभएको हो। यो कसरी लबिङ हुन्छ ?  गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ। त्यहाँ त काबिल जनशक्ति राखिएको छ। अब त्यहाँ तह हेर्ने की क्षमता र योग्यता हेर्ने? यसमा त रेकर्ड हेर्ने हो नि।

२७ प्रतिशतमै डेड हुन लागेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अहिले शतप्रतिशतमा कसले पुर्‍यायो ? पोखराको शिलान्यास, मुआब्जा वितरण लगायत प्रक्रियामा संघर्ष झेल्दै यहाँसम्म कसले लिएर आयो ?  नेपालमा राष्ट्रिय गौरव अन्तर्गत समयमै सकिने आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नै हो। अहिले मेलम्ची फेरि सुरु गर्दा लागत कहाँ पुगिसकेको छ। अब गौतम बुद्ध विमानस्थल सुरुमा ६ अर्ब ८२ करोड लागतमा सक्ने लक्ष्य लिइएको थियो। त्यही लागतमा तयार हुँदैछ।

निजगढको विषयमा रुख कटानलाई लिएर कति आलोचना आए। दुई दशक अगाडिदेखि बन्द रहेको दुर्गम विमानस्थल सञ्चालनमा ल्याइएको छ। नेपालमा अधिकांश विमानस्थलहरु ट्विनअटरलाई डिजाइन गरेर बनाइएको थियो। तर अहिले ८० सीटे जहाजले उडान सेवा दिँदै आएका छन्। काम गर्ने मान्छेलाई हतोत्साहित गर्न हुँदैन। विश्वास गर्ने हो।

हाम्रो समाज कति नकारात्मक छ भन्ने प्रतिक हो यो। मभन्दा अरु कोही नियुक्त भए पनि यस्तै कुरा उठ्थे।

कतिपयले सोमनाथ पाण्डेले माधव नेपालसँग सम्बन्ध बनाइदिनुभयो भन्ने पनि छ। त्यही सम्बन्धले काम गर्‍यो होइन?

प्रदीप अधिकारी प्राधिकरणको उच्च पदाधिकारी होइन। प्रदीप अधिकारी चिनाइ राख्नुपर्ने नाम हो र?

भनेपछि नियुक्तिमा राजनैतिक कनेक्सन छैन?

नियुक्त नै राजनैतिक नेताले गर्ने हो। अरु कोही भए पनि घोषणा त मन्त्रीले नै गर्ने हो। मेरो अनुहार हेरेर चाकडी गरेको आधारमा त कसैले नियुक्त गरिने होइन नि। यो कुरालाई तिलको पहाड बनाउन आवश्यक नै छैन।

एउटा त यो परम्परागत बढुवा प्रणालीको अगेन्स्टमा भयो। दोस्रो मैले गरेको कामको भ्यालु भएन। त्यही काम त्यही प्रणाली अन्तर्गत नियुक्त पाउनेले गरेको भए वाहीवाही हुन्थ्यो। फलानोले बोकेर नियुक्ति खायो भन्ने मात्र छ। मलाई कसैले बोकेर भैरहवा, पोखरा विमानस्थल निर्माणले गति लिएको हो र?

अब हरेक पर्यटन मन्त्रीले मलाइ राम्रो भन्छन् भने मैले चाकडी गरेर राम्रो भएको हो र! मेरो काम र योग्यताले यो पदमा ल्याइएको हो।

कतिपयले तपाइँलाई क्यानको कर्मचारी प्रशासन भित्रकै शक्तिशाली व्यक्तिको रूपमा पनि व्याख्या गर्छन। योगेश भट्टराईदेखि भानुभक्तसम्मलाई रिझाउनुभयो। राष्ट्रिय गौरवको परियोजना तपाइँकै होल्डमा रह्यो। कुनै पनि परियोजना रहनु भनेको ठेक्कापट्ठासमेत जोडिन्छ। आर्थिक रुपमा बलियो भएकै कारण पनि तपाइँको करिअर ग्रोथ भयो नि होइन ?

म पोखरा गौरवको आयोजना प्रमुखहुँदा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो। म राष्ट्रिय गौरव आयोजनामा हुँदा हाम्रो विभागीय मन्त्री जीवन शाही हुनुहुन्थ्यो। मलाई राष्ट्रिय गौरव प्रमुख जीवन शाहीले बनाउनु भएको हो। शाही मन्त्रीपछि रवीन्द्र अधिकारी आउनु भएको थियो।

तर तपाइँलाई धेरै नै शक्तिशाली मान्छन् ?
अमेरिकामा ४२ वर्षको उमेरमा बाराक ओबामा राष्ट्रपति हुँदा हुने। नेपालमा चाहिँ एउटा सरकारी संस्थामा महानिर्देशकमा आउँदा तिललाई पहाड बनाइन्छ। 

राष्ट्रिय गौरवको आयोजनामा हुँदा पनि महानिर्देशकले चलाउन सकेनन् भन्ने छ ?
मलाई किन हल्लाउने ? जब मरेको प्रोजेक्ट ब्युँझिएको छ। पोखरा त्यत्रो स्पिडमा अगाडि बढ्यो। मलाई हल्लाउनुपर्ने कारण के छ ? ती सबै बेतुकको कुरा हो।


हामी अहिले पनि इयु कालोसूचीमा छौं। इयुले अनबन्डलिङ नभइ कालोसूचीबाट हटाउँदिन भन्छ। तर यहाँ कर्मचारीले फुटाउन दिँदैनन्। तपाइँ पनि कर्मचारी युनियनको ट्रयापमा नै पर्ने देखिन्छ। यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ?

यो विवादित विषय नै हो। प्राधिकरणका कर्मचारी विभाजन गर्नुहुँदैन भन्दै आएका छन्। यो विषयमा कर्मचारीको असन्तुष्टि छ। यो सँगै इन्टरनेशनल अब्लिगेसन पनि छन्। संसदको राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा गइसकेको अवस्था छ। कर्मचारीको कन्सर्न भनेको प्राधिकरण दुईवटा निकायमा विभाजन भएपछिको भविष्य के हुन्छ भन्ने हो।

कुनै पनि संस्था जन्मिएर पाको हुन त धेरै समय लाग्छ नि। भर्खर हामी टीनएज काटेर २३ औं वर्षमा छौं। अब यो संस्था छुट्दा कर्मचारीले पाउँदै आएका सेवासुविधा सँगै भविष्यमा के हुने हो भन्ने कुरा कर्मचारीले सोचेका छन्।

यी सबै विषयको सम्बोधन गरेर इयुको सुरक्षा सूचीबाट कसरी हटाउन सकिन्छ भन्ने हिसाबमा मध्यमार्गी बाटो अगाडि बढ्न आवश्यक छ।

जसरी तपाईँले राष्ट्रिय गौरव आयोजना अगाडि बढाउन गर्नु भएको सहजीकरण यहाँ गर्न सकिन्छ?

कर्मचारीसँग हातेमालो नगरी यो विधेयक पास भए पनि कार्यन्वयन गर्न गाह्रो छ। त्यसकारण कर्मचारीसँगको समन्वयमा उच्च नेतृत्वसँग कुरा गर्नेछु।

हवाई सुरक्षामा पर्नुमा हाम्रो आफ्नै कारण पनि छन्। अहिले पनि क्यानभन्दा बलियो वायुसेवा संचालक छन् भनिन्छ। नियमनकारी निकायलाई अझै बलियो बनाउन सक्ने आधार के छ?

निजी वायुसेवा कम्पनी बलियो र क्यान कमजोर भन्ने कुरा म मान्दिन। किनभने नियमनकारी निकाय कमजोर भएको भए नियमन नै हुन सक्दैनथ्यो। यो उद्योगमा विभिन्न वायुसेवा कम्पनीको यति धेरै जहाज उडान अवतरण गरिरहेका छन्।

हाम्रो आवश्यकता के हो त्यही अनुसार हामी अगाडि बढ्ने हो। वायुसेवा कम्पनीका लागि नै हामी हौं र हामी नै वायुसेवा कम्पनीका लागि हौं। सबैभन्दा ठूलो कुरा भनेको हवाई यात्रुको सन्तुष्टि हो। र यो सुरक्षित उडान अवतरणसँग जोडिएको छ। यात्रुले नेपाली आकाशमा उडान गर्दा हामीले मात्र सुरक्षित छौ भनेर हुँदैन।

यात्रु आफैंलाई सुरक्षित महसुस गराउनु हाम्रो मुख्य उद्देश्य हो।

कोभिड नभएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयर लक हुने अवस्थामा पुग्थ्यो होला। कोभिडका कारण हामीले केही ग्रेस-मार्क पाइयो। तर त्यो समयमा हामीसँग अझै पनि वैकल्पिक विमानस्थल तयार छैनन्। अब केही समयमै हामी एयरलक हुने अवस्थामा पुग्छौं होइन?

नेपालको भूभागमा वार्षिक नौ लाखका दरले हवाई यात्रु वृद्धि भइरहेका छन्। कोभिड-१९ नभइदिएको भए टीआइएमा यतिखेर एयरलक भइसक्थ्यो। दुई वर्षदेखि घुम्न नपाएका मान्छे कोभिड नियन्त्रणमा आएसँगै अब घुम्न निस्किन्छन्। पोखरा विमानस्थलको वार्षिक क्षमता करिब १५ लाख रहेको छ भने भैरहवाको क्षमता वार्षिक २५ लाख रहेको छ।

टीआइएको क्षमता जम्मा ९० लाख। तीनवटा विमानस्थल गरेर एक करोड २० लाख भयो। भैरहवामा अर्को टर्मिनल भवन बन्यो भने क्षमता वृद्धि होला। वार्षिक नौ लाख यात्रु संख्या वृद्धि भइरहेको छ। टीआइए स्याचुरेट भयो भने २० वर्षको ट्राफिक एक करोड ८० लाख भयो। यसमा ३० लाख घट्यो एक करोड ५० लाख हुने भयों। डेढ करोड यात्रुलाई कहाँ राख्ने? यो अवस्थामा उनीहरु की नेपाल आउँदैनन् की भारत भएर गाडीमा नेपाल आउँछन्।

साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने निजगढ बाहेकको विकल्प छैन। नेपालको बढ्दो एयर ट्राफिक ग्रोथलाई टीआइए, पोखरा र भैरहवाले धान्नै सक्दैन।

भारतको राजनीतिका कारण भैरहवा र भौगोलिक जटिलताका कारण पोखरा संचालन हुन कठिन छ भन्ने छ नि ?

भैरहवा विमानस्थल संचालनका लागि भारतसँग कुराकानी भइसकेको छ। हामीले आफ्नो प्रोसिड्योर अनुसार नेपालभित्रै आएर अवतरण गर्ने व्यवस्था गरिसकेका छौं। दुवै विमानस्थल संचालनमा आउन कुनै समस्या छैन।

तर के भने पोखरा, काठमाडौं र भैरहवाले यात्रु माग धान्न सक्दैन। यी विमानस्थलमा अर्को धावनमार्ग विस्तार गर्न सकिँदैन। निजगढमा हामीले चार वटासम्म धावनमार्ग बनाउन सक्छौं। निजगढमा १५ करोड यात्रु धान्ने क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ।

नेपालको संविधानको मुख्य लक्ष्य भनेको समतामूलक समाजको स्थापना गर्ने हो। समतामूलक समाजको स्थापना कसरी हुन्छ भने उत्पादनबाट प्राप्त भएको लाभ र प्रतिफल समन्यायिक दृष्टिकोणले बाँडनुपर्‍यो। अब कृषिमा केही गर्न सकिएको छैन। बिजुली उत्पादन भए पनि छिमेकी मुलुकले किन्दैन। यही खपत हुन सक्दैन। पर्यटनका लागि कनेक्टिभिटीका लागि अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ।

यसरी सामाजिक आर्थिक रुपान्तरण, समतामूलक समाजको स्थापना कसरी हुन्छ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलो चरणमा एक खर्ब २० अर्बको लागत रहेको छ। नेपालको बीचमा रहेका कारण यो विमानस्थल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहुँचको हिसाबले उपयुक्त छ।

नेपालको हरेक प्रमुख शहरमा पाँचदेखि ६ घण्टामा पुग्न सकिन्छ। निजगढ मुटु जस्तै हो। जसरी मुटुले शरीरभरी रक्त सञ्चार गर्छ, त्यसरी नै यो विमानस्थलले मुलुककै अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने छ। साँच्चै यो विमानस्थलले मुलुकको जीडीपीमा योगदान पुर्‍याउँछ।

तपाइँ निजगढमा यतिको आशावादी हुनुहुन्छ। तर यो राजनीतिक विषय हो। तपाइँले मात्रै गर्न सम्भव छैन होइन र ?

कसरी राजनीति जोडिएको छ?

नेपालीमा राष्ट्रवाद छ। यो विमानस्थल स्वदेशी लगानीमा गर्न नसकिएला। विदेशी लगानीमा सधैं विवाद हुन्छ नि ?

लगानीको के कुरा भयो र। तपाईँको टीआइए, पोखरा, भैरहवामा एक खर्ब लगानीमा प्राधिकरण एक्लैले चलाइरहेको छ।

 पोखराकै विमानस्थलको कुरा गर्दा  हामी लोन ट्रयापमा पनि पर्‍यौं नि? २२ अर्ब रुपैयाँ त चीनको लोन ट्रयापै होइन र?

कुनै पनि लगानीको प्रतिफल मात्रै हेरेर हुँदैन। खर्चको रिपोर्ट मात्र हेर्ने हो भने नेपालमा काठमाडौं, लुक्ला, विराटनगर, नेपालगञ्ज लगायत केही एयरपोर्ट बाहेक सबै एयरपोर्ट बन्द गरिदिए हुन्छ।

अधिकांश विमानस्थल नोक्सानीमा छ। नोक्सानी हुन्छ भन्दैमा विमानस्थलै नचलाउने? राज्यको दायित्व हुँदैन? नागरिक उड्डयन प्राधिकरणको प्रणालीमा जुन आम्दानी छ त्यसले पोखराको लागत तिर्न सक्छ की सक्दैन त्यो महत्वपूर्ण छ।

भनेपछि तपाईँको चार वर्षको कार्यकालमा निजगढ विमानस्थलमा के प्रगति हामीले पाउन सक्छौं?

यो मैले एसएलसी दिएको बेलामा पूर्व सम्भाव्यता अध्ययन भएको विमानस्थल हो। म इन्जिनियरिङ गरेर सेवा प्रवेश भएर संस्थाको महानिर्देशक भइसक्दा पनि यो आयोजना सुरु भएको छैन।

यो आयोजना सुरु भयो भने मात्रै पनि मेरो जीवन सफल हुन्छ। सुरु भएपछि अन्त्य निश्चित छ। भैरहवा सुरु भएपछि सम्पन्न भयो। चार वर्षको प्रोजेक्ट सात वर्ष लागेपनि सम्पन्न त हुन्छ।

भनेको प्राधिकरणकै क्षमताले निर्माण गर्ने हो ?

जस्तो तपाईँको जग्गा छ। त्यो जग्गामा एउटा किराना पसल राखिएको छ। बाँकी भएको जग्गामा सार्वजनिक निजी साझेदारीमा अर्को पसल संचालनमा ल्याउने सम्झौता बढ्छ।

उसलाई तपाईँले किराना पसल नै राख्नुपर्छ र मासिक यति भाडा दिनुपर्छ भनेर सर्त राख्नु भयो भने आउने पसलेले आफ्नो लगानी अनुसार ग्यारेन्टी गर भन्छ। उसले आम्दानीको ग्यारेन्टी गर नभए तिम्रो पसल बन्द गर भन्छ।

अहिले हामीसँग अहिले काठमाडौं विमानस्थल मात्र छ। अबको एक वर्षमा ठूला विमानस्थल तीनवटा हुनेछन्। तीनवटा विमानस्थल छुट्टाछुट्टै अब्लिगेसन छ। सबै विमानस्थलको ऋण तिर्नुपर्नेछ। अब निजगढमा निजी क्षेत्रलाई दिइयो भने त्यो तीनवटा विमानस्थल बन्द गर अथवा तीनै वटाको जिम्मा माग्यो भने के गर्ने ?

जुरिच एयरपोर्टसँगको सम्झौता खारेज हुनुको कारण पनि त्यही हो। त्यसकारणले यसलाई बहुवर्षीय आयोजनाको रूपमा लिएर जानुपर्छ। वार्षिक २० अर्ब व्यवस्था गर्न सकियो भने पाँच वर्षमा यो आयोजना बनाउन सकिन्छ।

बहुवर्षीय रूपमा अगाडि बढाउँदा आयोजना समयमै नसकिएर फेरि डेड हुन सक्छ नि?

कसरी डेड हुन्छ ? अरु आयोजना वहुवर्षीय भएपनि समयमा सकिएका छन्। म पनि चार वर्ष महानिर्देशक हुन्छु।

कुनै योजना समयमा निर्माण हुँदैन। कुनै निर्माण भएर पनि संचालनमा नआएको धेरै उदाहरण छन्। त्यही अवस्था भैरहवा विमानस्थलले ब्योहोर्नुपर्ने त होइन?

 यो विमानस्थल अरु परियोजनाजस्तो हुँदैन। भैरहवा बुद्ध पूर्णिमादेखि संचालनमा आउनेछ। जेठ २ गते व्यवसायिक उडान गर्ने गरी काम अगाडि बढाइरहेको छु।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell